धनुषामा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ८० पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषामा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ८० पुग्यो


२७ श्रावण २०७७, मंगलबार


धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

यो संगै नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत मण्डलको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड-१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहका अनुसार मृतक मण्डल क्षयरोगले पनि सिकिस्त थिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘मृतक मण्डलको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।’

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस