कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कालीगण्डकीमा टिपर खस्दा चालक बेपत्ता


३१ असार २०७७, बुधबार


म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभिरबाट कालीगण्डकीमा खसेर मङ्गलबार साँझ टिपरसहित चालक बेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेबाट घारतर्फ जाँदै गरेको बा२ख ३४२५ नंको टिपर सडक भासिएर कालीगण्डकीमा खसेको हो ।

टिपरसहित चालक म्याग्दीको मङ्गला गाउँपालिका–५ का २६ वर्षीय ज्ञानबहादुर पुन कालीगण्डकीमा बेपत्ता भएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले बताए। साँघुरो सडकमा लोड भएको टिपरको टायरले टेकेको भाग भासिएपछि खसेको थियो । सो टिपर घारखोला जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा प्रयोग भएको थियो ।

यसैबीच म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ भिरमा सडक भासिएपछि बेनी–जोमसोम सडक फेरि अवरुद्ध भएको छ । यसअघि सडकको प्रवेशविन्दु राहुघाटमा गत शुक्रबार बाढीले बेलिब्रिज बगाएपछि सिधा यातायात बन्द भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण तथा रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।

यसैगरी गत शुक्रबारदेखि अवरुद्ध भएको सदरमुकाम बेनीदेखि म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरवाङ सडक मङ्गलबार सञ्चालनमा आएको छ । प्रशासन र प्रहरी कार्यालयको पहलमा पूर्वाधार विकास कार्यालय, सम्बन्धित स्थानीय तह र निर्माण व्यवसायीले सडकको पहिरो पन्छाएर सडक खुलाएका हुन् । बेनी नगरपालिका–४ र मङ्गला–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरो हटाउन बागलुङबाट आएको गण्डकी प्रदेश प्रहरीको विपद् व्यवस्थापन गुल्मको टोलीले काम गरेको थियो ।

धवलागिरि र मालिका गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको अध्ययन र व्यवस्थापनमा सघाउन जान लागेको टोली पहिरो पन्छाउँदै दरवाङ पुगेको छ । दरवाङदेखि ताकम, बिम र मराङ जोड्ने सडक मर्मतका लागि पनि पहल गरिएको छ । सडक, विद्युत्, सञ्चार सेवा अवरुद्ध हुँदा पहिरोपीडितलाई राहत, व्यवस्थापन र पुनर्वासको काममा अप्ठ्यारो भएको छ । पहिरोको जोखिम अध्ययनका लागि प्रहरीको विपद् व्यवस्थापन टोलीले ड्रोन क्यामेराको समेत सहयोग लिने प्रनाउ कुँवरले बताए।

पहिरो प्रभावितहरुको व्यवस्थापन, बेपत्ताको खोजी र थप क्षतिको अध्ययनका लागि प्रहरी सहायक निरीक्षक सागर रानाको नेतृत्वमा १० जनाको टोली त्यसतर्फ गएको छ । विपद् व्यवस्थापनमा खटिने नेपाल प्रहरीको सो टोलीमा विपद्सम्बन्धी तालिमप्राप्त अनुभवी जनशक्ति छन् ।

प्रतिक्रिया दिनुहोस