सबै वडा कार्यालय सुविधा सम्पन्न र सेवाग्राहीमैत्री बनाउने मेयर शाक्यको प्रतिबद्धता  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सबै वडा कार्यालय सुविधा सम्पन्न र सेवाग्राहीमैत्री बनाउने मेयर शाक्यको प्रतिबद्धता 


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन एउटै शैली र स्वरूपमा सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महानगरपालिका वडा नं ९ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरले सबै वडा कार्यालयहरू सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने लक्ष अनुरूप वडा नं ९ वडा कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको बताएका हुन् ।

‘लक्ष्य अनुसार नै वडा नम्बर–९ को वडा भवन उद्घाटन गर्न सफल भएका छौँ । मेरै कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन एउटै शैली र स्वरूपका बनाउने हाम्रो प्रतिविद्धतालाई पूरा गरेरै छाड्ने छु,’ शाक्यले भने, ‘सबैले मिलेर महानगर र वडावासीलाई सेवा दिनुपर्छ । त्यसका लागि सेवाग्राही मैत्री भवनको आवश्यक हुन्छ । वडा–९ ले अब सेवाग्राही मैत्री भवनबाट वडावासीलाई राम्रो सेवा दिनुपर्छ ।’

प्रमुख शाक्यले वडा वडा–१८ को उद्घाटन भई सकेको जानकारी दिँदै वडा–२६, ३, ४ र १४ को भवन निर्माण सम्पन्न भएको र ती भवन पनि छिटै उद्घाटन गर्ने तयारीमा रहेकोसमेत बताएका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले करिब ४५ वर्षदेखि जीर्ण रहेको भवनबाट सेवा दिँदै आएका वडा–९ ले सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा खुसी लागेको बताए । यसअघि गौशाला चोकमा रहेको साँघुरो भवनबाट सेवा दिँदा कर्मचारी र सेवाग्राही दुवैले अफ्ठेरो गरी काम गर्नु परेको अवस्थाबाट रहेकोमा अब सुविधा सम्पन्न भवनबाट सेवा दिँदा धेरै सहज हुने उनको भनाई थियो । उनले भवन निमार्णमा सहज बनाउने सबै प्रति आभारसमेत व्यक्त गरे ।

कार्यक्रममा कोभिड-१९ को महामारीमा खटिएर सेवा गर्ने सुरक्षा निकाय,स्वयं सेवीका, विभिन्न सङ्घ संस्थाका पदाधिकारीलाई कदर पत्र दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस