निजामती भित्रको विकृति : चाकडी नगर्दा सास्ती, गर्दा मालामाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निजामती भित्रको विकृति : चाकडी नगर्दा सास्ती, गर्दा मालामाल


३२ श्रावण २०७७, आइतबार


२०६९ सालमा निजामती सेवा सुरुवात गर्दाको दिन म जिन्दगीको सबैभन्दा खुसी भएको दिन थियो । तर त्यो खुसी २ महिना पनि टिकेन । हामीले बाहिरबाट देखेको निजामती सेवा र भित्रको निजामती सेवा त आकाश धर्तीको फरक पो रहेछ ।

निजामती सेवा भित्रको खास समस्या भनेको चाकडी हुँदो रहेछ सामान्य पदमा भए पनि शैक्षिक योग्यताले विविध विषयमा दखल राख्ने व्यक्तिहरूको चाकडी बिना उसको क्षमता र योग्यताको कुनै मूल्य नहुँदो रहेछ । चाकडीको विषयमा अनुसन्धान तह पास गरी प्रयोगात्मकमा पनि पोख्त तर काममा पुराना आ.व.का विषयवस्तुलाई कपि पेष्ट गर्ने र उच्च ओहोदालाई प्रशंसा, कोसेलीदेखि आवश्यक सबै विषयवस्तुसम्म व्यवस्था गर्न दिनभर समय बिताउनेहरू त कार्यालयका अनुभवी कर्मचारी दक्ष विज्ञ कहलिने ऊ बिना त कार्यालय नचल्ने, कुनै कारणवश उसको सरुवा भएत कार्यालय नै बन्द गर्नुपर्ने हो कि जस्तो विषय देख्दा हीनताबोधका कारण यो सेवालाई तिलाञ्जली दिएर अन्य केही गरौँ जस्तो हुने रहेछ । तर पनि बेला बेलामा केही सुधार भई हाल्छ कि भन्ने झिनो आशा र हामी सबै मिलेर यस्ता विकृति हटाउनु पर्छ भन्ने आशा पनि लाग्ने रहेछ तर कुरा कसले सुनिदिने ? चाकडी नगर्नेहरूको यो विषय मलाई मात्र नभएर इमानदार आम कर्मचारीलाई लाग्दछ होला ।

दोस्रो विषय जो व्यक्तिसँग नयाँ आइडिया, विषयवस्तु, समसामयिक मामिला, नयाँ नयाँ प्रविधिको ज्ञान, कुनै विषयमा विज्ञता हुँदैन ऊ व्यक्तिमा यस्तो चाकडी गर्ने कला हुँदो रहेछ । यसले सबै विषयवतुलाई गौण बनाउँदो रहेछ । कसरी हुन्छ चाकडी गर्ने । अरूलाई कसरी खुइल्याउने र आफू राम्रो बन्ने । सोझो कर्मचारी समातेर आफ्नो काम अरूलाई लगाउने । उच्च ओहोदाको व्यक्तिलाई प्रभावमा पार्न राजनीतिको धाक लगाएर हुन्छ कि, त्यसबाट नभए कोसेली तथा विविध सेवा सुविधा उपलब्ध गराएर हुन्छ । आफ्नो प्रभावमा पार्ने अनि बढुवा, राम्रो कार्यालय, कार्यालयको राम्रो शाखा फाँट के हत्याउन छ हत्याउने । काम फिटिक्कै नगर्ने अवस्था सृजना गर्ने । यसरी चाकडी गर्दा कुनै उच्च ओहोदाको कर्मचारी प्रभावमा परेन र उसको कुरा सुनेन भने प्रमुख विरुद्धमा विभिन्न आरोप प्रत्यारोप, कार्यालयको काममा अवरोध, झुण्ड निर्माण, नेता भेटघाट गर्ने अनी सरुवाको लागि केन्द्रतिर दबाब सरुवा अनि आफ्नो अनुकूलको हाकिम नभए निमित्तबाटै चलाउने वातावरण सृजना गर्ने, र कार्यालयमा काम गर्ने वातावरण बिगार्ने अवस्था पनि देखियो । जसबाट सेवाग्राहीले प्रभावकारी सेवा नपाउने समस्या सृजना हुँदो रहेछ । यसको सिको गर्दै चाकडी नगर्ने कर्मचारी पनि निजामती भित्रको यो अवस्था बिना पार लाग्न सकिँदैन भनी चाकडी तर्फ उन्मुख हुने विकृति पनि मौलाउँदो अवस्थामा रहेछ । जसको कारण आम कर्मचारीप्रति जनताको दृष्टिकोणमा परिवर्तन ल्याउन नसकेको अवस्था छ ।

चाकडीवाला कर्मचारी सकेसम्म कार्यालयमा नजाने । गई हाले पनि लामो समय नबस्न, कार्यालयमा बसे पनि काम नगर्ने, काम गरिहाले पनि मन लगाएर नगर्ने, काम गरिरहेको कर्मचारीलाई उल्टो पुरस्कार खाने गरी काम गर्नुभएको छ नि भनी हेप्न थाल्ने, सेवाग्राहीसँग खुलेर जवाफ नदिने, कार्यालयको कामको अतिरिक्त अन्य व्यवसाय पनि सञ्चालन गर्ने, आर्थिक लाभ हुने अड्डा भएमा शनिवार बिदाको दिन समेत कार्यालय जान पाए हुन्थ्यो जस्तो गर्ने, कुनै मालदार अड्डाबाट अन्य सामान्य कार्यालयमा सरुवा भएमा बिरामी भई हाल्ने उस्तै परे मेडिकल र्बोडको सिफारिस बनाइहाल्ने र तालुक निकायका कर्मचारीहरूलाई विभिन्न भनसुनबाट सरुवा सच्चाउने चाकडी वाला कर्मचारीका कारण निजामती सेवा बदनाम भएको देखियो ।

उता बिचरा चाकडी नगर्ने बाला इमानदार कर्मचारीलाई त अफिस जाँदा बाटोमा ५ मिनेट कुनै कारणले ढिला भए पनि केरकारमा परिन्छ कि भन्ने चिन्ता छ । कार्यालयको काममै फुर्सद छैन कसरी उच्च ओहोदाका व्यक्तिलाई सामाजिक सञ्जालबाट बधाई र जन्मदिनको शुभकामना दिन भ्याओस् अनि कसरी चिनोस् उसलाई उससँग भेट नै छैन । उता कतिपय चाकडी वाला कर्मचारी त विभिन्न कार्यक्रममा जबरजस्त नेता उच्च कर्मचारीसँग सेल्फी लिई ३, ४ जनाको सगोलको फोटोबाट काटकुट पारी २ जनाको मात्र निकाली दिनभर सामाजिक सञ्जालमा हार्दिक बधाई तथा शुभकामनाको फोटो पोष्टाई आम नागरिकलाई मनोवैज्ञानिक क्रासमा राख्दा दिन बिताउने पनि छन् ।

उता १० बजेदेखि ५ बजेसम्म सेवाग्राहीसँगै हुन्छ । खाली समय अध्ययनमा बिताउँदछ । नयाँ नयाँ प्रविधिको प्रयोगमा जोड दिन्छ । समसामयिक विषयवस्तुमा दखल राख्दछ । विभिन्न तालुक निकायका नयाँ नयाँ परिपत्र, कार्यविधि अध्ययन गर्दछ । तर पनि निजामती क्षेत्र भित्र उसको एउटै समस्या छ । उच्च ओहोदाको चाकडी गर्ने विधि थाहा छैन । उसले त्यो मान्यता पनि राख्दैन त्यसैले उसले कुनै तक्मा, पुरस्कार, उत्कृष्ट कर्मचारी र राम्रो जिल्लामा सरुवा पाएको छैन । त्यसैले उसले राज्यप्रति गर्ने कामकारबाही पनि सुरुका दिनको तुलनामा सुस्त हुँदै गएको देखिन्छ ।

इमानदार कर्मचारीहरू क्रमशः कार्यालयको काममा हुँदा, कार्यालयको विधि पद्धतिमा चल्दा, सेवाग्राहीसँग हुँदा, देश र जनताको सेवामा हुँदा, अध्ययन अनुसन्धानमा रहँदा, मञ्चको तल ताली लगाइरहँदा चाकडीवाला कर्मचारीहरू पार्टीको काममा हुन्छन् । उच्च ओहोदाको निर्देशनमा हुन्छन् । दलालहरूसँगै हुन्छन् । नेताको घरघरमा हुन्छन् । फेसबुक मार्फत कपिपेष्ट गरी विज्ञ कहलिँदा रहेछन् । मञ्चमा माला लगाइ रहेका हुँदा रहेछन् ।

अन्तमा देशको विकास र सम्बृद्धिको लागि नीति भन्दा नेता हाबी, विधि भन्दा व्यक्ति हाबी, सके सम्म चिल्लो घस्ने नभए मुठी कस्ने प्रवृत्ति अन्त्य नगरेसम्म र निजामती भित्रका अवसरमा सहभागितामूलक अवसरको मर्म विपरीत ढोका हुँदाहुँदै झ्याल र गाजीबाट अवसर वितरणको परिपाटी अन्त नभएसम्म र सबै तहका कर्मचारीको महत्त्वपूर्ण विज्ञतालाई नसमेटेसम्म सेवा प्रवाह प्रभावकारी नहुने, आम कर्मचारीको मनोबल कायम राख्न नसकिने र आम जनताले कर्मचारी प्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआउने देखिन्छ । त्यसैले यो सम्भव छ चाकडी भन्दा विज्ञतालाई ध्यान दिऊँ यसमा सबैको रचनात्मक सहयोग सहित परिवर्तन सम्भव छ । तर यस लेखमा सबै कर्मचारी मित्रहरूलाई दोषी देखाउन खोजिएको होइन । जो त्यस्ता छन् तिनीहरूको लागि मात्र दोष देखाइएको बुझ्न सम्पूर्णलाई अपिल गर्दछु ।

Tags :
प्रतिक्रिया दिनुहोस