उसका बुवा जजमानी गर्थै र जसोतसो परिवारको खर्च धानिएको थियो ।
उनी उसलाई सम्झाइरहन्थे,-“अहिलेको जमानामा काम पाउन गाह्रो छ । कति पढेलेखेका मानिस बेरोजगार छन् ? संस्कृत सिख्, भोलि पिता पुर्खाले गरेको यही कामले तेरो गुजारा चल्नेछ ।”
उसलाई त्यो काम मन परेन । पढाइपछि उसले जागिर खाने सपना पालिरह्यो । उसको मेहनतले काम गर्यो । सङ्घीयताको आगमनसँगै नयाँ वातावरण आयो । स्थानीय स्तरमा कर्मचारी चाहिएको भनेर विज्ञापन आयो ।
“प्रयास गरिहेरौँ, के कसो हुन्छ ?”
यही सोचेर उसले पनि सो प्रतियोगितामा भाग लियो । ऊ कर्मचारीका रूपमा छनौट भयो । उसलाई कुनै एक स्थानीय तहमा खटाइयो ऊ नियुक्ति पाउन त्यहाँ पुग्यो ।
निकै बेर कुरेपछि प्रशासन शाखाको एक कर्मचारीले भने, “आज प्रमुख प्रशासकीय अधिकृत बैठकमा हुनुन्छ । आज उहाँको समय छैन । भोलि आउनुहोला ।”
अर्को दिन त्यहाँका प्रमुख व्यक्तिले, “यो पदमा हाम्रो मान्छे छँदै छ । किन बाहिरको मानिस ल्याउनुपर्यो ? नियुक्ति पनि नदिनु, फिर्ता पठाइदिनु ।” भनेर प्रशासकीय अधिकृतलाई हप्काए ।
प्रशासकीय अधिकृतले नियुक्ति दिए पनि दरबन्दी रिक्त नभएकोले फिर्ता पठाइएको पत्र दिए । उसले जति कर गर्दा पनि उनको मन पग्लेन ।
ऊ नेपालका राजनीतिकर्मी र कर्मचारीको चिन्तन र चेतना देखेर दिक्क भयो अनि खिन्न भएर भन्यो “वाह देश ! वाह संघीयता ! वाह सम्मृद्ध नेपाल सुखी नेपाली ! वाह छोटे राजाहरू !!”