कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ ।

नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न आग्रह गरेको भन्दै आपत्ति जनाएको हो । ‘विश्वविद्यालयमा नियमितरूपमा पठनपाठन नभएको अवस्थामा पनि विभिन्न वहानामा शुल्क मात्र उठाउने काम तत्काल बन्द होस्’, उनले भने ।

नेविसङ्घले शुल्क उठाउने निर्णयको खारेजको माग गर्दै रिले अनशन बसेका काठमाडौँ विश्वविद्यालयका विद्यार्थीको समर्थनसमेत गरेको छ । कोभिड-१९ को प्रतिकूल अवस्थामा ढिलो गरेर रकम बुझाउने विद्यार्थीलाई विश्वविद्यालयले उल्टै चार्ज लगाउनु आपत्तिजनक भएको नेविसङ्घले जनाएको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोभिड-१९ का कारण अप्ठ्यारोमा परेका विद्यार्थीलाई विश्वविद्यालयले विभिन्न वहानामा शुल्क उठाउने काम जायज नभएको बताए । काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले राखेका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस