बसबरिया पालिकाले पनि इन्जिनियरलाई मन्त्रालय फिर्ता पठायो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बसबरिया पालिकाले पनि इन्जिनियरलाई मन्त्रालय फिर्ता पठायो


९ श्रावण २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । सर्लाहीस्थित एक गाउँ पालिकाको कार्यालयले इन्जिनियर रवीन्द्र कुमार शाहलाई मन्त्रालयमा फिर्ता पठाएको छ ।

जिल्लाको भवानीपुरस्थित बसवरिया गाउँपालिकाको कार्यालयले विभिन्न कारणहरू देखाउँदै शाहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो ।

इन्जिनियर शाहले कोरोना भाइरस महामारी संक्रमणमा अनुपस्थित रहेको, गाउँ सभा निर्णय पुस्तिकामा उल्लेख भएका विभिन्न विकास योजना सञ्चालनको सन्दर्भमा लागत इस्टिमेट योजना कार्यान्वयन सम्बन्धी विभिन्न काम गर्न गराउन तोकता गर्दा र निर्देशन दिँदा आलटाल गरी विकास निर्माणको काममा अति नै अवरोध पु¥याएको पालिकाको भनाई छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश रायद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘मिति २०७७ असार २१ गतेको बसबरिया गाउँकार्यपालिकाको माइन्ज्यूटको प्रस्ताव नं. १ को निर्णय नं. १ समेतको आधारमा मिति २०७७ असार २४ गतेदेखि तपाईँलाई श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौँमा फिर्ता पठाइएको ब्यहोरा अनुरोध छ’

केहि दिन अघि मात्रै फिक्कल गाउँपालिका, खाङसाङ, सिन्धुलीका अध्यक्ष धन बहादुर कार्कीले इन्जिनियर विष्णु प्रसाद कँडेललाई पदमा रही कामकाज गर्न अयोग्य रहेको ठहर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार : गाउपालिका अध्यक्षको पावर : इन्जिनियरलाई अयोग्य घोषणा गर्दै हाजिरै गर्न नदिई मन्त्रालय फिर्ता

यसअघि पनि दर्जनौँ स्थानीय तहले विभिन्न कारण देखाउँदै कर्मचारी फिर्ता पठाएसँगै पछिल्लो पटक फिक्कल गाउँपालिकालाई मन्त्रालयले चेतावनीसहितको पत्र पठाएको थियो ।

सम्बन्धित समाचार : स्थायी कर्मचारी फिर्ता गरी करारमा भर्ना नगर्न स्थानीय तहलाई मन्त्रालयको चेतावनी

यति बेला संघ र स्थानीय तहबिच एक खालको द्वन्द्वको अवस्था सिर्जना भएको छ । कर्मचारी खटनपटनदेखि अधिकारका विषयमा आ आफ्नै दाबीले सेवा प्रवाहलगायत विकास निर्माणका काममा ठुलो असर पुगिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस