दक्षिण अफ्रिकालाई मुद्राकोषको ४ अर्ब ३० करोड डलर सहायता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दक्षिण अफ्रिकालाई मुद्राकोषको ४ अर्ब ३० करोड डलर सहायता


१३ श्रावण २०७७, मंगलबार


वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्राकोषले कोरोना भाइरस महामारीसँग जुध्न दक्षिण अफ्रिकालाई चार अर्ब ३० करोड अमेरिकी डलर वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

कोषले जारी गरेको वक्तव्यमा दक्षिण अफ्रिकाको चुनौतीपूर्ण बनेको स्वास्थ्य अवस्था र गम्भीर आर्थिक प्रभावलाई सम्बोधन गर्न आपतकालीन आर्थिक व्यवस्था(आरएफई) मार्फत उक्त सहायता दिन लागिएको उल्लेख छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिकामा सबैभन्दा बढी औद्योगिक कलकारखाना रहेका छन् । यहाँ सबैभन्दा बढी कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । सोमबारसम्ममा चार लाख ४५ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने छ हजार ७६९ जनाको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकाका अर्थमन्त्री टिटो माबोवेनीले मुलुकको अर्थतन्त्र यस वर्ष सन् २०२० मा करिब ७।२ प्रतिशतले खुम्चने पूर्वानुमान गर्नु भएको छ । दक्षिण अफ्रिकाको ९० वर्षको इतिहासमा यो सबैभन्दा बढी खुम्च्याइ हो । मन्त्री टिटोले व्यापक रुपमा बढेको सार्वजनिक ऋण अर्को चुनौतीको रुपमा देखिएको बताए ।

दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले मुद्राकोषबाट प्राप्त हुने रकम ऋण स्थिर राख्न, रोजगारी सिर्जना गर्न, कोविड–१९ सँग जुध्नुपर्ने स्वास्थ्यकर्मीलाई मद्दत गर्न तथा आर्थिक वृद्धि हुनेगरी अर्थतन्त्रलाई सुधार गर्न खर्च गरिने जनाएको छ ।

मुद्राकोषका उपव्यवस्थापक जियोफ्री ओकामोटोले दक्षिण अफ्रिकाको न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र व्यापक बन्दै गएको असमानताले मुलुकको समग्र अर्थतन्त्र गहिरो मन्दीतर्फ जान लागेको बताए ।

मुद्राकोषको आरएफआई कार्यक्रममार्फत प्राप्त हुने रकमबाट दक्षिण अफ्रिकाको भुक्तानी सन्तुलनमा मद्दत पुग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस