तिहारमा देउसीभैलो नखेल्न सुर्खेत प्रशासनको आग्रह « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तिहारमा देउसीभैलो नखेल्न सुर्खेत प्रशासनको आग्रह


२४ कार्तिक २०७७, सोमबार


सुर्खेत । लक्षणसहितका कोरोना भाइरस संक्रमित बढ्दै गइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले तिहारमा देउसीभैलो लगायतका कुनै पनि भिडभाड हुने खालका कार्यहरु नगर्न आग्रह गरेको छ।

प्रशासनले एक विज्ञप्ति जारी गरी तिहार लगायत स्थानीय स्तरमा मनाइने मेला, पर्वहरूमा जमघट तथा भेलाहरू समेत नगर्न नगराउन आग्रह गरेको छ। प्रशासनले बेलुका ७ बजेपछि अत्यावश्यक बाहेकका कुनैपनि पेशा व्यवसाय, लामो दुरी बाहेकका सबै सवारीसाधनहरू पनि सञ्चालनमा रोक लगाएको छ।

चाडपर्वको मौकामा भाइरस संक्रमण थप फैलिन सक्ने र अर्कातर्फ घटना, दुर्घटना, सामाजिक विकृती तथा अपराधमा पनि वृद्धि हुन सक्ने भन्दै प्रशासनले यस्ता खालका कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको हो। प्रशासनले तिहारमा देउसीभैलो नखेल्न, आगलागी र त्यसबाट हुने क्षतिलाई मध्यनजर गर्दै पटकालगायतका ज्वलनशील पदार्थहरू बेचबिखन र प्रयोग नगर्न आम नागरिकलाई आग्रह गरेको छ।

त्यस्तै, तिहारको मौकामा जुवातास बढी खेल्ने हुँदा नियन्त्रणका लागि थप कडाइ गरिएको छ। जुवातास खेलेको वा खेलाएको खण्डमा कारबाही गरिनुका साथै राजनीतिक भेला, सम्मेलन र सभा लगायतका अत्यधिक भिडभाड हुने कुनै पनि गतिविधि आयोजना नगर्न राजनीतिक दलहरूलाई समेत प्रशासनले आग्रह गरेको छ।

कोही कसैले कुनैपनि स्थानमा यस्ता कार्य गरेको पाइए संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिनेसमेत प्रशासनले जनाएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस