कोरोना जितेका उपसचिवको अनुभव र सुझाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना जितेका उपसचिवको अनुभव र सुझाव


१७ कार्तिक २०७७, सोमबार


म कोरोना सङ्क्रमित भई निको भएको व्यक्ति हुँ । गत भदौ ९ गते साँझदेखि मलाई घाँटी सामान्य दुखी खसखस गरेको थियो । साथै ज्वरो आएजस्तो अनुभव हुने तर थर्मामिटरले नाप्दा तापक्रम सामान्य नै देखिने भयो ।

भोलिपल्ट देखि बिस्तारै कुनै पनि चिजको गन्ध थाहा नहुने र अलिअलि श्वास प्रश्वासमा समेत समस्या भएजस्तो लागे पछि भदौ १४ गते पीसीआर परीक्षण गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु गएँ ।

पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको जानकारी पाएपछि म होम आइसोलेसनमा बसेँ । कोरोनाबाट विश्व नै आतङ्कित भएको र पुनः युरोप अमेरिका लगायत मुलुकहरूमा  महामारीको रूप लिइरहेको पृष्ठभूमिमा हाम्रो मुलुक मात्र अक्षुतो रहन सक्ने अवस्था पक्कै होइन । यो समस्याबाट त्रसित भएर भाग्न सक्ने स्थिति नभएकोले सामना गर्नुको विकल्प छैन ।

तसर्थ सक्दो सचेत, होसियार रहने तर सङ्क्रमित भई हालियो भने निको हुन्छ । धेरै मानसिक दवाब लिनु हुँदैन भन्ने भनाई राख्ने प्रवृत्तिको मान्छे हुँ । तथापि आफैलाई समस्या भएपछि एवं उच्च रक्तचाप र सामान्य मुटु रोगी समेत भएको कारणले म अलिकति झस्किएँ । कुनै पनि दिन मलाई ज्वरो आएन र खाना तथा रुचिमा कुनै समस्या भएन । तर पातलो दिशा हुने र श्वास प्रश्वासमा समस्या भने केही दिन मलाई देखियो । त्यसैले, मैले आफूलाई सहज बनाउन देहायबमोजिमका कार्यहरू गरेँ ।

–कोरोनासम्बन्धी समाचारहरू नै धेरै प्रसारण हुने हुँदा मानसिक रूपमा बढी आतङ्कित बनाउने हुनाले बिहानको छोटो समयावधिबाहेक सबै समाचारहरू हेर्न तथा सुन्न बन्द गरेँ ।

–सोचाइलाई अन्यत्र मोड्नका लागि विभिन्न टेलिभिजन च्यानलहरुबाट प्रसारण हुने वा रेकर्डेड मनोरञ्जनात्मक कार्यक्रम मात्र लगातार हेरेँ ।

– आफन्त र साथीहरूबाट बारम्बार सोधपूछ हुन थालेपछि मानसिक तनाव हुने भएकोले आफ्नो मोबाइल फोन बन्द गरेँ र कल डाइभर्ट गरेँ ।

– व्यक्तिगत सम्पर्कका आधारमा चिकित्कसहरुसँग सल्लाह गरी केही औषधिहरू जस्तै Azithromycin, Sinex, Vitamin c / B complex र आयुर्वेदिक औषधिहरू नियमित रूपमा सेवन गरेँ ।

– नियमित रूपमा तातो नुन बेसार पानी पिउने र बाफ लिने काम गरेँ ।

–सबैभन्दा ठुलो कुरा आत्मबल नै भएकोले सामान्यरुपमा निको हुन्छ भन्ने विश्वास थियो र सोही सोचलाई बलियो बनाएँ।

भदौ २९ गते पुनः पीसीआर टेष्टको लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु गएँ । नतिजा नेगेटिभ आयो । त्यसपश्चात् म कार्यालय जाने लगायत सामान्य दैनिकीमा फर्किएँ । तर यसबीचमा होम आइसोलेसनमा बस्ने कोरोना सङ्क्रमितलाई अनुगमन गर्नका लागि बनेको मापदण्ड/स्वास्थ्य प्रोटोकलहरू जे जति छन् सो बमोजिम नियमित अनुगमन वा सोधपुछ अभिलेखन कहाँ कुन निकायबाट हुनुपर्ने हो सो भने भएको पाइएन ।

तसर्थ, आजको विश्वव्यापी कोरोनाको कहरको वास्तविकतालाई आत्मसात् गर्नुको विकल्प नभएकोले उक्त रोगको भ्याक्सिन तयार भई प्रयोग नआएसम्मका लागि सुरक्षित रहने प्रयास गर्नुको विकल्प छैन । सचेत रहौँ । तर आतङ्कित नबनौँ । चिन्तन गरौँ । चिन्तित नबनौँ । आत्मबल बलियो बनाऔँ । मास्क प्रयोग गरौँ । शारीरिक दूरी कायम गरी हातको सरसफाइमा ध्यान दिऔँ । जटिल लक्षण देखिएका बिरामीहरू तुरुन्तै अस्पतालको सम्पर्कमा जाऔँ । तथा लक्षण नदेखिएकाहरू न्यूनतम मापदण्ड पालना गरी होम आइसोलेसनमा बसौँ ।

सुनेको भरमा नजानी नजानी जथाभाबी तथा अनावश्यक औषधीहरू सेवन नगरी चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गरौँ । सञ्चार माध्यकबाट त्रासदीपूर्ण, भ्रामक एवं आतङ्कित बनाउने समाचारहरूलाई प्रचार प्रसार नगरौँ । चुस्त सन्देशमूलक र विज्ञहरूको आधिकारिक सूचनामूलक समाचार मात्र प्रसारण गरौँ । कोरोनाका कारण हाम्रो मुलुकमा मृत्युदर एक प्रतिशत भन्दा कम भएकोले अतिशयोक्तिपूर्ण समाचार बनाई ठुलो आतङ्क वा त्रासदीका रूपमा मात्र प्रचार प्रसार गर्ने काम बन्द गरौँ । निको भएका मानिसहरुलाई कोरोना जित्ने योद्धाको रूपमा चित्रण पनि नगरौँ । सचेत रही तोकिएका मापदण्ड अपनाई सुरक्षित रहने प्रयास गरौँ । सबैभन्दा ठुलो कुरा आत्मबल नै भएकोले सामान्यरुपमा रोग लागेपछि निको हुन्छ भन्ने मान्यता राखी आत्मबल बढाऔँ ।

त्यसैले, नेपाल सरकारबाट तर्जुमा भई लागू भएका स्वास्थ्य मापदण्ड/स्वास्थ्य प्रोटोकलहरू कार्यान्वयनमा सम्बन्धित निकायहरू गम्भीरतापूर्वक लागौँ र कोभिड १९ को महामारीले अब झन् उग्र रूप लिन लागेको सन्दर्भमा न्यूनतम सुविधासहितको क्वारेनटिन व्यवस्था, अस्पतालहरूमा पर्याप्त भेन्टिलेटरसहितको आइसोलेसन वार्डहरूको व्यवस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पीपीइ लगायत सुविधा तथा नागरिकहरूलाई आश्वस्त तुल्याउने तथा कोभिड १९ बाट सङ्क्रमित हुनबाट जोगिने चेतनामूलक सामग्रीहरूको सम्प्रेषणमा जोड दिन सम्बन्धित निकायहरूको ध्यान दिन म अनुरोध गर्न चाहन्छु ।

सुवेदी नेपाल सरकारका उपसचिव हुन् ।      

 

प्रतिक्रिया दिनुहोस