डोटी दुर्घटना अपडेट : मृतक ३ को सनाखत, ३४ घाइते « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

डोटी दुर्घटना अपडेट : मृतक ३ को सनाखत, ३४ घाइते


गणेश मौनी

२८ श्रावण २०७७, बुधबार


डोटी । धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वी चौकी गाउँपालिका वडा नं. १ खिरसैन, फुलौटमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चौरपाटी गाउँपालिका–७ मार्कुका वर्ष ३० का टिकाराम वि.क., मंगलसैन नगरपालिका–७ अछामकी वर्ष ५५ की धनी शाही, बान्नीगढ जयगढ–३ अछामका वर्ष ६० का पदम बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।

घाइतेहरूको नेपाली सेना, नेपाल प्रहरी, स्थानीयको सहयोगमा उद्धार गरी जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

घाइतेहरूमा केहीको अवस्था सामान्य रहेपनी ७÷८ जनालाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गर्ने तयारी भइरहेको उपचारमा संलग्न एमडिजिपी डा. प्रमोद भट्टले बताए । उनले भने ‘४ जनाको हड्डी भाँचिएको, २ जनाको टाउकोमा चोट लागेका र १ जनाको श्वासप्रश्वासमा समस्या भएको देखिएको छ । अन्यको सामान्य देखिए पनि चेक जाँच भइरहेको छ त्यसपछि मात्र थाहा हुन्छ ।’

प्रहरीका अनुसार १२ जना गम्भीर धाईते अन्य सामान्य रहेको जनाएको छ । मृतक टिकाराम बि.क. बसका सहचालक रहेको र गोदावरी नगरपालिका २ का २६ वर्षका चालक हेमबहादुर खत्री घाइते रहेको समेत प्रहरीले जनाएको छ ।

बसमा यात्रा गर्ने सबै भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै जिल्ला प्रशासन कार्यालय कैलालीबाट मङ्गलवार ३८ जना क्षमताको बसको सिट पास जारी गरी अछामका लागि छुटेको भए पनि बसमा चालक सहित ३७ जना सवार रहेको समेत प्रहरीले जनाएको छ । बस के कति कारणले दुर्घटना भएको हो भन्ने अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस