अमेरिकामा टिकटक र वीच्याट आजदेखि पूर्णरुपमा बन्द हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकामा टिकटक र वीच्याट आजदेखि पूर्णरुपमा बन्द हुने


एजेन्सी

४ आश्विन २०७७, आइतबार


काठमाडौँ । अमेरिकाका आजदेखि सबै एपस्टोरबाट वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

योसँगै अमेरिकामा अब टिकटक र वीच्याट दुवै चलाउन नपाउने अमेरिकाको वाणिज्य विभागले जानकारी दिएको हो ।

यी दुवै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारलाई दिन सक्ने भन्दै राष्ट्रिय सुरक्षालाई पनि जोखिममा पारिरहेकाले यसमाथि प्रतिबन्ध लगाउनुपरेको ट्रम्प प्रशासनले बताएको छ। चीनले भने अमेरिकाको उक्त आरोप गलत भएको बताउँदै आएको छ ।

आइतबारदेखि वीच्याट, मेसेजिङ एप पूर्ण रुपमा बन्द हुनेछ भने टिकटक चाहिँ नयाँ अपडेट डाउनलोड नगरि नोभेम्बर १२ सम्म चलाउन सकिने बताइएको छ ।

ट्रम्पले टिकटकलाई नोभेम्बरसम्मको अन्तिम समय दिएका छन् । टिकटकले यो विषयमा अमेरिकी वाणिज्य विभागसँग निराश भएको प्रतिक्रिया दिएको छ र सुरक्षा सम्बन्धी ट्रम्प प्रशासनको चिन्तालाई ध्यानमा राख्दै कम्पनीको पारदर्शीता बढाउन प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

वीच्याट एपको मालिक टेनसेन्ट कम्पनीले पनि उक्त प्रतिबन्ध दुर्भाग्यवश् भएको र समस्याको दीर्घकालीन समाधानसम्म पुग्न अमेरिकी सरकारसँग छलफल जारी राख्ने बताएको हो ।

ट्रम्पले अगस्टमा अमेरिकाका सबै व्यवसायलाई चिनियाँ कम्पनीसँगको काम बन्द गर्न ४५ दिनको अन्तिम म्याद दिँदै कानुनी आदेश जारी गराएका थिए । सोही बमोजिम वाणिज्य विभागले उक्त निर्देशनको पालन गर्दै आइतबारदेखि नै दुवै कम्पनी अमेरिकामा सञ्चालन हुनबाट रोक्ने निर्णय गर्नुपरेको बताएको छ। तर हाल योजनाबद्ध रहेको टिकटक र अमेरिकी प्राविधिक कम्पनी ओरेकल बीचको ‘पार्टनरशीप’ लाई ट्रम्पले स्वीकृति दिन सहमत हुने हो भने टिकटक प्रतिबन्धित हुने छैन ।
नोभेम्बरसम्म टिकटकले अमेरिकी सरकारको सुरक्षा सम्बन्धी समस्या समाधान गर्न सक्ने हो भने टिकटक हटाउनुपर्ने आवश्यकता नहुने ट्रम्पले यसअघि बताएका थिए ।

शुक्रबार सञ्चारर्मीहरुसँग बोल्दै उनले भनेका छन्, ‘टिकटकसँग छिटै सम्झौता हुने मेरो विश्वास छ तर त्यसका लागि अमेरिकालाई चीनबाट सुरक्षित राख्नुपर्ने हुन्छ । टिकटक वास्तवमै सफल कम्पनी हो र एकदमै धेरै लोकप्रिय छ । यसैले अमेरिकाले खोजेको सुरक्षा मार्फत सायद हामीले यसलाई नहटाएर धेरै मान्छेलाई खुसी पार्न सक्नेछौँ भन्ने मलाई आशा छ ।’
तर भारतले पनि वीच्याट र टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस