गृहमन्त्री थापा कालापानी, आजको बास छाङरुमै  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री थापा कालापानी, आजको बास छाङरुमै 


९ आश्विन २०७७, शुक्रबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रको अवलोकन गरेका छन्। छाङरुको गागामा स्थापना भएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मको भवन शिलान्यासका लागि शुक्रवार दिउँसो त्यहाँ पुगेका मन्त्री थापाले सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

गुल्म स्थापनासँगै छाङरुमा डीएसपी धिरेन्द्र शाहको कमान्डमा १६० जना रहने छन्। यसअघि बीओपीमा इन्स्पेक्टरको कमान्डमा २५ जना थिए। बीओपीलाई कालापानीको फेदमा रहेको माथिल्लो कौवामा सार्ने निर्णय भइसकेको छ।

कालापानी क्षेत्रमा नेपालको स्वामित्वमा रहेको छाङरुको गागा र सीतापुलको निरीक्षण गरेका मन्त्री थापाले चीनसँग जोडिएको तिंकरको वस्तुस्थिति बारेसमेत जानकारी लिएका छन्। उनले भारतीय सुरक्षाकर्मी बसेको कालापानी र गर्ब्याङ गाउँबारे पनि स्थानीय सुरक्षा अधिकारीबाट जानकारी लिएका छन्।

सुरक्षा अधिकारीहरूका अनुसार थापाले भोलि बिहान तिंकर र कालापानी क्षेत्रमा हवाई निरीक्षण गर्ने कार्यक्रम रहेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङरु पुगेका गृहमन्त्री थापाको टोली आज छाङरुमै बास बस्ने कार्यक्रम रहेको छ । गृहमन्त्रीको टोली शनिवार निरीक्षण गरेर व्यासबाट फर्किने कार्य तालिका छ।

गृहमन्त्रीको टोलीमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, सशस्त्र प्रहरी प्रमुख आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत सहभागी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस