दोलखामा विद्यालय असोज ७ गतेबाट खुल्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दोलखामा विद्यालय असोज ७ गतेबाट खुल्ने


प्रशासन संवाददाता

३० भाद्र २०७७, मंगलबार


दोलखा । दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेदेखि नियमित पढाई सुरु हुने भएको छ।

कोरोना महामारी सतर्कताका लागि सरकारले चैत ११ गतेदेखि लागू गरेको लकडाउनदेखि बन्द रहेका दोलखाका निजी तथा सामुदायिक विद्यालयहरुमा असोज ७ गतेबाट नियमित पढाई सुरु हुने भएको हो।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षा समिति र जिल्ला संकट व्यवस्थापन समिति सम्मिलित मंगलबार बसेको बैठकले असोज ७ गतेबाट जिल्लाका सम्पूर्ण विद्यालयहरु खोल्ने निर्णय गरेको जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दोलखाका संयोजक डबल पाण्डेले जानकारी दिए।

दोलखा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाउँदै प्राथमिक तहका सिकाइ केन्द्रहरुमा सिकाइ सहजिकरण गर्ने र आधारभुत तथा माध्यमिक तहहरुमा नियमित पठनपाठन क्रियाकलाप संचालन गर्ने निर्णय गरेको संयोजक पाण्डेको भनाई छ।

तर कक्षा संचालन गर्ने क्रममा माक्स, सेनिटाईजर सहित स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्नुपर्नेछ । धेरै विद्यार्थी संख्या भएका विद्यालय र कक्षाको हकमा रोलनम्बर अनुसार जोर विजोर प्रणाली अनुसार विद्यार्थीलाई कक्षामा सहभागि गराईनेछ ।

कोरोना संक्रमण फैलन सक्ने भएका कारण चैत्र महिनादेखि देशमा लकडाउन लागू भएयता दोलखाका निजी करिब १५ र सामुदायिक करिब ३२५ विद्यालयहरु बन्द भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस