प्रकाशकीय : प्रशासन पाँचौँ वर्षमा प्रवेश « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रकाशकीय : प्रशासन पाँचौँ वर्षमा प्रवेश


१२ कार्तिक २०७७, बुधबार


सुशासनको यात्रामा एउटा इँटा थप्ने उद्देश्यले प्रशासन मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित प्रशासन डटकम आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको छ । कर्मचारीतन्त्रका समाचार र विचारबाट राष्ट्रिय समसामयिक विषयसम्मको यात्रामा पाठक, लेखक, विज्ञापनदाता, प्रत्यक्ष-अप्रत्यक्ष सहयोगी तथा शुभेच्छुकको स्नेह र हौसलाका लागि हामी कृतज्ञ छौँ । विशेष गरी हाम्रो ऊर्जाका स्रोत कर्मचारीप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछौँ । नियमित स्तम्भकार तथा लेखकहरुप्रति विशेष आभारी छौँ । असल शासनको बाटोलाई बलियो बनाउन आगामी दिनमा थप खोजमूलक, वस्तुनिष्ठ र विश्वसनीय सामाग्रीहरू पस्कने विश्वाससमेत यस क्रममा व्यक्त गर्न चाहन्छौँ ।

पाठकको विश्वसनीयता कायम राख्दै तथ्य, प्रमाण, अनुसन्धान र सत्यको पर्याय बन्न सफल प्रशासन डटकम नेपाली डिजिटल मिडिया क्षेत्रको एक भरपर्दो र अग्रणी आवाज हो । पाठककै मायाले छोटो अवधिमै स्वदेश तथा विदेशमा आफ्नो पहिचान बनाउन सफल भएका छौँ ।

पत्रकारिता सबैलाई खुसी बनाउन सक्ने पेसा पक्कै पनि होइन । शासकीय पक्षलाई केन्द्रबिन्दुमा राखेर समसामयिक विषयमा कलम चलाईरहँदा सदाचार र सुशासनका पक्षमा निर्भिकरुपमा लेखिने विषयले कसैलाई बिझाउँछ भने त्यो सबैभन्दा पहिला स्थायी सरकारसमेत भनिने कर्मचारीतन्त्र र सरकारमा रहने राजनीतिकर्मी नै हुन् । यी दुबैसँग हाम्रो कुनै पूर्वाग्रह छैन तर सवालहरू भने जहिल्यै रहन्छन् । देश र जनताको भविष्यसँग जोडिएको विषयमा हामी सदैव देश र जनताको पक्षमा उभिएका छौ र आगामी दिने उभिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ ।

आम कर्मचारीसम्म पुग्ने र विश्वसनीयता कायम गर्ने हाम्रो पहिलो चरण निर्धारित समयभन्दा एक वर्षअघि नै पूरा  भएको छ । यही विश्वसनीयताको जगमा उभिएर हामी दोस्रो चरणमा जाँदै छौँ । इमानदार राजनीतिज्ञ र सदाचारी कर्मचारीबाट मात्रै मुलुकको विकास सम्भव रहेको कुरामा दुईमत छैन । राष्ट्रनिर्माणमा राजनीतिक क्षेत्रले अघि सारेका प्रतिवद्धताहरु पूरा गर्ने जिम्मेवारी कर्मचारीतन्त्रको काँधमा रहेको छ । कर्मचारीतन्त्रले इमानदारीपूर्वक कर्तव्यनिष्ठ भएर सुम्पिएको जिम्मेवारी पूरा नगरिइदिए जतिसुकै ठुला राजनीतिक परिवर्तन नै किन नहोस् जनताले अनुभूत गर्न नपाई अर्को व्यवस्थाको चाह राख्नेछन् ।

केही समययता कर्मचारीतन्त्र र राजनीतिकर्मीबिच ठुलो बेमेल देखिन्छ । नङ र मासुको सम्बन्धमा रहनु पर्ने दुवै पक्ष एक अर्काका बैरी जसरी प्रस्तुत भएका छन् । कर्मचारीले नेतालाई आरोप लगाउने र नेताले कर्मचारीले टेरेनन्, असहयोग गरे भन्ने दोहोरी सुनिन्छ  । जसको मार सिङ्गो मुलुकले व्यहोेर्नु परेको छ । आरोप-प्रत्यारोप दैनिक सेवाप्रवादेखि ठूलाठूला विकास निर्माणका कामसम्मै परेको छ । अबको बहस हामीले यसैमा केन्द्रित गर्नेछौँ ।

निजामती क्षेत्रका बेथितिहरूमाथि अझ बढी निगरानी राख्ने र इमानदार कर्मचारीलाई प्रोत्साहित गर्ने हाम्रो प्रयास रहनेछ  । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरवारमा केन्द्रित खबरदारी अभियान सातै प्रदेश तथा सात सय ५३ वटै स्थानीय तहसम्म रहनेछ ।

सूचनासँगै ज्ञान पनि बाँड्ने हाम्रो योजनाले दोस्रो चरणमा निरन्तरता पाउने छ । योग्यता प्रणालीबाट राष्ट्रसेवक कर्मचारी उत्पादन गर्ने एक मात्र विश्वासिलो संस्था लोक सेवा आयोगको परीक्षा उपयोगी सामाग्रीहरू अझ परिष्कृत ढङ्गले पस्कने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौ । यस क्रममा लोक सेवाप्रति आकर्षित लाखौँ युवालाई निजामती क्षेत्रका उत्कृष्ट लेखक तथा प्रशिक्षकहरूसँग जोड्ने प्रयास गर्नेछौ ।

विश्वव्यापी कोरोना महामारीको असर नेपालले पनि नराम्ररी खेपीरहेको छ । स्रोत साधनको अपर्याप्तताबिच अग्रपङ्क्तिमा खटिने कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उच्च सम्मान गर्न चाहन्छौँ । सामूहिक सङ्कल्पले यो विपद्लाई अवश्य जित्न सक्नेछौँ । हरेक विपत्तिसँगै नयाँ ऊर्जा र सृजनशीलता पनि सँगसँगै आएको हुन्छ । कोरोनापछि अवश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानले गति लिनेछ भन्ने हाम्रो अपेक्षा छ । हामी सबैलाई यो शक्ति प्राप्त होस्, यही शुभकामना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस