प्रहरी महानिरीक्षकमा शैलेश थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी महानिरीक्षकमा शैलेश थापा


२३ असार २०७७, मंगलबार


काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो ।

नवनियुक्त महानिरीक्षक थापा हाल प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा कार्यरत छन् । बढुवासँगै थापा नेपाल प्रहरीको २८ औं महानिरीक्षक बनेका छन् । थापा २०७६ चैत ९ गते नायब महानिरीक्षक (डीआईजी)बाट एआईजीमा बढुवा भएका थिए । ३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले बिहीबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा थापालाई बढुवा गरिएको हो ।

नवनियुक्त आईजीपी थापा सरकारले ३० वर्षे सेवाअवधि यथावत राखे २०७९ वैशाख १९ गतेसम्म सेवामा रहने छन् । थापाले २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ५२ वर्षीय थापा प्रहरीभित्र व्यावसायिक अधिकृतका रुपमा चिनिन्छन् । थापाका एक समकक्षीका अनुसार फिल्ड कमाण्डमा भने उनी कमजोर अधिकृतका रुपमा चिनिन्छन् ।

प्रहरी निरीक्षकमा नाम निकाल्दा पनि पहिलो नम्बरमा रहेका थापाले पहिलो नम्बरमै रहेर सेवाबाट अवकाश पाउने छन्। उनी आफ्नै ब्याची र प्रतिस्पर्धीमाझ पनि लोकप्रिय थिए। व्यावसायिक छवि र विवादरहित ट्रयाक रेकर्डका कारण उनले पहिलैदेखि सङ्गठनको भावी नेतृत्वको दाबेदारका रूपमा हेरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस