सलहबारे रोचक तथ्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सलहबारे रोचक तथ्य


२७ असार २०७७, शनिबार


फटयाँग्रो जस्तै देखिने सलह नेपालमा पनि विभिन्न समयमा आउने गरेको छ । आज भन्दा ६५–७० वर्ष पहिले पनि देशको विभिन्न पहाडी भागमा आएको रहेछ । त्यो समयमा मकै बाली पाकेको समय भएकोले मकैको ढोडमा बसेको र त्यस्ता सलहले मकैको पात, जेवंट, भिमल लगायतका हरिया रुखहरू शिख्रै बनाएको र मकै पाकी सकेको हुनाले मकै खेतीमा खासै क्षेती नभएको बुढापाकाहरू भन्ने गर्दछन् । अमेरिकन फौजी किरा जस्तै सलह पनि मानिसहरूको लागी शत्रु जीवको रूपमा हेरिँदो रहेछ । सलह करोडौँको सङ्ख्यामा झुन्ड झुन्डको रूपमा प्रवेश गर्दा रहेछन् । मान्छेमा लाग्ने पेलेग रोग जस्तै बालीनालीमा पनि सखापै पारेर खाने भएकोले मान्छेलाई भोकमरी कै समस्या पनि पार्ने सक्ने देखिन्छ । कहिले काहीँ खाद्य सङ्कटकै कारण मानव स्थानान्तरण समस्या पनि यसले निम्ताउने गर्दछ ।

खासगरी यसको उत्पत्ति बालीनालीमा लाग्ने किराहरूको उचित स्याहार संरक्षण नभएकै कारण भएको पाइन्छ । अन्टार्कटिका बाहेक सबै महादेशमा पाइने यो जीव अफ्रिका महादेशमा सन २००३ मा महामारीको रूपमा देखा परेको पाइन्छ । मरुभूमिमा पाइने सलहले बढी प्रकोप निम्ताएको पाइन्छ । मरुभूमिमा बढी वर्षा भएको समयमा यसको प्रजनन सङ्ख्य पनि बढी हुने देखिन्छ । वर्षाको कारणबाट सूर्यको ताप ओसिलो पन बढी रहेको अवस्थामा यसको प्रजनन अवस्थामा पनि वृद्धि रहेको पाइन्छ त्यसैले अफ्रिकन सलहको लागी यो वर्ष प्रजननको लागी उपयुक्त बर्ष मानिने छ । सलहकै कारण केही अफ्रिकी मुलुक पाकिस्तान र भारतका राजस्थान , मध्ये प्रदेश र गुजरातमा बेला बेलामा खाद्य सङ्कट उत्पन्न गराएको पाइन्छ ।

कुनै बेला अरुणा लामाले “सलह झैँ भाग्य मेरो मर्ने बाँच्ने ठेगान छैन” के ले सिउने हो के ले टाल्ने हो भन्दै गीतमा गुनगुनाएकी थिइन । सलहले निश्चित दिशा आफै पक्डेर हिंडने भन्दा हावाको बेगले यसलाई एक ठाउँबाट अर्को ठाउँमा पुराउन सक्दो रहेछ । आँधीबेहरीले यसको झुन्डहरूलाई टुकारि दिने तर न्यून चापिए बेगले यसलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न सरल सहज हुँदो रहेछ । एउटा वयस्क सलह एक दिनमा १५० कि.मि. सम्म उडन सक्ने भएकोले अफ्रिका देखि पाकिस्तान भारत हुँदै नेपालसम्म आइपुग्दा यसका केही प्रकोप केही रोचक तथ्यहरू पनि देखिएका छन् ।

केही रोचक प्रसङ्गहरू
१. नेपालमा सलह आउन सक्ने नसक्ने सम्बन्धमा नेपाल सरकारले केही कृषीबिदहरुलाई यस बारेमा अनुसन्धान गरी प्रतिवेदन दिन पठायो । कृषि विज्ञहरूले हावाको बहाव दक्षिण तर्फ बहेकोले नेपालमा सलह प्रवेश नगर्ने र यसले खासै हानी नोक्सानी नगर्ने भन्दै रिपोर्ट पेस गरयो । उसले प्रतिवेदन पेस गरेको एक साता नबित्दै सलह २ नं प्रदेश, ५ नं प्रदेश, लगायत सबै प्रदेशमा यसले आफ्नो नाच देखायो । अन्ततः कृषि विज्ञहरू आकाशमा उडेको सलहलाई कुनै यन्त्रले गनेझैँ यति लाखको सङ्ख्यामा फलानो दिशातिर लागेका छन् भन्न छाडेनन् । सरकारले लालन पालन गरेका कृषि विज्ञहरू परेको समयमा खासै समाधान गर्न नसक्ने देखिए । यसबाट नेपाल कृषि प्रधान देश भए पनि कृषि विज्ञहरूले दिने प्रतिवेदनकै आधारमा नेपालको कृषि विकासको प्रणालीमा कस्तो सुधार होला सहजै अनुमान गर्न सकिन्छ ।

२. नेपालमा सलहले आकार लिई रहेको अवस्थामा कृषि मन्त्री घनश्याम भुसालले सलह भगाउनको लागी अमेरिकामा तयार पारिएको सङ्गीत नेपालमा पनि भित्राउन कोसिस गरेछन् । अमेरिकामा पाइने सलह , अस्ट्रेलियामा पाइने सलह र अफ्रिकामा पाइने सलह फरक प्रजातिका हुन भन्ने बारेमा थाहै नपाई सङ्गीत धुनबाट सलह भगाउन खोजेको सम्बन्धमा पनि नेपालीहरूका लागी रोचकता बढ्नु स्वाभाविकै मानिँदो रहेछ । अमेरिका र अस्ट्रेलियामा पाइने सलह भन्दा मरुभूमि अर्थात् अफ्रिकामा पाइने सलह बढी हानिकारक देखिएको छ त्यसैले यिनीहरूमा पनि फरक फरक खालको आनीबानी हुने हुँदा सङ्गीतको धुन खोज्न मन्त्रीज्यू अफ्रिकातिर पुगेको भए उपयुक्त हुने थियो ।

प्युठानको प्रसङ्ग
(क) भारतबाट प्रवेश गरेको सलह प्युठानमा पनि प्रवेश गरयो । २०७७।०३।१६ गते प्युठानको सरुमारानी गाउँपालिकाको हंसपुर , ऐरावती गाउँपालिकाको दाङबङ बरौला लगायतको स्थानमा सलहले अड्डा जमायो । उक्त क्षेत्रमा मकै बालीमा फौजी किराले नाश त गरेकै थियो सलह पनि खापिँदा खाद्यसंकटको अवस्था सृजना गरेको देखिन्छ । जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले आफ्ना तीन वटा बारीमा जति धपाउँदा पनि नउडेको र दिनै भरी सलह भगाउने कार्यमा सहभागी भएको प्रसङ्ग उठाउनु भएको थियो ।

(ख). २०७७।०३। १७ गते ऐरावतीको सलहको हुल प्युठान नगरपालिकामा प्रवेश गरयो । नगर पालिका १,२,४ को बिचमा रहेको झिमरुक फाँट र बस्तीहरूका आम नागरिकहरू सलह प्रवेश प्रबेशगरेसंगै घरबाट बाहिर निस्किए । कसैले हातमा थाल , कसैले स्तिलको बाँटा लाठीले ठोक्दै हाहा गरिरहेका थिए । एक जना सानो बाबुले लट्ठीले थाल ठटाउँदै झाँक्री नाचे झैँ खुट्टा उचाल्दै नाच्दै थिए । कसैले घरको टिनको छानोमा लाठीले ठोक्दै हाहा भन्दै थिए ।

(ग) वडा नं २ कै टरपेनटाइनको खोटो सङ्कलन नजिकै खाटो संकंलन गर्ने रित्ता टिनका बट्टाहरू थिए । त्यहाँ पुगेका धेरै जसोले तिनै टिन समात्दै टिन ठोक्दै झिमरुक फाँटतिर हाहा गर्दै दौडिएको दृश्य पनि कम रोचक थिएन ।

(घ) मल्ल रानी गाउँपालिका ५ कि महिला भन्दै हुनुहुन्थ्यो हामी त आमा छोरी थियौ । मकैमा सलह बसिहाल्यो । लामो रसीलाई दुबैजनाले एक एक टुप्पा समात्यौ । मकैको टुप्पामाबाट छल्ने गरी रस्सी लतार्दै जाँदा सलह सबै उडेर गए कुनै नोक्सान हुन सकेन भन्दै हुनुहुन्थ्यो ।
(

ङ) गौमुखी गाउँपालिकाको रजवारामा गाउँका सबै मानिस पञ्चे बाजा सहित राँके जुलुस निकालेर सलह भगाएको प्रसङ्ग पनि कम रोचक देखिएन ।

(च) नौ बाहिनी गाउँपालिकाको खवाङमा २०७७।०३।१८ गते सलहको झुण्ड पुगेछ । सबैले हातमा लाठी थाल टिन बजाउँदै बारीमा आगो बाल्दै हिँडेछन् । जिल्ला समन्वय समिति प्युठानकी सदस्य सुमित्रा बि.क. भन्दै हुनुहुन्थ्यो “मेरो ९।१० वर्षको बाबुले हँसिया र थाल लिएर बारी तिर दौडिएछन् । हँसियाको चुच्चोले थाल ठटाउँदा दुइटा थाल नै दुलो पारेछन्” ।

(छ) झमरुक गाउँ पालिकामा सलह भगाउन आगो बाल्दै जाँदा बच्चाहरूले गोठमा नै आगो सल्काउन पुगेछन । मकैको नोक्सानी भन्दा गोठ जल्न पुगेको क्षति भारी पर्न गएको गुनासो ती घरधनी महिला गर्दै हुनुहुन्थ्यो ।

(ज) पत्रकार विमल पोखरेलहरूको एउटा टिमले जिउँदो सलह पलाष्किमा राखेर ल्याई प्युठान नगरपालिका जुम्रीमा रोष्ट बनाएर खाँदै गरेको युट्युब मार्फत लाइभ देखाएका थिए त्यो दृश्य पनि कम रोमाञ्चक थिएन ।

नेपालमा सलह फेरी पनि आउन सक्ने आँकलन गरिएको छ । प्युठानकै खवाङ स्याउलीवाङ पुगेको सलह रातभर कुनै हानी हानी नोक्सानी नपुराई गएको देखिन्छ भने १५ डिग्री सेल्सियस भन्दा कम तापक्रममा बाँच्न नसक्ने पनि देखियो । भारतको राज स्थान , गुजरात हुँदै नेपाल प्रवेश गरेको सलह विभिन्न झुन्ड बनाई हिमाली क्षेत्रसम्म पुग्नु र त्यस्तो सलह फेरी फर्केर आउन नसक्नुले पनि उनीहरू चिसो स्थानमा रहन नसक्ने प्रमाणित देखिन्छ ।

प्युठान दाङ अर्घाखाँची जस्ता जिल्लाहरूमा यसले क्षति पुराएको पाइन्छ । प्युठानमा मात्रै झन्डै ४३४ हेक्टर जमिनमा लगाइएको वाली नालीमा क्षति गरेको पाइन्छ । यसरी सौर्य तापक्रममा प्रत्येक १० वर्षमा हुने फेर बदलले पनि सलह फेरी पनि नेपाल प्रवेश गर्न सक्ने प्रबल सम्भावना छ । नेपालले प्रकोप जोखिम मध्ये बाढी पहिरो , डुबान, भूकम्प जस्तै शत्रु जीवको सम्बन्धमा पनि बेलैमा कार्य योजना बनाउने र भावी दिनमा यसबाट बञ्च्न सक्ने सम्भावनाहरूको सम्बन्धमा पनि आवश्यक व्यवस्थापन गर्न जरुरी देखिएको छ । राजनीतिक किचलोले मात्र जनताको समृद्धि हुन सक्दैन बेलैमा प्रकोप व्यवस्थापनको बारेमा पनि सोच्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस