काठमाडौं । आज गाइजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाइजात्रा पर्व काठमाडौं उपत्यका र अन्य जिल्लमा पनि मनाइँदै छ ।
काठमाडौं, ललितपुर, भक्तपुरका साथै काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, खोटाङ, भोजपुर, इलाम, सुनसरी, मोरङ, पर्सा, कास्की, पाल्पा, दाङलगायतका जिल्लामा यो पर्व धुमधामका साथ मनाइन्छ ।
धार्मीक मान्यता अनुसार गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायमा प्रचलित गाइजात्रा पर्वको सुरुवात तत्कालीन राजा प्रताप मल्लले गरेका थिए । विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नावालक छोराको निधनले उनकी रानी शोकका कारण विक्षिप्त बनेकी थिइन् । राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल भएकी आफ्नी रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनि सान्त्वना दिन उक्त पर्वको सुरुवात गरेको ऐतिहासिक तथ्यमा उल्लेख गरिएको छ ।
राजा प्रताप मल्लले वर्षभरिमा राज्यमा मृत्यूभएका नागरीकहरुका आफन्तलाई गाईसहित दरबार अगाडीबाट रानीले देख्नेगरि जात्रा निकाल्न आह्वान गरेका थिए । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमााडौं दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्यूको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारीक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र ब्यङ्गहरु पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा विर्सिएकी थिइन् ।
अर्कोतर्फ जात्रामा आएका ब्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी ब्यत्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने शुरूवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनितिक गतिविधिका नकारात्मक पक्षहरूलाई समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो ।
त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्गात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा शुरुवात गरिएको यो ब्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनितीकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित ब्यक्तिहरुलाई लक्ष्य बनाएर विसंगती, विकृती, कूरिती र आडम्बरलाई छेड हान्ने चलनकारुपमा प्रचलित छ । जात्रा परिक्रमा गर्दा गराउँदा मल्लको तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने प्रचलन रहीआएको छ ।
कोरोना भाइरसको महामारीका कारण यस वर्षको गाईजात्रा पर्व होसियारीपूर्वक मनाउन सरकारले आग्रह गरेको छ । जात्रामा हुने भीडभाडका कारण भाइरस फैलने सक्ने भएकाले सरकारले यस वर्षको गाईजात्रा तामझामका साथ नगर्न अनुरोध गरेको छ ।