रेबिज रोग नियन्त्रणका लागि ‘२०८६ सम्ममा शून्य’अभियान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रेबिज रोग नियन्त्रणका लागि ‘२०८६ सम्ममा शून्य’अभियान


१० आश्विन २०७७, शनिबार


प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तराष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाहरू बीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक वर्ष सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’को रूपमा मनाउने गरिएको छ। विश्व स्वास्थ्य सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन  र रेबिज नियन्त्रणका लागि विश्वव्यापी गठबन्धनको संयुक्त नेतृत्वमा सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू गरी यस रोगबाट हुने मानवीय एवं पशुधनको क्षतिलाई न्यूनीकरण गर्ने प्रयास भइरहेको छ । यस वर्ष रेबिज अन्त्यको लागि सहकार्य र खोप” भन्ने नाराका साथ यो दिवस विश्वव्यापीरुपमा मनाउन गइरहेका छौ।

रेबिज के हो ?
रेबिज एक प्राणघातक जुनोटिक रोग हो। अर्थात् यो  पशुपंक्षीबाट मानिस र मानिसबाट पशुमा सर्ने रोग हो । स्तनधारी सबै पशुहरूमा यो रोग लाग्न सक्ने र अरूलाई सार्न सक्ने भएता पनि मुख्यतया कुकुर, न्याउरी मुसा, बिरालो, स्याल, ब्वाँसो लगायतका जनावरको टोकाइबाट यो  रोग मानिसमा सरेको पाइन्छ। हालसम्म विश्वको तथ्याकं विश्लेषण गर्दा ९० प्रतिशत भन्दा बढी अवस्थामा मानिसमा रेबिज रोग लाग्नुको कारण रेबिज सङ्क्रमित कुकुरको टोकाइनै हो। स्याल र ब्वाँसोले आफू सङ्क्रमित नभई रोगका विषाणुहरूलाई भण्डारण गरी राखेका हुन्छन् र रेविजरोग फैलाउँछन् । रेबिज सङ्क्रमित पशुको मासु वा दूधबाट पनि रेबिजका विषाणुहरू मानिस वा अन्य जनावरमा सर्न सक्ने हुँदा यस्ता वस्तुहरू उपयोग गर्नु हुँदैन ।

सदियौँदेखि विश्वलाई आक्रान्त पारिरहेको यस रोगको खोप सन १८८५ मा महान् वैज्ञानिक लुइस पाश्चरले बनाउनु भएको भएतापनि प्रत्येक वर्ष रेबिजले जनस्वास्थ्य र पशु स्वास्थ्यमा जनधनको ठुलो नोक्सानी गराउँदै आएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याकं अनुसार हरेक ९ मिनेटमा एक व्यक्तिको मृत्यु रेबिजका कारण हुने गरेको छ अर्थात् वार्षिक ५९ हजार भन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्न बाध्य छन्। रेबिजबाट मृत्यु हुने मानिस मध्ये ४५ प्रतिशत सार्क मुलुकका, ५५ प्रतिशत एशियाली मुलुकका, ९५ प्रतिशत एशियाली र अफ्रिकी मुलुकका हुने गरेका छन्।अझ गम्भीर पक्ष, रेबिजबाट मृत्यु हुने मध्ये ६० प्रतिशत ५ देखि १५ वर्ष मुनिका बालबालिका हुने गरेका छन्। नेपालमा रेबिजका कारण वार्षिक १०० देखि १५० मानिसको ज्यान जाने गरेको छ। नेपालमा ९८.५ प्रतिशत अवस्थामा बहुला कुकुरको टोकाइको कारण मानिसमा रेविजरोग लाग्ने गरेको छ। तराईका जिल्लाहरूमा रेबिजको प्रकोप ज्यादा देखिने गरेको छ।

मानिस वा पशुमा रेबिज रोगका लक्षणहरू देखिइसकेपछि मृत्यु अवश्यम्भावी रहेको हुँदा यस रोगका कारण सङ्क्रमित मानिस वा पशु र आफन्त वा पशुधनीलाई हुने पीडाको कुनै सीमा छैन। अत्यन्तै पीडादायक हुने यस क्षणको वर्णन शब्दले गर्न सक्दैनन् । रोग लागिसकेपछि उपचार असम्भव रहेता पनि समयमै खोपको प्रयोग तथा कुकुरले टोकेको घाउको सही व्यवस्थापन गरेमा यो रोग शत प्रतिशत रोकथाम गर्न सकिन्छ।

रेबिज नियन्त्रणको प्रयास
विश्वका ३२ देश घरपालुवा जनावरहरूलाई रेबिज मुक्त अवस्थामा राख्न सफल भइसकेका छन् भने  नेपाल लगायतका अन्य देशहरूमा नियन्त्रणका प्रयासहरू भइरहेका छन्। रेबिज जंगली अवस्थामा पनि रहने भएकाले विश्वबाटै उन्मुलन गर्न असम्भव प्राय: रहेको भएता पनि मानिस र घरपालुवा जनावरहरूलाई रेबिजबाट मुक्त राख्न सकिन्छ। नेपाल सदस्य राष्ट्र रहेको विश्व स्वास्थ्य सङ्गठन, विश्व पशु स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन  र रेबिज नियन्त्रणका लागि विश्वव्यापी गठबन्धनले संयुक्तरूपमा सन २०३० (वि.स. २०८६) सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिजको सङ्ख्यालाई शून्यमा ल्याउने उद्देश्यका साथ अभियान सञ्चालन गरिरहेका छन्।नेपाली पात्रोअनुसार ‘२०८६ सम्ममा शून्य’ महाअभियानलाई सफल बनाउनु नेपालको दायित्व र कर्तव्य हो।

नेपाल सरकारले २०७६ भाद्र ९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी रेबिज रोगलाई सूचित गर्नुपर्ने रोगको सूचीमा राखी रेबिज नियन्त्रण अभियानको सुरुवात गरिसकेको छ। यस्तै, स्वास्थ्य विभागले “मानिसमा खोप प्रयोग बारे राष्ट्रिय निर्देशिका २०७५” जारी गरेको छ। पशु सेवा विभाग, विभिन्न गैर सरकारी संस्थाहरूले कुकुरलाई खोप लगाउने, कुकुरलाई बन्ध्याकरण गर्ने, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका भएतापनि श्रोतको कमीका कारण यस्ता कार्यक्रमहरू देशका केही प्रतिनिधिमूलक स्थानहरूमा केन्द्रित रहने गरेका कारण आशातीत सफलता प्राप्त हुन सकिरहेको छैन।

‘८६ सम्ममा शून्य’ महाअभियानलाई सफल बनाउन के गर्नुपर्ला ?

  • राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने : राज्यले रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकतामा राखी आवधिक योजनाहरूमा यथेष्ट श्रोतको व्यवस्था गर्नु पर्दछ। राजनीतिक र प्रशासनिक नेतृत्वले इच्छाशक्ति देखाई राज्यका श्रोतहरूको परिचालन गर्नुपर्दछ। साथै प्रदेश र स्थानीय तहले वार्षिक योजना तर्जुमा गर्दा रेबिज नियन्त्रण कार्यक्रमलाई अनिवार्यरूपमा संलग्न गर्नुपर्दछ।
  • “रेबिज रोग नियन्त्रण सचिवालय”को स्थापनाः नेपालको संविधानले स्वास्थ्य सेवालाई संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा राखेको छ । यसर्थ, रोग नियन्त्रणको लागि तीनै तहका सरकार बिच समन्वय गरी कार्यक्रम सञ्चालन गर्न र सरोकारवाला सबैलाई संयोजन गर्न नेपाल सरकारले  “रेबिज रोग नियन्त्रण सचिवालय”को स्थापना गर्नु पर्दछ। यस सचिवालयले  रेबिज रोग नियन्त्रणका लागि  प्रदेश, स्थानीय तह र वडा स्तरसम्मै संयन्त्र बनाउनु पर्दछ ।
  • दश वर्षे राष्ट्रिय कार्ययोजना तयारी तथा कार्यान्वयनः ‘८६ सम्ममा शून्य’ वा “Zero by 30” महाअभियानको उद्देश्य पूर्तिको लागि नेपालले दश वर्षे राष्ट्रिय कार्य योजना तयार गरी अगाडी बढ्नु पर्दछ। यस्तो महाअभियानको लागि दश वर्ष निकै छोटो समय हो र हामीलाई विलम्ब गर्ने छुट छैन। नीतिगतरूपमा आवश्यक नीति, ऐन, नियमावली, निर्देशिका तथा मापदण्डको तर्जुमा छोटो समयमै सम्पन्न गर्नुपर्नेछ ।
  • एक स्वास्थ्य रणनीति २०७६ को प्रभावकारी कार्यान्वयनः एक स्वास्थ्यको अवधारणा अनुरूप जन स्वास्थ्य र पशु स्वास्थ्यका कार्यक्रमहरू संयुक्तरूपमा निर्माण गरी कार्यान्वयन गर्न हालै जारीभएको एक स्वास्थ्य रणनीति २०७६ को प्रभावकारी कार्यान्वयन गर्नुपर्दछ।
  • कुकुरको सङ्ख्या व्यवस्थापन र खोप कार्यक्रमः हाल सडक, सामुदायिक र घरपालुवा कुकुरको यकिन तथ्याकं नरहेको तथा खोप उत्पादन र खोप अभियान लगायतका रोग नियन्त्रणका कार्यक्रमहरू निर्माण तथा सञ्चालन गर्न तथ्याङ्क आवश्यक पर्ने भएकोले तथ्याङ्क अत्यावश्यक छ। सडक तथा सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रणको लागि देशका सबै स्थानीय तहले कुकुर बन्ध्याकरण शिविरहरू सञ्चालन गर्नु पर्नेछ। संघीय संरचनामा हाल ७६१ सरकारहरू रहेको अवस्थामा बन्ध्याकरण र खोप अभियानका कार्यक्रमहरू एकात्मक संरचनामा भन्दा निकै छिटो सम्पन्न हुने विश्वास गर्न सकिन्छ । हरेक जिल्ला वा स्थानीय तहको नक्सांकन गरी विशेष स्थानहरूको (हट स्पट) पहिचान गर्न सकेमा श्रोतको सही उपयोग र काममा चुस्तता आउन सक्दछ। सडक कुकुरको श्रोतको रूपमा छाडिएका घरपालुवा कुकुरहरू हुने गरेको दृष्टान्त धेरै भेटिएको हुँदा सबै स्थानीय तहले घरपालुवा कुकुरको माइक्रोचिपिङ तथा अनिवार्य दर्ता गर्ने व्यवस्था मिलाउनु पर्दछ। वैज्ञानिक मान्यता अनुसार रेबिज रोगको प्रसारण चक्र तोड्नको लागि कम्तीमा ७० प्रतिशत कुकुरहरूलाई खोप लगाउनु पर्ने भएकाले सबै स्थानीय तहले रेबिज खोप शिविर प्रत्येक वर्ष सञ्चालन गरी आफ्नो क्षेत्रका सबै सडक, सामुदायिक र घरपालुवा कुकुरमा खोप लगाई अनिवार्य रिपार्टिगं गर्नु पर्दछ। शहरमा कुकुरको सङ्ख्या बढ्नुको एउटा कारण शहरमा कुकुरहरूलाई आहारा उपलब्ध हुनु भएकाले नगरपालिकाहरुले फोहोर व्यवस्थापनमा विशेष ध्यान दिनुपर्दछ।
  • जनचेतनामूलक कार्यक्रम सञ्चालनः रोगबारे आम मानिसमा जनचेतना जगाउनु अभियान सफल बनाउनको लागि अर्को महत्त्वपूर्ण पक्ष हो। हरेक उमेर समूह र भौगोलिक क्षेत्रका जनतालाई केन्द्रित गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायत अन्य निकायहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्दछ। रेबिज रोगबाट मृत्यु हुने मध्ये ६० प्रतिशत ५ देखि १५ वर्ष मुनिका बालबालिका रहेको कारण स्कुले विद्यार्थीहरूमा चेतना जगाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्कुल शिक्षा कार्यक्रम सञ्चालन र पाठ्यक्रममा रेबिज रोग समावेश गर्ने व्यवस्था मिलाउनु पर्दछ। यो रोगको शंकालागेको जनावर देखेपछि किन सूचित गर्नुपर्ने हो भन्नेबारे जानकारी आम मानिसलाई तत्काल दिनु आवश्यक रहन्छ।
  • जनशक्तिको व्यवस्थापन तथा क्षमता अभिवृद्धि : चार घण्टामा १५० कुकुरलाई खोप लगाउन ७ जना व्यक्तिको आवश्यकता पर्ने विभिन्न देशमा भएको अध्ययनले देखाएको छ। यसर्थ खोप तथा बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न ठुलो जनशक्ति आवश्यक पर्ने हुँदा त्यस्ता कर्मचारी तयार गर्नेतर्फ पनि कार्यक्रमहरू सञ्चालन गर्नु पर्नेछ।सरोकारवालाहरूलाई पनि यस अभियानमा साथै लैजान क्षमता विकास र सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने हुन्छ।
  • राष्ट्रिय निकुञ्ज वरिपरि immune belt को विकासः जगंली जनावर हरू यस रोगका भण्डारण रहेका हुँदा राष्ट्रिय निकुञ्ज वरिपरिका क्षेत्रहरूमा रेबिज रोग फैलिन सक्ने हुँदा बफर जोनका क्षेत्रहरूका पशुलाई अनिवार्य प्रि–एक्सपोजर खोप लगाई त्यस क्षेत्रलाई immune beltको रूपमा विकास गर्न सकिन्छ। साथै जगंली अवस्थाको रेबिज नियन्त्रण गर्न कार्ययोजना निर्माण गर्नुपर्दछ ।
  • अन्तराष्ट्रिय सहकार्यः भूपरिवेष्टित देश र खुला सिमानाका कारण रोग नियन्त्रणमा हाम्रो एकल प्रयासले मात्र सम्भव नहुने भएकाले मित्रराष्ट्रहरुसँग सहकार्य गरी सीमावर्ती क्षेत्रहरूमा संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ ।

रेबिज रोग नियन्त्रणको यस अन्तर्राष्ट्रिय अभियानलाई सफल बनाउन नेपालले कुनै कसर बाँकी राख्नु हुँदैन किनकि यो नेपाल र नेपालीको इज्जत प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको छ। यस अभियानलाई सफल बनाउन अबका दश वर्ष तीनै तहका सरकार र सरोकारवाला निकायहरू प्रतिबद्ध भई उद्देश्य प्राप्त गर्न समन्वय र सहकार्य गर्नु पर्दछ। एक पटकमा सम्पूर्ण नेपाललाईनै शून्यमा ल्याउन समय लाग्ने हुँदा वार्ड, पालिका हुँदै समग्र देशलाई मानव रेबिज मुक्त देश घोषणा गर्न सकिन्छ । यसो हुनसकेमा नेपाल र नेपालीले गर्व गर्ने ठाउँ रहन्छ । यसको लागि राजनीतिक दल, प्रशासन, स्वास्थ्यकर्मी, पशु चिकित्सक र आम नेपालीको सक्रिय साथ आवश्यक छ।

(लेखक पशु विकास अधिकृत हुनुहुन्छ)

Tags :
प्रतिक्रिया दिनुहोस