अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्ने सीसीएमसीको निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्ने सीसीएमसीको निर्णय


२४ कार्तिक २०७७, सोमबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकले अन्तर्राष्ट्रिय हवाई उद्धार उडान बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको सीसीएमसी निर्देशक समितिको आइतबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार विदेशबाट जरुरी उद्धार गर्नुपर्नेको सङ्ख्या लगभग सकिएको जानकारी कूूटनीतिक नियोगबाट प्राप्त भएकाले उद्धार उडान गर्नुनपर्ने निर्णय गरिएको हो ।

विदेशबाट आउनैपर्ने भएमा नियमित उडानमा समायोजन गर्नेगरी निर्णय गरिएको छ । सरकारले हालसम्म एक लाख ३६ हजार २१६ जनाको उद्धार गरिसकेको छ ।

यस्तै नियमित हवाई उडान खुला गरिएका अतिरिक्त दक्षिण एसिया लगायत अन्य मुलुकमा नियमित हवाई उडान सुरु गर्न पर्यटन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरिएको छ । त्यस्तै नेपाल आउन अनुमति पाएका कूूटनीतिक नियोगका कर्मचारी र तिनका परिवारलाई पनि नेपाल आउने अनुमति दिन सिफारिस गर्ने निर्णय गरिएको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल आउजाउ गर्न बैतडीको झुलाघाट नाका थप गर्न सिफारिस गरेको छ । यसअघि १३ वटा अन्तर्राष्ट्रिय प्रवेश विन्दुलाई सरकारले स्वीकृति दिएको थियो । यस्तै केबलकार, जङ्गल सफारी, साहसिक पर्यटन क्षेत्र खुला गर्नसमेत सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस