ब्राजिलका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण, भने -‘डराउनुपर्ने कुनै कारण छैन,जीवन यसरी नै चल्छ’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्राजिलका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण, भने -‘डराउनुपर्ने कुनै कारण छैन,जीवन यसरी नै चल्छ’


२४ असार २०७७, बुधबार


ब्रासिलिया । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस(कोभिड-१९) बाट सङ्क्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मङ्गलवार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको बताएका हुन् ।

उनले सोमबार उच्च ज्वरो आएपछि कोरोना भाइरसको परीक्षण गराएका थिए । मङ्गलवार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । आफूलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’

राष्ट्रपति बोलसोनारोले यसअघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका छन् । कोरोना महामारीलाई पटक–पटक सामान्य रूपमा मात्रै लिएको अभिव्यक्ति दिइरहेका उनले कोरोना भाइरसको सङ्क्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिएका थिए ।

सामाजिक दुरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि उनले पटक–पटक मजाकमा उडाएका छन् । कोरोना सङ्क्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । र, पनि उनले यसलाई सामान्य रूपमा लिन आग्रह गरिरहेका छन् ।

आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्था एकदम ठिक भएको बताए । मास्क फुकालेर पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘मेरो अनुहारमा हेर्नुहोस् । म एकदमै ठिक छु । भगवानलाई धन्यवाद । मेरो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद । मेरो आलोचना गर्नेलाई पनि धन्यवाद, मलाई केही आपत्ति छैन । तपाईँले चाहे जति आलोचना गर्नुहोस् ।’

ब्राजिलमा मङ्गलवार बेलुकासम्म १६ लाख २३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ब्राजिलमा १० लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस