काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
यस अवसरमा जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण कुनै पनि प्रकारको रौनक देखीएको छैन ।
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा उपत्यकाका विभिन्न मठ मन्दिर कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिर लगाएत मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष सवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ ।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस बर्ष कोरोना संक्रमण फैलन सक्ने जोखीमका कारण मन्दीर आसपास पहिलो वर्षको तुलनामा कुनै रौनक देखीएको छैन ।