हुलाक सेवालाई युगसुहाउँदो बनाउनु जरुरी छ : मन्त्री गुरुङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हुलाक सेवालाई युगसुहाउँदो बनाउनु जरुरी छ : मन्त्री गुरुङ


२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युगसुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् ।

सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा हुलाक सेवा विभागका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले धेरै वर्षअघि सञ्चारको एक मात्रै विश्वसनीय माध्यम हुलाक सेवालाई बदलिँदो परिवेशअनुसार अघि बढाउन नयाँ सोचको आवश्यकता औँल्याए ।

उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकार पक्षसँग आवश्यक छलफल गरिने बताउँदै त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना ल्याउन विभागका पदाधिकारीलाई आग्रह गरे ।

सरकारका प्रवक्ता गुरुङले विकसित मुलुकमा पनि हुलाक सेवाको महत्व बढ्दै गएको बताउँदै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन निर्देशन दिए । त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री गुरुङको भनाइ थियो । उनले निजी क्षेत्रबाट सञ्चालित कार्गो सर्भिसलाई व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक सेवालाई सुदृढ बनाउने गरी अघि बढ्न विभागलाई आग्रह गरे । विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले विभागको कार्ययोजनाबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए ।

आजै मन्त्री गुरुङले मुद्रण विभाग, प्रमाणीकरण नियन्त्रणको कार्यालय र सुरक्षण मुद्रण केन्द्रबारे पनि जानकारी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस