वैदेशिक रोजगारमा कोभिड-१९ को प्रभाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगारमा कोभिड-१९ को प्रभाव


५ भाद्र २०७७, शुक्रबार


देशको भौगोलिक सीमा पार गरी विभिन्न मुलुकहरूमा गई गरिने सबै प्रकारका श्रमहरूलाई वैदेशिक रोजगार भनिन्छ । उक्त श्रमको मूल्यबाट प्राप्त आय/आम्दानीलाई विप्रेषण भनिन्छ । विकासोन्मुख तथा गैर औद्योगिक देशहरूमा उत्पादित श्रम शक्तिको तुलनामा रोजगारीका अवसरहरू न्यून हुने हुँदा उक्त राष्ट्रहरूबाट रोजगारीको लागि विकसित एवं औद्योगिक राष्ट्रहरूमा गई आफ्नो दक्षतालाई श्रममा रुपान्तरण गरी आर्थिक लगायतका अन्य प्रतिफलहरू प्राप्त गर्नु नै वैदेशिक रोजगार हो । नेपालको श्रम बजारमा वार्षिक करिब ५ लाखको हाराहारीमा श्रमयुक्त जनशक्ति प्रवेश गर्ने गर्दछन् र वर्तमान अवस्थामा नेपालमा रोजगारी वृद्धिदर २.९ प्रतिशत भन्दा कमको हाराहारीमा रहेको अवस्था छ ।

देश भित्र पर्याप्त मात्रामा रोजगारीका अवसरहरू सृजना हुन नसक्नको कारण नेपालको श्रमशक्ति दैनिक रूपमा करिब १५०० को हाराहारीमा रोजगारीका लागि विश्व बजारमा प्रवेश गर्नु पर्ने वाध्यात्मक अवस्था छ । वैदेशिक रोजगारबाट प्राप्त आय/आम्दानीले पछिल्लो आ.व.मा नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २५.४ प्रतिशत योगदान रहेको छ । वैदेशिक रोजगार अल्पकालीन बेरोजगारी समस्या समाधान, गरिबी न्यूनीकरणका साथै आर्थिक संवृद्धि बिचको नकारात्मक दुरी घटाउने अस्त्रको रूपमा रहँदै आएको छ । साथै वर्तमान अवस्थाका वैदेशिक रोजगारबाट प्राप्त ज्ञान, सिप, अनुभव एवं नयाँ नयाँ प्रविधिहरू ग्रहण गरी स्वदेशमा उद्यम, व्यापार, व्यवसाय जस्ता स्वरोजगारजन्य विभिन्न अवसरहरूको रूपमा पनि लिन सकिन्छ । साथै भौगोलिक अनुभव, भाषा संस्कृतिको आदान प्रदान हुने माध्यमको रूपमा पनि लिन सकिन्छ । त्यस्तै वैदेशिक रोजगारको लागि हालसम्म विश्वका ११० देशहरू खुल्ला गरिएको छ । उक्त राष्ट्रहरूमा नेपालको श्रमशक्ति प्रवेश गरी विभिन्न पेसा/व्यवसायहरूबाट प्राप्त आयले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा बन्न पुगेको छ ।

सन १९८० को दशकदेखि सुरु भएको आर्थिक उदारीकरण र विश्वव्यापीकरणको लहरसँग सँगै विश्व श्रम बजार पनि चलायमान भएको छ । यसबाट वैदेशिक रोजगारीका क्षेत्रहरूमा धेरै अवसरहरू सिर्जना भएका छन् । देश र क्षेत्रगत आधारमा रोजगारीका अवसरहरू एवं सेवा सुविधाहरूमा समेत भिन्नता हुने गर्दछ । त्यसैले रोजगारीका अवशरहरू कम भएका तथा न्यून सेवा सुविधाहरू हुने मुलुकहरूबाट रोजगारीका पर्याप्त अवसरहरू भएका र तलब सुविधाहरू राम्रो भएका मुलुकहरूमा श्रमशक्ति जाने गर्दछन् जसलाई स्थानगत लाभ समेत भनिन्छ ।

यसै कारण नेपालको श्रम बजारमा मागको तुलनामा अधिक मात्रामा श्रम शक्ति आपूर्ति भइरहेको वर्तमान अवस्थामा नेपालका लागि वैदेशिक रोजगार अझै केही समयका लागि विकल्पविहीन अवस्थाका कारण नेपालको श्रमवजारमा रहेको श्रमशक्तिहरु वैदेशिक रोजगारमा उल्लेखनीय वृद्धि भई प्राप्त आयले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा बन्न पुगेको छ । नेपालमा खास गरी आ.व. २०५४/५५ देखि वैदेशिक रोजगारीमा नेपाली श्रम शक्तिको लहर बढ्न थालेको हो । त्यस आ.व. सम्म वार्षिक रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रम शक्तिको सङ्ख्या दश हजार भन्दा कमको हाराहारीमा रहेकोमा आ.व. २०७६/७७ को (फाल्गुन महिनाको) मध्यतिरसम्म आइपुग्दा वार्षिक ५ लाखको हाराहारीमा पुगेको पाइन्छ । वैदेशिक रोजगारको सिलसिलामा विश्वका विभिन्न ११० देशहरूमा श्रम स्वीकृति लिएर नेपाली श्रम शक्ति रोजगारीको लागि जाने गर्दछन् । नेपालबाट वैदेशिक रोजगारीको प्रमुख श्रम गन्तव्यको रूपमा मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र पछिल्लो समय दक्षिण कोरिया आदि देशहरू पर्दछन् । जसमध्ये कुल सङ्ख्याको करिब ८५ प्रतिशत भन्दा बढीको संख्यामा नेपाली श्रमशक्तिहरु ती देशहरूमा आफ्नो  श्रमलाई आयमा रूपान्तरण गरिरहेका छन् ।

सन २०१९ को अन्त्य तिर चीनको वुहान प्रान्तमा देखा परेको कोरोना भाइरस अर्थात् (कोभिड १९) पछिल्लो समयमा विश्वका सबै देशहरू कोरोना भाइरसबाट अलग रहन सकेनन् । उक्त भाइरसले विश्वका सबै नागरिकहरूलाई त्रसित बनाउनुका साथै सात लाख पचास हजार भन्दा बढी मानिसहरूको ज्यान समेत लिएको छ । लाखौँ मानिसहरू उक्त भाइरसका कारण सङ्क्रमित भई उपचारको क्रममा छन् । साथै यस भाइरसको कारण विश्वअर्थतन्त्राई समेत धरासायी बनाएको वर्तमान अवस्थामा सो को प्रत्यक्ष प्रभाव स्वदेश एवं वैदेशिक रोजगारमा पनि पर्न गएको छ । कोभिड १९ को बढ्दो सङ्क्रमण र ठोस रूपमा औषधी पत्ता लगाउन नसक्नुको कारणले गर्दा सो भाइरसबाट बच्न वर्तमान समयमा विश्वका प्राय: देशहरूले लकडाउनको विभिन्न नीतिहरू अवलम्बन गरी उद्योग, कलकारखाना, व्यापार, व्यवसाय लगायतका क्षेत्रहरू साथै हवाई तथा स्थल यातायातका साधनहरू आदि बन्द गर्नु पर्ने वाध्यात्मक अवस्थाको कारण स्वदेश एवं वैदेशिक रोजगारमा रही दैनिक ज्यालादारी गर्ने श्रमयुक्त जनशक्तिहरूलाई प्रत्यक्ष असर पर्न गएको छ ।

नेपालमा पनि उक्त भाइरसको बढ्दो सङ्क्रमणको जोखिमलाई मध्यनजर गदै वि.स.२०७६ चैत्र ११ देखि लकडाउनको विभिन्न मोडालिटीहरु अवलम्बन गरिँदै आएको अवस्थामा सो को प्रत्यक्ष प्रभाव स्वदेश/ वैदेशिक रोजगारमा परेको छ । भारत बाहेक तेस्रो मुलुकहरूमा श्रम गर्न जाने श्रम शक्तिको लागि हवाई यातायात निर्विकल्पको साधन हो । ठूलो सङ्ख्यामा रहेको श्रम शक्ति वैदेशिक रोजगारको लागि विश्व श्रमवजारमा प्रवेश गर्न नपाउँदा दिन प्रति दिन बेरोजगारी एव गरिबी जस्ता मानवीय जीवनलाई प्रत्यक्ष असर गर्ने समस्याहरू थपिँदै आएको छ । त्यतै वैदेशिक रोजगारको सिलसिलामा विश्व श्रमवजारमा गएका श्रमशक्तिहरु यस महामारीले गर्दा काम नपाई बस्नु पर्ने र मातृभूमि फर्कनको लागि समेत कडिनाई परेको छ ।

विश्व अर्थतन्त्रलाई समेत ठुलो धक्का दिएको यस भाइरसको कारण आर्थिक मन्दी भई विश्व बजारमा रोजगारीका अवसरहरूमा समेत कटौती हुने अवस्था रहेको छ जसको कारण दैनिक जसो ठुलो सख्यामा श्रम बजारमा प्रवेश गर्ने श्रमयुक्त जनशक्ति रोजगार विहीन हुने देखिन्छ । जसले गर्दा विकासोन्मुख एवं गैर औद्योगिक राष्ट्ररतको विप्रेषणबाट प्राप्त हुने आम्दानीमा समेत सङ्कुचन आउने गर्दछ । साथै सार्वभौम सम्पन्न निकायबाट जारी नेपालको संविधानले सुनिश्चित गरेका विभिन्न ३१ वटा मौलिक हकहरू अन्तर्गत क्रमशः धारा ३३ र ३४ मा रोजगारी र श्रमको हकमा सम्बन्धमा व्यवस्था गरिएका अधिकारलाई समेत यस कोरोना भाइरस महामारीले धक्का दिने देखिन्छ ।

नेपालमा विगत लामो समयसम्म भएको सशस्त्र युद्ध तथा राजनीतिक अस्थिरताको कारण देशमा उपलब्ध स्रोत साधनको कुशल परिचालन हुन नसक्दा रोजगारीको क्षेत्रमा सङ्कुचन पैदा भई देशको श्रमयुक्त जनशक्ति ठुलो सख्यामा विश्व बजारमा रोजगारीको लागि जानुपर्ने बाध्यात्मक अवस्था छ । जसको कारण यस महामारीको समयमा विश्वका विभिन्न देशहरूमा रोजगार विहीन भई अलपत्र अवस्थामा रहेका श्रमजनशक्तिहरको उद्धार,व्यवस्थापनको कार्यमा राज्य लागिपरेको छ यो सकारात्मक कार्य पनि हो । यसका साथ साथै यस महामारीले निम्त्याएको आर्थिक मन्दी,वैदेशिक रोजगारीमा आउन सक्ने संकुचनलाई ध्यानमा राखी वैदेशिक रोजगारीमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, आय/आम्दानीलाई कुशलता पूर्वक परिचालन गर्न सकेमा संविधानले प्रदान गरेको रोजगारी र श्रमको हकलाई कार्यान्वयन गर्न सहज हुनुका साथै देशमा उपलब्ध जनशक्तिको उचित प्रयोग,व्यवस्थापन भई राष्ट्रिय उत्पादन एवं उत्पादकत्वमा उल्लेखनीय वृद्धि भई देश आत्मनिर्भरताको बाटो तर्फ अगाडि बढ्दै विकास र समृद्धि तर्फ यात्रा गर्नेमा कुनै दुई मत रहँदैन । त्यसतर्फ सरोकारवाला निकायको ध्यान जानु आवश्यक छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस