पाँचौँ युग ! « प्रशासन
prasaLogo
२२ कार्तिक २०७७, शनिबार

पाँचौँ युग !


प्रकाशित मिति : 7 November, 2020 8:02 am

ऊ ब्युँझियो, बिस्तारै आँखा खोल्यो र यता उता हेरि जुरुक्क उठेर बस्यो । सबै सुनसान,उसलाई अनौठो लाग्यो, सोच्यो म कहाँ छु ? बिस्तराबाट उठेर भित्ताको ऐनामा हेर्‍यो, आफ्नो रूप देखेर आश्चर्य चकित भयो । म को हुँ ? म मै त हुँ या सपना हो यो ? के अनौठो भयो ? मेरो अनुहारमा यस्तो बुढ्यौली, यो चाउरीपन, यी सेता कपाल के आश्चर्य हो ?

अगाडि टेबलमा केही पत्रिका देख्छ र लिएर फेरि बिस्तरामा बस्दै पत्रिका पल्टाउँछ । पत्रिकाको समाचारहरू देख्दा ऊ अलमलिन्छ, केही भेउ पाउँदैन, के के न के के पढे झैँ लाग्छ, केही मेसो नै आउँदैन । हेर्दाहेर्दै पत्रिकामा एउटा शीर्षक देख्छ – ‘आज विश्वको जनसङ्ख्या ३ अर्व ४९ करोड पुग्यो’ अझ अगाडि लेखिएको थियो यो खुसीको कुरा हो कि जनसङ्ख्या वृद्धि राम्रो दरमा भई रहेको छ ।हैन के समाचार हो यो ? उसले केही ठम्याउनै सक्दैन र फेरि पत्रिका छोडेर बिस्तरामै पल्टिन्छ ।

एकै छिनमा ढोकाबाट एक जना मान्छे ताली बजाउँदै भित्र छिर्छ र भन्छ- ‘बधाई छ तपाईँलाई, तपाई अब पुरै ठिक हुनु भयो । हामी सिसिटिभीबाट तपाईँलाई निगरानी गरिरहेका थियौँ, तपाईँका गतिविधि नियालिरहेका थियौँ ।’

यत्तिकैमा ट्रेमा गिलास भरि जुस लिएर रोबोट आइपुग्छ र जुस लिनको लागि अनुरोध गर्छ । ऊ कुरो नबुझेर अलमलिन्छ सङ्गै बसेको युवकले उसलाई जुस पिउन अनुरोध गर्छ र उसले बिस्तारै जुस पिउँछ ।

म कहाँ छु ? अहिले मेरो यो अवस्था कसरी भयो ? बाबु को हौ मैले त चिन्न सकिन, यो पत्रिकामा यस्तो के समाचार लेखेको ? मैले केही मेलोमेसो पाइन बाबु ।

वृद्धको कुरा सुनेर केही मुस्कुराउँदै युवक भन्छ- ‘तपाई भाग्यमानी व्यक्ति हो बुबा । आज भन्दा ५० वर्ष अघि त्यति बेला त म जन्मिएको पनि थिइन, तपाई एउटा दुर्घटनामा पर्नु भएछ अनि यस अस्पतालमा ल्याएर भर्ना गरेको, यहाँ थुप्रै औषधी उपचार गरेपछि आज तपाई पूर्ण रूपमा स्वस्थ भई सक्नु भयो ।यति लामो समयसम्म कोमामा रहेर ब्युँझिएको हुनाले तपाईँलाई भाग्यमानी भनेको । तपाईँ त त्यो युगको मान्छे, आज नयाँ युग सुरु भएको छ, संसारमा पुरै परिवर्तन आएको छ, तपाईँको युगको कुराहरू त आज कथा भई सकेको छ । २१ वर्षको उमेरमा कोमामा जानु भएको आज ५० वर्ष पछि त तपाईँको शरीरमा वृद्धावस्था देखिनु, अनुहार चाउरिनु, कपाल पुल्नु त के अनौठो भयो र स्वाभाविक नै हो नि ।’

वृद्ध प्रश्न गर्छ – ‘अनि यो पत्रिकामा लेखेको आजको जनसङ्ख्या ३ अर्व ४९ करोड भनेको के ? हाम्रै पालामा त जनसङ्ख्या ७ अर्व भन्दा बढी थियो अनि यतिका वर्ष पछि यो के अनौठो लेखेको ?

वृद्धको प्रश्नले युवक केही गम्भीर हुन्छ र भन्छ-‘ठिक छ म यो कुरा पनि तपाईँलाई विस्तारमा बताउँछु अहिले तपाई धेरै बोल्नुहुन्न एकै छिन आराम गर्नुस् अब अस्पतालबाट तपाईँलाई डिस्चार्ज गरौँ र तपाई बस्ने निवासमा पुगेर विस्तृत गफ गरौँला’ भन्दै युवक उठ्यो ।

युवक उठेर गएपछि वृद्धको मथिङ्गल नाचिरह्यो, ऊ बिस्तरामा पल्टिएर के के सोचिरह्यो, उसलाई एउटा सपना जस्तै एउटा भ्रम जस्तै लागिरहेको छ । अब म कहाँ जाने ? के गर्ने ? मेरा परिवार आफन्त कहाँ छन् ? यो सोच्दासोच्दै अघिको युवक हातमा डिस्चार्ज पेपर सहितको फाइल बोकेर आइपुग्यो ।

युवकले वृद्धलाई उठ्न अनुरोध गर्‍यो र दुवै बाहिर निस्किए । अस्पतालमा कुनै भिडभाड थिएन, यत्रतत्र रोवोटहरु हिँडिरहेको, सरसफाइ गरिरहेको देखिन्थ्यो । युवक र वृद्ध अस्पतालबाट बाहिरिए पछि एकै छिन सडक छेउँको प्रतीक्षालयमा बसे ।सडकमा कुनै भिडभाड, कोलाहल, प्रदूषण थिएन, सिनित्त परेका चौडा सडक किनारमा फूल फुलिरहेका सबैतिर हरियाली र सुन्दर देखिन्थ्यो ।

एक छिनमा चालक विहीन बस आइपुग्यो र रोकियो अनि ढोका खुल्यो दुवै बस भित्र पसे । बसमा केही सङ्ख्यामा यात्रीहरू थिए उनीहरूले यी दुवैलाई मुसुक्क मुस्कुराउँदै अभिवादन गरे । वृद्धलाई लाग्यो कति शिष्ट र सभ्य यात्रीहरू ।

बस अगाडि बढ्यो बिचबिचमा यात्रीहरू चढ्ने झर्ने क्रम चलिरह्यो ।आधा घण्टापछि बस एउटा स्टेसनमा रोकियो युवक र वृद्ध त्यहीँ झरे । झर्दा ती दुवैले बसका यात्रीहरूलाई अभिवादन गरे भने बसका यात्रीहरूले पनि बिदाइको हात हल्लाउँदै अभिवादन फर्काए । बसबाट झरेपछि झण्डै दुई मिनट पैदल हिँडेर उनीहरू एउटा भवन अगाडी पुगे । युवकले लिफ्टको बटन दबायो, चौवीसौं तलामा दुवै जना लिफ्टबाट बाहिरिए । रोबोटले उनीहरूलाई बाटो देखायो, रोबोटले देखाएको बाटोमा अगाडि जाँदा कोठाको ढोका खुल्यो दुवै भित्र पसे । युवकले भन्यो- ‘तपाई बस्ने अपार्टमेन्ट यही हो ।’ बस्दाबस्दै ढोका फेरि खुल्यो, ट्रेमा दुई कप कफी लिएर रोबोट भित्र पस्यो र टेबुलमा राखिदियो, दुवैले कफी पिए ।

वृद्धले युवकलाई अस्पतालमा सोधेको पहिलेकै प्रश्न दोहोर्‍यायो ।

युवकले जवाफ यसरी सुरु गर्‍यो – ‘तपाई भन्दै हुनुहुन्थ्यो ७ अर्व भन्दा बढी जनसङ्ख्याको कुरा, हो सायद तपाई विक्रम संवत् २०७० को दशकको कुरा सम्झनु भए होला । त्यो बेला विश्व जनसङ्ख्या यस्तै थियो रे, तपाई त्यसै बेला हो दुर्घटनामा परेको अनि कोमामा जानुभयो त्यसपछिको घटना तपाईँलाई थाहा हुने कुरै भएन ।समय त्यस्तै चलिरहेको थियो रे हामी त त्यो बेला जन्मिएका पनि थिएनौँ । सन् २०१९ को डिसेम्बरमा चाइना भन्ने देशबाट कोरोना भाइरसको महामारी फैलिएछ र विश्वव्यापी भएछ ।यसले लामो समय विश्वमा आतङ्क मच्चाएछ, अर्वौँ अर्व मान्छेको ज्यान लिएछ, सारा विश्वलाई त्राहिमाम् बनाएछ ।लामो समयसम्म न यसको कुनै औषधी न त खोप नै पत्ता लागेछ ।

लामो समयको कोरोना कहर भोगेपछि मान्छेमा निकै परिवर्तन आएछ, मान्छेमा लोभ, लालच, अभिमान, दम्भ, चोरी, बेइमानी, ईर्ष्या, स्वार्थ,आडम्बर पुरै हराएर विश्वबन्धुत्वको भावना जागृत गराइदिएछ । विश्वको जनसङ्ख्या त्यो बेलासम्म घटेर लगभग ३ अर्वको हाराहारीमा पुगेछ । विश्वका शक्ति सम्पन्न राष्ट्रहरू समेत कोरोना भाइरसको अगाडि निरीह बनेर घुँडा टेकेछन् । मान्छेकै अस्तित्व समाप्त हुने हो कि भन्ने भय पैदा भएछ, त्यसैले विश्वका राष्ट्र प्रमुखहरू, विशिष्ट व्यक्तित्वहरूको अन्तर्राष्ट्रिय भेला आयोजना गरिएछ । व्यापक छलफल र बहस पछि सम्पूर्ण विश्वलाई एउटै राष्ट्र बनाउने साथै सबैको सामूहिक प्रयासले कोरोनाको खोप र औषधी पत्ता लगाइ छाड्ने सामूहिक प्रतिबद्धता गरिएछ ।

सम्पूर्ण विश्व एउटै राष्ट्र भएपछि देशका साँधसीमाहरु पनि मेटिएछन्, अब शक्ति राष्ट्रमा रहेका शक्तिशाली हातहतियारको पनि केही अर्थ नरहेकोले नष्ट गरिएछ, सम्पूर्ण राष्ट्रमा भएका सेनाहरू पनि आवश्यक नपर्ने भएकोले विघटन गरिएछ । कतै कोही सँग देशको सीमा सुरक्षाको कुरै भएन, सबै मानव जाति स्वतन्त्र आवत जावत गर्न सक्ने भए, न पासपोर्ट न भिसा केही जरुरी परेन ।

हतियार, सेनामा लगानी गर्ने थुप्रो रकम बचत भई राष्ट्रकोषमा जम्मा भयो, विश्वका धनाढ्यहरूको अथाह सम्पत्ति पनि उनीहरूलाई आवश्यक नपर्ने भएकोले सरकारी कोषमै स्वतःस्फूर्त रूपमा जम्मा गरेछन् । राष्ट्रकोषमा छेलोखेलो रकम भएपछि शिक्षा, स्वास्थ्य, खानपान, आवास र मानवीय आवश्यकताका लागि चाहिने सम्पूर्ण सुविधा सरकारद्वारा निःशुल्क गरिएछ ।विकास निर्माणको लागि कतै आर्थिक अभाव भएन सबै क्षेत्रमा विकास चरम गतिमा अगाडि बढेछ । तपाईँले आफै देख्नु भयो तपाईँको युगमा यहाँ विकास के थियो होला, अहिले के छ ?

त्यसैले अहिले संसारको शासन व्यवस्था सामूहिक नेतृत्वमा सौहार्दपूर्ण वातावरणमा चलिरहेको छ । कहीँ कतै राष्ट्र प्रमुख, राष्ट्राध्यक्ष भन्ने नै छैन, कुनै अलग देश भन्ने नै छैन । यसरी सामूहिक नेतृत्वमा संसारको सुव्यवस्था सञ्चालनको लागि सबैको सहमतिमा एउटा प्रणाली विकास गरिएछ त्यही प्रणाली बमोजिम नै अहिले पनि संसार चलिरहेको छ ।

यस्तै अवस्थामा कैयौँ वर्षको सामूहिक प्रयासको परिणाम स्वरूप कोरोना भाइरसको खोप र औषधी पत्ता लागेछ । कोरोना भाइरसको खोप र औषधी पत्ता लागेपछि संसारमा हर्षोल्लास छाएछ । त्यत्रो अर्वौँ मान्छेको ज्यान लिएको भाइरस माथि विजय प्राप्त गरेको उपलक्ष्यमा कोरोना काल पछिको समयलाई नयाँ युग अर्थात् पाँचौँ युग भनी नामकरण गरिएको रहेछ ।त्यसैले हामी पाँचौँ युगका मान्छे, तपाई त अघिल्लै युगको मान्छे ।दुवै युग भोग्न पाउनु भएकोले तपाईँलाई मैले भाग्यमानी मान्छे भनेको ।

युवकको कुरा सुनेर वृद्ध चकित हुँदै सोध्छन् – ‘अब म मेरो गाउँ कहिले जाने ? त्यहाँ मेरा वुवाआमा, आफन्त, मेरो घर सम्पत्ति के के भयो ?

युवक मुस्कुराउँदै भन्छ – ‘त्यो सब छोड्नुस् , अब यी अघि मैले अस्पतालबाट निस्कँदा लिएको डिस्चार्ज पेपर सँगैको फाइलमा तपाइको जम्मै विवरण छ । अब तपाई नै ७१ वर्षको भई सक्नु भयो भने तपाईँको वुवाआमा अहिले सम्म हुने कुरै भएन ।तपाईँका आफन्तहरू त धेरै सायद कोरोना महामारीले निल्यो होला । अब तपाईँको घर सम्पत्तिको केही अर्थ छैन त्यो त सब सरकारी भई सक्यो । तपाईँलाई बस्न, खान यो अपार्टमेन्ट सरकारले व्यवस्था गरिदिएको छ, तपाईँका सहयोगी यहाँ रोवोटहरु छन्, यहाँ अरू अरू अपार्टमेन्टमा पनि तपाई जस्तै वृद्धवृद्धाहरु हुनुहुन्छ । खानपानको व्यवस्था निःशुल्क, औषधी उपचार निःशुल्क, सबै तपाइलाई आवश्यक व्यवस्था निःशुल्क भएपछि अब त्यो गाउँको सम्पत्ति किन चाहियो ?’

वृद्ध अवाक भएर युवकलाई हेरिरहे ।

युवक भन्दै गयो- ‘अहिले त धेरै मान्छेहरू सन्तान नै जन्माउन छाडिसके त्यसैले उनीहरूलाई सन्तानको लागि सम्पत्ति सञ्चित गरिरहनु पनि परेन । फेरि जसले सन्तान जन्माउँछ त्यसलाई त सरकारले झन् सम्मानित नागरिकको दर्जा दिन्छ र सन्तानको लालन पालन, शिक्षा, स्वास्थ्यको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिन्छ ।

सरकारले संसारभर नै वर्ष भरिमा कति मान्छे जन्मन्छन् ? राष्ट्रका लागि कति जनशक्ति आवश्यक पर्ने हो ? त्यसको हिसाब राख्छ र जनसङ्ख्या वृद्धिको लागि मान्छेहरूलाई प्रोत्साहित गर्छ । विश्व व्यवस्थाको लागि आवश्यक पर्ने नपुग जनशक्तिको लागि केही मान्छेहरू कोलोन पद्धतिबाट उत्पादन गर्छ, अहिले कोलोन पद्धतिबाट उत्पादित पनि करोडौँ मानिस भई सके ।

जनशक्ति उत्पादनको अर्को व्यवस्था छ जागिरे आमाबाबु । यसमा सरकारलाई चाहिने जनशक्तिको उत्पादनको लागि निश्चित सङ्ख्यामा प्रतिनिधि आमाबाबुको विज्ञापन गर्छ, विज्ञापनबाट छनौट भएका इच्छुक आमाबाबु सन्तान जन्माउने जागिरे हुन्छन् ।उनीहरूले सरकारको योजना र समय तालिका अनुसार गर्भाधान गरी सन्तान उत्पादन गरिदिन्छन्, उत्पादित सन्तान सरकारले जिम्मा लिन्छ र बाबुआमा स्वतन्त्र हुन्छन् ।

खेतीपाती, उद्योग कलकारखानामा काम गर्न रोबोटकै प्रयोग हुन्छ त्यसको व्यवस्थापन मात्र मान्छेले गर्ने हो । नागरिकहरू सरकारले जिम्मा दिए अनुरूपको जिम्मेवारी वहन गर्छन् , नैतिकवान्, लगनशील र सहयोगी छन् । सबैमा ‘बसुधैव कुटुम्बकमको’ भावना छ । सरकारले जिम्मेवारी दिएको बाहेक स्वयंसेवी भावनाले पनि थप काम गर्छन् । ‘स्वास्थ्यका लागि श्रम गरौँ’ भन्ने नारा नै छ त्यसैले मान्छेहरू साँझ बिहान वा फुर्सदमा स्वेच्छाले सरकारको खेतबारी, उद्योग कलकारखानामा कार्य गर्न जान्छन् । त्यसैले सबै नागरिक खुसी र सुखी छन् अतः तपाई पनि यो नयाँ युगमा युग सँगै समायोजन भई बाँच्न सिक्नुस् ,ढुक्कले बस्नुस् ,निश्चिन्त र खुसी रहनुहोस् हामी तपाईँकै साथमा छौँ । तपाईँलाई नयाँ युगमा स्वागत छ !!!

—अस्तु—

Tags :
प्रतिक्रिया दिनुहोस