आधा दर्जन सहसचिवको सरुवा हेरफेर ! « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आधा दर्जन सहसचिवको सरुवा हेरफेर !


२१ भाद्र २०७७, आइतबार


काठमाडौँ । आधा दर्जन सहसचिवहरूको सरुवा हेरफेर गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय मन्त्रालय र प्रदेशका आधा दर्जन सहसचिवको सरुवा अदलबदल गरेको हो ।

प्रशासन सिँहदरवार विशेष स्रोतका अनुसार यसरी सरुवा हुने सहसचिवहरूमा सहसचिव कृष्णप्रसाद काप्री, वीरेन्द्र यादव, रामशरण सापकोटा, भूपाल बराल, योगेन्द्र कुमार कार्की र मतिना वैद्य रहेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीलाई सामाजिक विकास मन्त्रालय, प्रदेश नं. २ मा सरुवा गरेको छ । प्रदेश नम्बर २ कै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बिरन्द्र यादवलाई सोही प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको छ । केही समय अघि मात्रै दुई नम्बर प्रदेशकै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएका भूपाल बराललाई फेरी सोही प्रदेशकै मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ ।

त्यसै गरी बाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योगेन्द्र कुमार कार्कीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा ल्याइएको छ भने शिक्षा मन्त्रालय अन्तर्गत रहका सहसचिव रामशरण सापकोटालाई राष्ट्रिय पुन निर्माण प्राधिकरणमा सरुवा गरिएको छ । त्यसैगरी केही दिन अघि विभाग नै खाली गरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली सुर्खेत पुर्‍याइएकी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यलाई प्रदेश नम्बर ३ मा सरुवा गरिएको छ । उनको भदौ ९ गते सरुवा गरिएको थियो ।

केही दिन अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रक्रियागत ढङ्गबाट भएको सरुवा फेरबदल नहुने बताएका थिए तर बोली सेलाउन नपाउँदै सहसचिवको सरुवा फेरिएको छ ।

सम्बन्धित समाचार : सहसचिवको सरुवा संशोधन हुने स्थिति नै छैन -मन्त्री त्रिपाठी

पछिल्लो समय कर्मचारी व्यवस्थापनको महत्त्वपूर्ण जिम्मेवारी बोकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा मन्त्रालयको रूपमा चित्रित हुँदै आएको छ । सरुवा हुनै नपाई बाटैबाट सरुवा गर्नेदेखि सरुवा गरेको केही दिनमै फेरबदलसमेत मन्त्रालयले गर्दै आएको छ । नीति निर्माण तहमा केन्द्रित रहनुपर्ने मन्त्रालय नै सरुवा खेलमा रमाउन थालेपछि शक्तिशाली कर्मचारी पनि राजनीतिको फेर समाउन पुग्ने नै भए ।

Tags :
प्रतिक्रिया दिनुहोस