विधेयक सर्वसम्मतिले पारित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विधेयक सर्वसम्मतिले पारित


प्रशासन संवाददाता

५ श्रावण २०७७, सोमबार


विराटनगर । ‘प्रदेशस्तरमा फर्म दर्ता नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले आज पारित गरिएको छ ।

प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सभामा पेश गरेका थिए ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम सामाजिक विकास समितिका सभापति सरिता थापाले प्रतिवेदनसहित प्रदेशको बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ का सम्बन्धमा समितिको संशोधन प्रतिवेदन सदनमा पेश गरिन्।

प्रदेशसभा नियमावली, २०७४ को नियम १०५ बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेवेले प्रतिवेदनसहित प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा समितिको संशोधन प्रतिवेदन सदनमा पेश गरिन् ।

शून्य समयमा मुलुकको समसामयिक विषयमा बोल्दै प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले राजमार्गमा सवारी यातायातका लागि सरकारले डाइभर्सनका लागि छुट्याएको बजेट कहाँ बेपत्ता हुन्छ भनेर प्रश्न गर्दै झापाको कचनकवल गाउँपालिको पाठामारीमा दुई झोलुङ्गे पुल निर्माण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

सदस्य केदार कार्कीले सरकारले प्रदेशस्तरमा खोलेको मनमोहन अधिकारी विश्व विद्यालयमा आर्थिक चलखेल भइरहेकाले त्यसतर्फ ध्यान जानुपर्ने माग गरे । सदस्य विष्णु तुम्बाहाम्फे र सदस्य राजन राईले ब्रिटिश तथा भारतमा सेना भर्ना भएर अवकाश प्राप्त नेपाली गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता सरकारले काटेकाले यसलाई सच्याउन प्रदेश सरकारसँग माग गरे । प्रदेशसभाको अर्को बैठक यही साउन ७ गते दिउँसो १ः०० बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस