प्रस्तावित राजदूतहरुको सनुवाइ कात्तिक २७ गते « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रस्तावित राजदूतहरुको सनुवाइ कात्तिक २७ गते


१७ कार्तिक २०७७, सोमबार


काठमाडौं । संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुनुवाइ हुने भएको छ ।

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ कात्तिक २७ गते बिहीबार हुने निर्णय भएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

सरकारले गत असोज १५ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायत र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिश गरी संसदीय सुनुवाइका लागि उनीहरुको नाम समितिसमक्ष पठाएको थियो ।

समितिले प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्तालाई सार्वजनिक लिखित सूचना जारी गरी आमन्त्रण गरेकामा आजको बैठकमा कुनै उजुरीकर्ता उपस्थित भएनन् ।

उजुरीकर्ताको नाम, नम्बर र वतन स्पष्ट नखुलेपछि समितिले १० दिने लिखित सूचना जारी उजुरीकर्तालाई बोलाएको थियो ।

प्रस्तावित राजदूत डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेका छन् ।

समितिको असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग उजुरी आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो ।

प्रस्तावित राजदूतत्रयसँग योग्यता, क्षमता, अनुभव, कार्ययोजना र सोचसम्बन्धी जानकारी लिएपछि राजदूतका लागि उपयुक्त हो/होइन ठहर्‍याइ समितिले आवश्यक निर्णय लिनेछ ।

प्रस्तावित नाम अनुमोदन भएमा सरकारको सिफारिशमा राष्ट्रपतिबाट उनीहरुलाई राजदूत नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस