डडेल्धुरा । अछामको रामारोशन गाउँपालिका–५ मा थप १ जनाको शव फेला परेको छ। योसँगै बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ। अझै पनि १० जना बेपत्ता छन्।
मङ्गलवार राति परेको अविरल वर्षाका कारण आएको बाढीले रामारोशन गाउँपालिका –५ सैनिबजारबाट बगाएका १७ मध्ये ७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए।
उनका अनुसार बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा १ महिला र १ पुरुष गरी २ जनाको शव भेटिएको छ। यस्तै १ महिला र १ पुरुष गरी २ जनाको शव दर्नास्थीत कैलाश खोलाको किनारमा भेटिएको छ भने अर्का १ व्यक्तिको शव मंगलसेन नगरपालिका–१० जुपुस्थीत कैलाश खोला किनारमा भेटिएको हो।
यस्तै २ जनाको शव मंगलसेन ३ स्थित दयमा भन्ने ठाउँमा भेटिएको डीएसपी थापाले जानकारी दिए। रामारोशन जाने बाटो दर्ना स्थित पक्की पुल समेत बगाएका कारण अहिलेसम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन भने घटना स्थलमा खटिएका प्रहरीसँग अहिलेसम्म पनि सम्पर्क हुन नसकेको समेत उनको भनाइ छ।
जिल्लाबाट झण्डै ७ घण्टा पैदल हिँडेर मात्रै घटनास्थल पुगिने अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। हराईरहेकाहरुको उद्दारका लागी नेपाली सेनाको हेलीकेप्टर अछाम पुगिसकेको उनले बताए।