बैतडीका दुई स्थानीय तह सिल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बैतडीका दुई स्थानीय तह सिल


१५ आश्विन २०७७, बिहिबार


बैतडी । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ ।

जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।

मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो ।

मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो ।

यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए ।

सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुुवै स्थानीय तहले जनाएका छन् । नगर क्षेत्र सिल गरिएकाले सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहेका छन् । यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द रहेको जनाइएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्को वडामा पनि आउन जान पनि रोक लगाइएको छ ।

मेलौलीमा हालसम्म ३६ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । पुर्चौडीमा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस