काठमाडौँ । मुख्यसचिव शंकर दाश वैरागीले बिहीबार(आज) पदभार ग्रहण गरेका छन् ।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे लगत्तै मुख्यसचिव वैरागीले सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले ३० वर्षको अनुभव र ज्ञानलाई परिणाममुखी नतिजा ल्याउनेतर्फ लगाउने बताए । मुख्यसचिव वैरागीले परामर्श, समन्वय, सहयोग र सहकार्यलाई सशक्त ढंगबाट व्यवहारमा उतार्न सके राष्ट्रिय विकासको लक्ष प्राप्त गर्न सक्ने बताए । विभिन्न क्षेत्रको अनुभवलाई साटासाट गर्दै एक अर्कामा समन्वयात्मक ढङ्गले अघि बढ्न सके समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियान साकार बनाउन सक्ने उनको भनाई थियो ।
पदभार ग्रहणपछि सचिवहरुसँगको पहिलो बैठकमा मुख्य सचिव वैरागीले क्रस कटिङ इस्यूजहरुमा निर्णय गर्दा खेरी हुनसक्ने जटिलताहरूलाई चिर्न सक्यौँ भनेदेखि धेरै हदसम्म कामले गति लिन सक्ने पनि बताए ।
पदभार ग्रहण गर्नुअघि वैरागीलाई प्रधानमन्त्री कार्यालयका सचिव तथा निमित्त मुख्यसचिव महेन्द्र प्रसाद गुरागाई, सचिव यादव कोइराला, अर्का सचिव केदार न्यौपाने, कानूनसचिव धनराज ज्ञवालीलगायत नेपाल सरकारका विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत सचिवसहित उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।
सोही कार्यक्रममा निवर्तमान मुख्यसचिव लोक दर्शन रेग्मीलाईपनि बिदाइ गरिएको थियो ।
लोक दर्शन रेग्मीले बेलायतको राजदूत खान मुख्यसचिवबाट राजीनामा बुझाएसँगै परराष्ट्र सचिव वैरागीलाई बिहीबार बिहान १० बजे बसेको मन्त्रीपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गरेको थियो ।