पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन


प्रशासन संवाददाता

३१ भाद्र २०७७, बुधबार


काठमाडौं । पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार बेलुकी ७ः३० बजे उनको एक सय वर्षको उमेरमा निधन भएको हो । उनको निमोनियाका कारण निधन भएको चिकित्सकले जानकारी दिएका छन् ।

सिंहले वि.सं.२००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका थिए । उनले वि.सं. २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए । २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधानन्यायाधीशका रुपमा उनले तीन वर्ष न्यायालयको नेतृत्व गरेका थिए । सिंहले २०१५ सालबाट नेपाल कानुन पत्रिका (नेकाप)को प्रकाशन आरम्भ गरेका थिए ।

उनी २०१६ सालमा लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए । २०१८ सालमा उनलाई राजा महेन्द्रले नारायणहिटी राजदरबारमा कार्यालय स्थापना गरी विशेष जाहेरी विभागको प्रमुख नियुक्त गरेका थिए ।
उनलाई २०३२ सालमा संविधान सुधार आयोगको अध्यक्ष पदमा मनोनयन गरिएको थियो । २०३४ सालमा उनी तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।

उनी अख्तियारमा २०३४ पुस १३ देखि २०४२ बैशाख ३० गतेसम्म कार्यरत रहे ।

 

प्रतिक्रिया दिनुहोस