सुरक्षित जीवनका लागि जैविक विविधता संरक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुरक्षित जीवनका लागि जैविक विविधता संरक्षण


२२ असार २०७७, सोमबार


विश्व महामारीको रूपमा फैलिएको कोभिड १९ बाट ठुलो क्षति भइरहेको छ । प्रकृतिमा भएका सबै जीव जीवात्माहरूको आ आफ्नो भूमिका एवं अस्तित्व त हुन्छ नै । यी सबै स्रोत साधनहरूको सदुपयोग, संरक्षण तथा व्यवस्थापनका माध्यमबाट पारिस्थितिक प्रणालीहरू सुचारु राख्ने जिम्मेवारी मानव जातिको काँधमा छ । जैविक विविधता कुनै पनि स्थानको मौलिकताको प्रतीक पनि हो । तर कोरोना भाइरस जस्ता जीव जीवाणुहरूको विश्वव्यापी फैलावटले जैविक विविधता, वातावरणीय स्वच्छता र मानवीय सुरक्षामा चुनौती थपिरहेको छ । विकास, विलासिता र उपयोगका नाममा गरिने प्रकृतिमाथिको प्रहारले सिर्जना हुने विभिन्न महामारी तथा प्रकोपहरूको कारण मानव जीवन नै असुरक्षित बन्दै जान थालेको छ । प्राकृतिक सन्तुलन कायम गर्नको लागि जैविक विविधता संरक्षण गर्नु अपरिहार्य छ ।

वातावरणको संरक्षण, यसले जैविक विविधतामा पारेका प्रभाव र सुरक्षित जीवन एक अर्कामा सम्बन्धित विषयहरू हुन् । यी विषयहरूलाई अलग्याउँदा कुनै पनि पक्षको अस्तित्व सुरक्षित रहन सक्तैन । कोरोना जस्ता महामारीहरू फैलिनुमा वातावरणीय असन्तुलनको भूमिका रहेको हुन्छ । मानव जीवनको सुरक्षाको लागि जैविक विविधताको संरक्षण र जैविक विविधताको सुरक्षाबाट मानव लगायत समग्र जीव जीवात्माहरूको सुरक्षा हुन सक्छ ।

वातावरण संरक्षण र जैविक विविधता एक अर्कामा अन्योन्याश्रित विषय हुन् । जैविक विविधताको उचित संरक्षण भएन भने वातावरण संरक्षण आधार हीन बन्न पुग्छ । फेरि वातावरण तथा जैविक विविधता बहु आयामिक विषय पनि हुन् । जसको सुरक्षा विना जीवन सुरक्षित हुँदैन । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय पृथ्वी सम्मेलनबाट पारित जैविक विविधता महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ । जैविक विविधता महासन्धिले जैविक विविधताको संरक्षण, त्यसको दिगो उपयोग र त्यसको उपयोगबाट प्राप्त हुने लाभको न्यायोचित वितरण गर्ने तीन वटा उद्देश्य राखेको छ ।

वन, वातावरण तथा जैविक विविधताको संरक्षण र विभिन्न प्राकृतिक स्रोत साधनको उपयोगसँग जहिले पनि टकराब भइरहेको देखिन्छ । विकासलाई के कसरी दिगो बनाउन सकिन्छ भन्ने सन्दर्भमा नै दिगो विकासको अवधारणा आएको हो । दिगो विकास लक्ष्यले समग्र मानव जाति र सबै प्राणीहरूको लागि आवश्यक स्रोत साधनको सन्तुलित वितरण गर्दै जैविक चक्रलाई सुचारु राख्नको लागि जनता, पृथ्वी, समृद्धि, शान्ति र साझेदारी प्राथमिक रणनीति राखेको छ । पृथ्वीले वहन गर्न सक्ने खालको विकास र प्राकृतिक प्रणालीहरूले थेग्न सक्ने गरी मात्र स्रोत साधनहरूको उपयोग गर्ने हो भने वातावरणीय ह्रास आउँदैन ।

जैविक विविधता जीवनको आधार हो । जैविक विविधता भन्नाले पृथ्वीको विभिन्न हावापानी, धरातल, जलाशय, वनजंगल, खेतबारी र माटोमा पाइने समग्र जीवित प्राणी, वनस्पति, सूक्ष्म जीवाणु एवं तिनका जात, प्रकार, वंश र तिनीहरूबिचको भिन्नता र जीवहरूको आपसी सम्बन्ध बुझिन्छ । कुनै पनि स्थानको जैविक विविधताले सो स्थानको भूगोल, हावापानी, जीवजन्तु, पर्यावरण, आर्थिक सामाजिक, धार्मिक, सांस्कृतिक रहनसहन, परम्परा चालचलन, बोलीचाली, भेषभूषा र अन्तरसम्बन्ध सबैलाई प्रतिविम्वित गर्दछ । जैविक विविधताको पहिचान, संरक्षण, उपयोग र प्रवर्द्धन गर्नु आफैमा महत्त्वपूर्ण छ । हरेक आवश्यकताहरूसँग जैविक विविधता अन्तर सम्बन्धित हुन्छ ।

संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने तथा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने उल्लेख छ । धारा ५१ (छ) को प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोग सम्बन्धी नीतिमा जनसाधारणमा वातावरणीय स्वच्छता सम्बन्धी चेतना बढाई औद्योगिक एवं भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने जस्ता विषयहरू समावेश भएका छन् ।

संविधानको अनुसूची–७ (संघ र प्रदेशको साझा अधिकारको सूची) मा वातावरण संरक्षण, जैविक विविधता, अनुसूची–८(स्थानीय तहको अधिकारको सूची) मा वातावरण संरक्षण र जैविक विविधता विषय छन् भने अनुसूची–९ (संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची) मा वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता विषयहरू रहेका छन् । वन नीति २०७५ मा उपलब्ध वन वनस्पति तथा जैविक विविधताको पूर्ण क्षमतामा सदुपयोग गर्न नसक्नु प्रमुख चुनौती उल्लेख गरिएको छ ।

वातावरणप्रति संवेदनशील हुन सकिएन भने हाम्रो भविष्य सुरक्षित रहिरहन सक्तैन । कोभिड १९ जस्ता महामारीहरू वातावरणमा नै सिर्जना हुन्छन् । प्राकृतिक स्रोत साधनको उपयोगमा विवेक अपनाइएन भने जैविक विविधताको संरक्षण गर्न कठिन हुन्छ र समग्र वातावरणीय सन्तुलन कायम गर्न सकिँदैन । विकसित प्रविधि, उद्योग, कलकारखानाको वृद्धि, बढ्दो जनसंख्या तथा अव्यवस्थित सहरीकरणका कारण वातावरणमा असरहरू देखा परिरहेका छन् । वातावरणको हित विपरितका क्रियाकलापहरूबाट रोग तथा महामारीको जोखिम बढिरहेको हुन्छ । ब्राजिलको अमेजन जङ्गलमा लागेको डढेलो तथा अष्टेलियाको जङ्गलमा लागेको डढेलोले जैविक विविधतामा ठुलो क्षति पुरायो । प्रकृतिका हरेक जीव जन्तुहरूको समान अस्तित्व रहेको हुन्छ । कुनै एक जीवको अस्तित्व मानवभन्दा कम आँक्न सकिँदैन । पारिस्थितिकीय सन्तुलनको लागि सबै जीव, वनस्पतिहरूको भूमिका रहेको हुन्छ ।

स्वच्छ तथा स्वस्थ वातावरण नै समृद्ध जीवनको मूल आधार हो । भौतिक विकास र वातावरण संरक्षण बिचको अन्योन्याश्रित सम्बन्ध कायम गर्न सकियो भने मात्र नै दिगो विकास सम्भव हुन्छ । वातावरण स्वस्थ भएन भने मानव मात्र होइन कि सारा पारिस्थितिक प्रणालीहरूमा असन्तुलन पैदा हुन जान्छ । पृथ्वीको अस्तित्व जीव जीवात्माहरूसँग जोडिएको छ । यसको लागि हाम्रो पर्यावरण सुरक्षित हुनु जरुरी हुन्छ ।
वातावरण प्रदूषणको कारण वातावरणीय असन्तुलनहरू पैदा भइरहेका छन् । फोहरमैला, रसायन, ताप, ध्वनि, विद्युत्, विद्युत् चुम्बकीय तरङ्ग वा रेडियोधर्मी विकिरणका कारण वातावरणमा हानि पुर्‍याउने खालका कार्यहरूबाट वातावरण प्रदूषण बढिरहेको छ । वन विनाश, वासस्थान अतिक्रमण, डढेलो, भू–क्षय, बाढी, पहिरो, अम्लीय वर्षा जस्ता कारणहरूले प्राकृतिक वातावरणमा असन्तुलन आउने गर्दछ । यस्ता क्रियाकलापहरू नियन्त्रण गर्नको लागि सबैले साथ समर्थन र समन्वयको जरुरत पर्दछ ।

जैविक विविधता हाम्रो जीवनको अभिन्न अङ्ग हो । सुरक्षित जैविक विविधता वातावरण सन्तुलनको आधारस्तम्भ हो । भौगोलिक बनावट, हावापानी, वासस्थान, जनसङ्ख्या, खेती प्रणाली, परम्परा, रहनसहनमा जैविक विविधतामा निर्भर रहन्छ । कुनै पनि पक्ष असन्तुलित हुन पुग्यो भने जैविक विविधतामा असर पर्दछ । विश्व अर्थव्यवस्थाको ४० प्रतिशत र न्यून आय भएका मानिसहरूको करिब ८०% आवश्यकताहरू जैविक विविधताको क्षेत्रबाट पूरा हुन्छन् । जैविक स्रोतहरूको उपयोग र दिगो संरक्षण गर्न ध्यान केन्द्रित गर्नुपर्दछ । जैविक विविधताको संरक्षणबाट कृषि तथा पशुजन्य उत्पादन, आर्थिक तथा सामाजिक विकास, पर्यटन विकास र वातावरणीय सन्तुलनमा सहयोग पुग्दछ । जैविक विविधतामा आघात पुर्‍याउने खालका क्रियाकलाप नहोउन् भन्नेमा सजग हुनुपर्दछ ।

जैविक विविधता अपार स्रोत हो जसको सदुपयोग र दिगो संरक्षण हुनु अपरिहार्य छ । मानिसका आधारभूत आवश्यकता पूर्तिको लागि र सम्पूर्ण जीवहरूको अस्तित्व जोगाइरहन जैविक विविधता संरक्षण हुनु जरुरी छ । नेपालमा वातावरणसँग सम्बन्धित मुद्दाहरूसँग जुध्न तथा स्वस्थ एवं स्वच्छ वातावरणको हकको कार्यान्वयन गर्न गराउनको लागि सङ्घ, प्रदेश तथा स्थानीय गरी तीनै तहका सरकारहरूको समन्वय, सहकार्य एवं सहजीकरण हुनु जरुरी छ ।

स्वच्छ र स्वस्थ पर्यावरण समग्र मानवको आधारभूत जीवन र पारिस्थितिक प्रणालीको अस्तित्वका लागि महत्त्वपूर्ण छ । वातावरण स्वस्थ भयो भने मात्र प्राकृतिक सन्तुलन कायम राख्न सकिन्छ । तब मात्र हाम्रो भविष्य सुरक्षित बन्न सक्छ । यसका अलावा कोरोना महामारीले दिलाएको सन्देशअनुरुप मानिस मानिसबिच भौतिक दुरी कायम राख्ने मात्र होइन कि मानिसबाट प्रकृतिमाथि हुने दोहनको दुरी पनि राख्नु उत्तिकै जरुरी छ ।

वैज्ञानिक अधिकृत, वनस्पति विभाग
[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस