धुलिखेल-नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

धुलिखेल-नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै


२१ कार्तिक २०७७, शुक्रबार


बनेपा । काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेल-नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो ।

वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका-३ को बाँसघारी हुँदै गोसाइँस्थान-टनचोक-काँसीभञ्ज्याङ-नगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ ।

बनेपा नगरपालिका-६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल-नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिकरूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए । ‘पक्की सडक बनेसँगै होटल व्यवसायको साथमा नैमिसारण्य गुरुकुल शिक्षा र गोसाइँस्थानको धार्मिक क्षेत्रको सम्भावना अझ बढेको छ’, उनले भने, ‘यहाँको स्थानीयवासीको पनि अर्थोपार्जनमा धुलिखेल-नगरकोट पर्यटकीय सडकले अर्को फाइदा पुर्याएको छ ।’

अर्का स्थानीय गणेश भारतीले पक्की सडक बनेपछि व्यवसायलाई अगाडि बढाउन थप मद्दत पुगेको बताए । त्यस्तै बनेपा नगरपालिका–६ का स्थानीय पदमनाथ ढुङ्गानाले बनाएको पक्की सडक मापदण्डअनुसारको गुणस्तरीय सामान नै प्रयोग गरेको पाइएको बताए । निर्माण भइरहेको सडकखण्डको पहिलो चरणमा सो कार्यका लागि प्रदेश सरकारले रु तीन करोडको बजेट व्यवस्थापन गरेको वाग्मती प्रदेशसभा सदस्य वसुन्धरा हुमागाईँले बताए ।

जिल्लाको धुलिखेल, बनेपा र मण्डनदेउपुर नगरपालिका गरी तीन नगरपालिकालाई जोड्ने सो सडकखण्ड निर्माण कार्य सम्पन्न भएपछि पर्यटकीय क्षेत्रको विकाससँगै त्यसले व्यावसायिकरूपले स्थानीयवासीको समेत आर्थिकस्तरमा वृद्धि हुने र जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

प्रदेशसभा सदस्य हुमागाईँले भने, ‘प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकबाट धुलिखेल-रविओपी-टनचोक-नगरकोट सडकको १८ किलोमिटर सडकको बाँसघारीदेखि गोसाइँस्थानसम्मको एक किलोमिटर कालोपत्रे गर्ने कामसमेत अन्तिम चरणमा पुगेको छ ।’

पर्यटनको लागि अति महत्वपूर्ण सडक भएकाले सो सडक सम्पन्न भएपछि नगरकोटको पर्यटकलाई धुलिखेलसम्म ल्याउन र त्यहाँबाट प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्म जानका लागि निकै सहज हुने उनको भनाइ छ । सडकलाई प्राथमिकतामा राखेर क्रमागत योजनाको रूपमा विकास गर्ने र बहुवर्षीय योजनाको रुपमा स्वीकृत गरेर लैजाने विषयमा कुरा भइरहेको प्रदेशसभा सदस्य हुमागाईँले बताए ।

त्यससँगै वाग्मती प्रदेश सरकारले पर्यटन पैदलमार्गका लागि नगरकोटबाट टनचोकधुलिखेल–नमोबुद्ध हुँदै तेमालसम्मको क्षेत्रलाई समेटेर निर्माण गर्ने परिकल्पना गरी डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) समेत सम्पन्न गरिसकेको उनले बताए ।

त्यस्तै वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा बिपी राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको लाँकुरीभज्ञ्याङ-कुशादेवी-पनौती-नमोबुद्ध–चौकीडाँडा सडकको निर्माण कार्यलाई तीव्रता दिइएको छ । सो सडक निर्माण कार्य सम्पन्न भएपछि काठमाडौँबाट बाहिरिने र उपत्यका भित्रिने महत्वपूर्ण मार्ग बन्नेछ ।

वाग्मती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट करिब रु ६१ करोड विनियोजन भई निर्माण कार्य भइरहेको उक्त सडकखण्डको र्यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तरोन्नतिको काम करिब अन्तिम चरणमा पुगेको छ ।

उक्त सडक सञ्चालनमा आएपछि अरनिको र बिपी राजमार्गमा सवारी चाप कम हुनेछ । सडकखण्डको नमोबुद्ध नगरपालिका वडा नं ९, १० र ११ का बासिन्दा तथा रोशी गाउँ पालिकाका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दालाई सहज हुने भएको छ । नेपाल सरकारले १२८ वैकल्पिक राजमार्ग बनाउँदै छ । एनएच ५० अन्तर्गत यो सडक निर्माण भइरहेको छ । जिल्लाकै तेस्रो ठूलो सडकका रूपमा निर्माण भइरहेको सडक ११ मिटर चौडाइको बन्नेछ ।

प्रदेश सरकारले काभ्रेपलाञ्चोकको २ नं निर्वाचन क्षेत्र ख अन्तर्गत ११ वटा सडकको डिपिआर सम्पन्न गरिसकेको जनाएको छ । नाला-काशीभञ्ज्याङ-नयाँगाउँ-हिले-कुन्ता सडकको निर्माण कार्य प्रारम्भ भइसकेको प्रदेशसभा सदस्य हुमागाईँले बताए । सडकसँगै आठ वटा पुल, भवन र सिँचाइसहित २५ वटा योजनाको डिपिआर तयार गर्ने काम सम्पन्न भइसकेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस