टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो


एजेन्सी

१६ कार्तिक २०७७, आइतबार


अंकरा । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा पनि महसुश भएको बताइएको थियो ।

तर पनि ती देशहरुमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् । टर्कीको इज्मीर शहरमा शुक्रबार ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त शहरमा अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ । भूकम्पका कारण अहिलेसम्म ८०० जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।

भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले टेलिभिजनमार्फत् सम्वोधन गर्दै यस भूकम्पबाट मृत्यु हुनेको संख्या ४२ पुगेको जानकारी आइतबार दिएका हुन् ।

उनले खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन् । उनले त्रसित नहुन र सतर्कता अपनाउन पनि सबैलाई आग्रह गरेको राष्ट्रिय टेलिभिजनले जानकरी दिएको छ ।

त्यहाँका दर्जनौँ घर भत्केको विवरणहरु आएको र त्यसमा परेर सयौँ नागरिक घाइते भएका बताइएको छ । शुक्रबार नै अधिकारीहरुले धेरै मानिसहरू पुरिएको हुनसक्ने बताएका थिए । तर आइतबार भने मृत्यु हुनेको संख्या ४२ पुगेको जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस