कर्मचारीमा कोरोना देखिएपछि तीन स्थानीय तह बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कर्मचारीमा कोरोना देखिएपछि तीन स्थानीय तह बन्द


२५ आश्विन २०७७, आइतबार


सिन्धुली । जनप्रतिनिधि, कर्मचारी र स्थानीयमा कोरोना भाइरस देखिएपछि सिन्धुलीका दुई नगरपालिकासहित तीन स्थानीय तह बन्द गरिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकाका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो । तीनवटै स्थानीय तहले सूचना जारी गर्दै नगर र गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयमा अत्यावश्यक बाहेकका सम्पूर्ण कार्य बन्दगर्ने निर्णय गरेका हुन् ।

कमलामाई नगरपालिकाले ८ का वडा अध्यक्ष टिकाबहादुर मोक्तान, प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल समेतलाई कोरोना संक्रमण भएपछि आइतबारबाट कात्तिक ३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका अनुसार दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

बिहीबार दुधौली नगरपालिकामा रहेको सेन्चुरी बैंकका ५ जना कर्मचारी र क्वारेन्टाइनमा रहेका एकजना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाभित्र रहेका सबै कार्यालय, संघसंस्था तथा वित्तिय संस्था लगायतका सेवाहरु बन्द गरिएको हो ।

सिन्धुलीकै गोलन्जोर गाउँपालिकाले पनि आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै आइतबारबाट लागु हुनेगरी अर्को सूचना नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस