नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान र यसको आप्रवाहमा कोभिड–१९ को प्रभाव « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान र यसको आप्रवाहमा कोभिड–१९ को प्रभाव


२१ असार २०७७, आइतबार


पृष्ठभूमि
नेपालको संविधानले वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशको उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीति अङ्गीकार गरेको छ । श्रम आप्रवाहवाट मौद्रिक विप्रेषण मात्र नभई सामाजिक पुँजीको रूपमा सीप, प्रविधि र अनुभवलाई आर्थिक सामाजिक विकासमा उपयोग गर्ने गरी वैदेशिक रोजगार नीति कार्यान्वयनमा आएको छ । विप्रेषण आयलाई बचत गरी पुँजी निर्माण गर्न, रोजगारी सिर्जना गर्न, उत्पादन र उत्पादकत्व बढाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान दिने गरी उपयोग गर्न सकिन्छ । नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख थप जनशक्ति श्रम बजारमा प्रवेश गर्दछन् । एकातर्फ आन्तरिक श्रम बजारको प्रशोधन क्षमता न्यून हुँदा अतिरिक्त श्रमशक्ति वैदेशिक रोजगारीमा जाने गरेका छन् । दैनिक करिब १ हजार युवा विदेशिने गरेको र विप्रेषण आय कुल ग्राहस्थ उत्पादन अनुपातमा २९.९ प्रतिशत रहेको छ । सन् १९८० को दशकदेखि लागु भएको आर्थिक उदारीकरण तथा विश्वव्यापीकरणले वैदेशिक रोजगारीलाई थप सहज बनाएको छ । विश्वका विभिन्न मुलुकमा रहेका आकर्षण तथा विकर्षण तत्त्वहरूले विश्व श्रम बजारलाई गतिशीलता प्रदान गरेको छ । रोजगारीका अवसर तथा तलब भत्ता एवम् सेवा सुविधामा भिन्नता हुने भएकाले श्रमिकहरू कम अवसर तथा सेवा सुविधा हुने मुलुकहरुबाट कामको पर्याप्त अवसर भएका र तलब सुविधा राम्रो भएका मुलुकहरूमा जाने गर्दछन् । जसलाई अर्थशास्त्रीको भाषामा स्थानगत प्रिमियम समेत भन्ने गरिन्छ । विश्वमा आर्थिक उदारीकरण पश्चात् यो प्रवृत्ति बढेर गएको हो । हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० मुलुकमा जान खुल्ला गरेको छ भने व्यक्तिगत तर्फ १७२ देश खुल्ला गरिएको छ । तर कतार युएई, जापान, कोरिया, बहराइन, इजरायल, जोर्डन र मलेसिया गरी जम्मा ८ देशसँग मात्र द्विपक्षीय सम्झौता एवं साझेदारी गरिएको छ ।

नेपालीहरू विदेशमा गएर काम गर्ने प्रचलन सुरुका दिनहरूमा बेलायत, भारत, बर्मा, भुटान, तिब्बत जस्ता देशहरूमा गई सेनामा भर्ती हुने तथा व्यापार गर्न जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको इतिहास जति नै पुरानो भए पनि वि.स २०४२ सालमा वैदेशिक रोजगार ऐन बने पश्चात् कानुनी संयन्त्र निर्माण गरी वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन थालियो । बढ्दो बेरोजगारीको कारण सीमित रोजगारीका अवसरहरूले मात्रै धान्न सक्ने अवस्था नहुँदा रोजगारीको महत्त्वलाई आत्मसात् गरी आठौँ योजना २०४९–५४ देखि रोजगारीका लागि गन्तव्य मुलुकहरूको खोजी गर्ने प्रक्रियालाई अगाडी बढाइयो । वैदेशिक रोजगारीको एक प्रत्यक्ष प्रतिफल भनेको विप्रेषण आय नै हो । जसको प्रभाव स्वरूप नेपालमा सन् १९९५/९६ मा ४२ प्रतिशत गरिबी रहेको अवस्थामा हाल सन् २०१८/०१९ सम्म आइपुग्दा उक्त गरिबीको रेखामुनि रहेको जनसङ्ख्या घटेर १८.७ प्रतिशतमा आउनुको पछाडि वैदेशिक रोजारीवाट प्राप्त विप्रेषणको महत्त्वपूर्ण योगदान छ । विदेशमा रहेका नेपालीहरूले आर्जन गरेको वैदेशिक मुद्रालाई विप्रेषण भनी परिभाषित गरिएको हुँदा प्रस्तुत लेखमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण र कुल गृहस्थ उत्पादनसँग तुलना, विश्वमा धरै विप्रेषण प्राप्त गर्ने १० प्रमुख राष्ट्रहरूको विवरण, वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरूको विवरण ,अर्थतन्त्रमा विप्रेषण आयका सकारात्मक तथा नकरामक पक्ष र विश्वव्यापी महामारी कोभिड १९ ले नेपालको विप्रेषण आप्रवाहमा पार्ने प्रभावलाई विभिन्न निकायले प्रकाशन गरेका तथ्याङ्कहरूलाई आधार लिई तालिका तथा सैद्धान्तिक रूपमा विश्लेषण गरी प्रस्तुत गरिएको छ ।

१.नेपालको अर्थतन्त्रमा विप्रेषण आयको योगदान
विश्वव्यापी रूपमा सुरु भएको आर्थिक उदारीकरणको प्रभाव स्वरूप नेपाली युवाहरू रोजगारीको सिलसिलामा विभिन्न मुलुकहरूमा जाने क्रम वृद्धि भएको पाइन्छ । विगत दुई दशक देखि सुरु भएको वैदेशिक रोजगारीको सिलसिला हालसम्म पनि जारी छ । लामो समयसम्म देशमा सशस्त्र द्वन्द्वको प्रभावले गर्दा राजनीतिक अस्थिरता भई देश भित्र रोजगारीका अवसर सिर्जना नहुनु, स्वदेशमा उद्योग कलकारखानाको विकास नहुनु, श्रमको सम्मान गर्ने संस्कृतिको विकास नहुनु, स्वदेशमा न्यून पारिश्रमिक हुनु तथा युवामा छिट्टै धनी हुनुपर्दछ भन्ने महत्त्वाकाङ्क्षी सोचाइले गर्दा वैदेशिक रोजगारीमा आकर्षण थपिएको छ । परम्परागत रूपमा नेपाली युवाहरू भारत तथा खाडी मूलकहरूमा जाने गरेकोमा हाल रोजगारीको सिलसिलामा विश्वका विकसित देशहरूमा समेत जाने गरेका पाइन्छ ।

करिब ३१ खर्व कुल ग्राहस्थ उत्पादन भएको हाम्रो देश नेपालमा वैदेशिक रोजगारीले गर्दा ठुलो परिमाणमा विप्रेषण भित्राउन सहयोग पुगेको छ । हालका वर्षहरूमा नेपालमा विप्रेषण आयको आकारमा वृद्धि भएको देखिन्छ । सन् २०१०/११ मा २.५४ खर्व अमेरिकी डलर रहेको विप्रेषण सन् २०१८/२०१९ सम्म आई पुग्दा ८.७९ खर्व पुगेको छ । विप्रेषण आप्रवाह निरन्तर बढ्नुमा विदेशमा रहेका नेपाली श्रमिकहरूको सङ्ख्या उल्लेखिय रूपमा बढ्नु, नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा कमजोर हुँदै जानु तथा अनौपचारिक माध्यमबाट विप्रेषण पठाउने कार्यलाई नियन्त्रण गरिँदै जानु, रोजगारीमा गएका मुलुकहरूको आर्थिक अवस्था र राजनीति तथा रोजगारी सम्बन्धी नीतिमा परिवर्तन हुँदा नेपालमा आउने विप्रेषण रकममा समेत घटबढ हुने गरेको छ ।

सन् २०१९ मा प्रकाशित विश्व बैङ्कको तथ्याङ्क अनुसार विश्वमा विप्रेषण प्राप्त गर्ने प्रमुख मुलुकहरू अमेरिकी डलरमा क्रमशः भारत (७०.३० अर्व), मेक्सिको (३८.७ अर्व), फिलिपिन्स (३५.१ अर्व) इजिप्ट (२६.४ अर्व) विप्रेषण प्राप्त गरेको देखिन्छ । कुल ग्राहस्थ उत्पादनसँगको तुलनामा विप्रेषण बढी प्राप्त गर्ने राष्ट्रहरू अमेरिकी डलरमा क्रमशः टोङगा (३८.५ प्रतिशत), हेईटी (३४.३ प्रतिशत), नेपाल (२९.९ प्रतिशत), ताजिकास्तान (२९.७ प्रतिशत) रहेको छ । यस सम्बन्धी विवरण तलको तालिकामा उल्लेख गरिएको छ ।

माथि उल्लेखित विश्व बैङ्कको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपाल विश्वमानै ठुलो मात्रामा विप्रेषण आय प्राप्त गर्ने मुलुकहरू मध्येमा पर्ने गरेको देखिन्छ । ठुलो सङ्ख्यामा नेपालीहरू विदेशमा रोजगारीको लागि गएको कारण तिनका परिवार विप्रेषणमा आश्रित हुनु परेको छ । कुल ग्राहस्थ उत्पादनको तुलनामा २९.९ प्रतिशत योगदान रहने विप्रेषण आयले नेपालको अर्थतन्त्रमा करिब एक चौथाइ हिस्सा ओगटेको छ । अन्तर्राष्ट्रिय दातृ निकाय तथा मित्र राष्ट्रहरूले प्रदान गर्ने विकास अनुदान तथा वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले आजको अवस्थामा विप्रेषण आय विदेशी विनिमय सञ्चितीको प्रमुख आधारको रूपमा रहेको छ ।

१.१ नेपालमा विप्रेषण आयको स्थिति
आर्थिक वर्ष २०६५/०६६ मा रु. २०९ अर्व विप्रेषण आप्रवाह रहेकोमा सोमा उल्लेखिय वृद्धि भई आर्थिक वर्ष २०७५/२०७६ सम्म आइपुग्दा रु.८७९ अर्व पुग्न गएको छ । विगतका वर्षहरूमा विप्रेषणको आप्रवाह उल्लेखिय वृद्धि भएको भएपनि हालका वर्षहरूमा सोे वृद्धिमा कमी आएको छ । आर्थिक वर्ष २०७०/०७१ मा सर्वाधिक २५ प्रतिशतले वृद्धि भएको विप्रेषण त्यस पछिका वर्षहरूमा क्रमशः आर्थिक वर्ष २०७१/२०७२ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा ७.७ प्रतिशत, आर्थिक वर्ष २०७३/०७४ मा ४.७ प्रतिशत, आर्थिक वर्ष २०७४/०७५ सम्ममा ८.६ प्रतिशतले न्यून वृद्धि भएकोमा आर्थिक वर्ष २०७५/०७६ मा भने सोमा सुधार भई १६.५ प्रतिशतले बढ्न गएको देखिन्छ । सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको विश्वव्यापी प्रभाव नेपालमा आर्थिक वर्ष २०७६/२०७७ को मध्य वाटै देखिन थाल्यो फलस्वरूप आर्थिक वर्ष २०७६/०७७ को फाल्गुणसम्म १.८ प्रतिशत मात्रै वृद्धि भई रु.५ खर्व ९२ अर्व ४२ करोड मात्रै आप्रवाह भएको देखिन्छ । गत आर्थिक वर्ष २०७५/०७६ को सोही अवधिमा ५ खर्व ८२ अर्व १९ करोड विप्रेषण प्राप्त भएको थियो । विश्वव्यापी महामारीको प्रभावले गर्दा नेपाल भित्रिने विप्रेषणमा उल्लेखिय गिरावट आएको छ ।

नेपाल जीवनस्तर सर्वेक्षण सन् २०११ अनुसार तराईमा प्रत्येक ३ परिवारमा २ परिवारले विप्रेषण प्राप्त गर्ने र हिमाल तथा पहाडमा २ परिवारमा १ परिवारले विप्रेषण प्राप्त गर्ने गरेको देखाएको थियो । त्यस्तै तेस्रो घरपरिवार सर्वेक्षण अनुसार वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण मुलुकको ५५.८ घरधुरीमा पुग्ने गरेको र मुलुकभर करिब ३१ लाख घरपरिवारले प्रति परिवार औषत ८० हजार ४ सय रुपैयाँका दरले विप्रेषण प्राप्त गर्ने गरेको अध्ययनबाट देखिन्छ । जसले गर्दा सन् १९९५/९६ मा ४२ प्रतिशत गरिबी रहेकोमा सन् २०१८/०१९ सम्म आइपुग्दा उक्त गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशतमा झार्नुका साथै देशको अर्थतन्त्रको आकारमा वृद्धिसँगै आर्थिक वर्ष २०७५/०७६ सम्ममा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ४७ अमेरिकी डलर पुग्नुमा विप्रेषण आयको योगदान उल्लेख्य रहेको प्राप्त तथ्याङ्कले देखाउँदछ । विप्रेषणले देशको समग्र पक्षलाई सकारात्मक योगदान पु¥याएको कुरा बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।

१.२ विप्रेषण आयका सकारात्मक पक्षहरू

  •  विकास अनुदान तथा प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा विप्रेषण आप्रवाह अधिक भएकाले नेपालको विदेशी विनिमय सञ्चितिको प्रमुख आधार रहेको,
  •  नेपालमा अत्यधिक मात्रामा रहेको गरिब घरपरिवारको जीवनस्तरमा सुधार ल्याउन उल्लेख्य भूमिका रहेको,
  •  ठुलो सङ्ख्यामा श्रमवजारमा प्रवेश गर्ने बेरोजगार युवाहरूलाई विप्रेषणको माध्यवाट थप नयाँ रोजगारी सिर्जना गर्न सहयोग पुगेको ,
  •  विप्रेषण आयले आधारभूत आवश्यकता परिपूर्ति गरी बाँकी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पुँजीको आवश्यकतालाई पूर्ति गर्ने गरेको,
  •  वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको प्रभावले गर्दा गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सुविधाको उपयोगका साथै नेपालीहरूको क्रय क्षमतामा वृद्धि भएको,
  •  बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन र निजी क्षेत्रको कर्जा प्रवाहमा विप्रेषणले महत्त्वपूर्ण योगदान पुर्‍याएको ,
  •  विभिन्न वैदेशिक रोजगार बचतपत्र, शेयर तथा ऋणपत्रमा लगानी गरी पुँजी परिचालन गर्न सहयोग पुगेको ,
  •  बढ्दो व्यापार घाटाका कारण चालु खाता ऋणात्मक रहेको हालको अवस्थामा बाह्य वित्तको महत्त्वपूर्ण स्रोत विप्रेषणले शोधानान्तर स्थिति र विनिमय सञ्चितिमा सकारात्मक योगदान पुर्‍याएको ,
  •  विप्रेषणले नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलन कायम गर्न मात्र नभई शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा उल्लेखिय योगदान पुर्‍याएको ,
  •  वैदेशिक रोजगारीको कारण अन्तर्राष्ट्रिय समुदायसँग श्रम कूटनीतिको माध्यमबाट देशको आर्थिक विकासमा वैदेशिक सहयोग परिचालनमा सहयोग पुगेको,
  •  विश्वभर नेपालीहरू रोजगारीको सिलसिलामा पुग्ने हुँदा नेपालको कला संस्कृति र प्रमुख पर्यटकीय स्थलहरूको प्रचार –प्रसारसँगै पर्यटन क्षेत्रको विकासमा टेवा पुगेको ,
  •  वैदेशिक रोजगारीमा गएका नेपालीहरूले विभिन्न सङ्घ सङ्गठनमा आवद्घता जनाई देश विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई आर्थिक सहयोग गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरी नेपाली कलाकार देश विदेश घुम्ने तथा प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने गरेको,

१.३ विप्रेषण आयका नकारात्मक पक्षहरू
विप्रेषणका उपरोक्त मौद्रिक तथा गैर मौद्रिक फाइदाहरू हुँदाहुँदै पनि वैदेशिक रोजगारीका नकारात्मक पक्षलाई नजर अन्दाज गर्न सकिँदैन । ऊर्जाशील युवा शक्ति रोजगारीको खोजीमा विदेश तिर भौतारिदा हाम्रो देशको आर्थिक तथा सामाजिक संरचनामै खलल पुगेको छ । विप्रेषणले नेपालको अर्थतन्त्रमा पु¥याएको नकारात्मक असरलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।

  •  बढ्दो विप्रेषण आप्रवाहले खर्च योग्य आम्दानीमा वृद्धि गरेको,
  •  विप्रेषण प्राप्त गर्ने परिवारका सदस्यहरूले पूर्ववत् रूपमा श्रम गर्ने बानीमा कमी आएको,
  •  ऊर्जाशील युवाहरू वैदेशिक रोजगारीमा जाँदा देशको कुल श्रम आपूर्तिमा ह्रास आएको,
  •  नेपालको अधिकांश उर्वराभूमी बाँझो भूमिमा परिणत भएको,
  •  वैदेशिक वस्तुको आयात र उपभोगमा वृद्धि हुनका साथै स्वदेशी उत्पादनमा ह्रास आएको,
  •  नेपालको अर्थतन्त्रमा डच डिजिजको समस्या उत्पन्न भएको,
  •  विदेशी विनिमयको अधिमूल्यन र स्वदेशी मुद्राको अवमूल्यन भई निकासीको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको ,
  •  उत्पादनमुखी कार्यमा सङ्कुचन हुँदै जानका साथै अनौपचारिक कारोबार र अनुत्पादक क्षेत्रमा लगानी बढ्न गएको,
  •  रोजगारीको सिलसिलामा युवाहरू बिदेसिने क्रम बढेसँगै विभिन्न आर्थिक ठगीका घटना बढ्नुका साथै फौजदारी अपराधमा वृद्धि भएको,
  •  विदेशमा जोखिमयुक्त काम , श्रम सुरक्षाको अभाव ,विभिन्न जटिल प्रकृतिका रोग तथा दुर्घटनाले गर्दा अङ्ग भङ्ग हुनका साथै ज्यान समेत जाने गरेको,
  •  लामो समय सम्म रोजगारीको सिलसिलामा विदेशमा रहनुपर्ने हुँदा सामाजिक चालचलन तथा पारिवारिक सम्बन्धमा समेत उतार चढाव आउने गरेको ,
  •  मानव बेचबिखन तथा अन्य लैङ्गिक हिंसाले गर्दा नेपाली चेलीहरू आफ्नो स्वतन्त्रताबाट वञ्चित हुनु परेको ,
  •  विप्रेषण प्राप्त गर्ने घर परिवारमा विलासिताका वस्तुहरू प्रयोगमा ल्याउनका साथै समाजमा भड्किलो जीवनशैली अपनाउँदा सामाजिक तथा सांस्कृतिक संरचना बिग्रन गएको छ ,

१.४ वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरू र विप्रेषण आप्रवाहको प्रवृत्ति
नेपालले ११० मुलुकहरूलाई संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेकोमा व्यक्तिगत श्रम स्वीकृतिमा करिब १७२ मुलुकमा नेपालीहरू कामका गएको पाइन्छ । नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा मलेसिया, कतार साउदी अरेबिया र युएई रहेका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको पछिल्लो आँकडा हेर्दा मलेसिया सहित खाडी मुलुकहरू ८६.४२ प्रतिशत हिस्सा ओगटेको देखिन्छ । विगतमा रोजगारीको प्रमुख गन्तव्य मुलुकहरूमा खाडी मुलुकहरू रहने गरेकोमा हाल गन्तव्य मुलुकहरूमा विविधता आई जापान संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, इजरायल तथा युरोपियन देश जस्ता विकसित मुलुकहरूमा समेत नेपालीहरू उल्लेख्य मात्रामा जाने क्रम बढेको छ । विप्रेषण आयको आप्रवाहलाई अध्ययन गर्दा विभिन्न १२ मुलुकहरू प्रमुख श्रोतका रूपमा रहेका छन् । तल उल्लेखित १२ मुलुकहरू मध्ये पछिल्लो ४ महिनाको राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार सबै भन्दा बढी कतारबाट ५३ अर्व ९३ करोड अर्थात् कुल विप्रेषण आप्रवाहको १७.७ प्रतिशत आएको देखिन्छ । यसै गरी क्रमशः युएई, भारत, साउदी अरेबिया, मलेसिया, अमेरिका, कुवेत, बहराइन, कोरिया, बेलायत, अस्ट्रेलिया र अन्य समेत गरी ४ महिनामा मात्रै ३ खर्व ४ अर्व ९७ करोड विप्रेषण नेपाल भित्रिएको तल उल्लेखित तथ्याङ्कबाट देखिन्छ ।

विप्रेषणको देशगत स्थिति
आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक तथ्याङ्क

२.नेपालको विप्रेषण आप्रवाहमा विश्वव्यापी महामारी कोभिड – १९ को प्रभाव
नेपालको विप्रेषण आप्रवाह छिमेकी मुलुक भारतको आर्थिक वृद्धिमा आएको कमी तथा प्रमुख गन्तव्य मुलुकको अर्थतन्त्रको समष्टिगत अवस्था, वित्तीय नीति तथा रोजगार नीति र कच्चा पेट्रोलियमको मूल्य जस्ता बाह्य कारक तत्त्वहरूले घटबढ हुँदै आएकोमा सन् २०१९ को डिसेम्बरबाट चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसबाट मानिसमा सर्ने कोरोना भाइरसका कारण विश्वव्यापी स्वास्थ्य सङ्कट देखा पर्न थाल्यो । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना रोगको कारण विश्वले एकै पटक मानवीय र आर्थिक सङ्कट व्यहोर्नु परेको छ । स्वास्थ्य सङ्कटसँगै लामो समयसम्मको लकडाउनले गर्दा उत्पादन व्यापार एवं लगानीसम्मको शृङ्खला प्रभावित भई विश्व अर्थतन्त्रमा सङ्कुचन आउन थालेको छ । विश्व अर्थतन्त्रसँगको आवद्घता र नेपाल भित्रकै आन्तरिक अवरोधहरूले गर्दा अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा गम्भीर प्रभाव पर्न थालेको छ । कोरोना महामारीको कारण आर्थिक क्रियाकलापमा सुस्तता आई विश्व अर्थतन्त्र २०२० मा तीन प्रतिशतले सङ्कुचन आउने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण रहेको छ । कोरोना भाइरसको विश्वव्यापी प्रभावको कारणले गर्दा अन्य क्षेत्रको तुलनामा विप्रेषण आप्रवाहमा निकै प्रभाव पारेको कुरा विगत फाल्गुन, चैत्र, वैशाख र जेष्ठ महिनाको तथ्याङ्कले पुष्टि गर्दछ । एकातिर कोभिड रोगको कारण विदेशमा काम गर्दै गरेका नेपालीहरूको रोजगारी खोसिएको र विदेश जान तयार रहेका नेपालीहरू जान नपाएको कारणले गर्दा अघिल्लो वर्षको तुलनामा विप्रेषण आप्रवाह ३० प्रतिशतले घट्न गएको छ ।

विप्रेषणसँगै वैदेशिक विनिमयको प्रमुख आधार पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुन पुगेको छ । गत वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार २ सय पर्यटक नेपाल आएकोमा सन् २०२० को सुरुवातबाटै कोरोनाको असरले गर्दा २०२० को मे महिनासम्म जम्मा २ लाख १५ हजार पर्यटक आवागमन भएको भए पनि मार्च २२ देखिनै अन्तर्राष्ट्रिय उडान तथा यात्रा प्रतिबन्धले गर्दा पर्यटन आवागमन ठप्प हुन पुगेको छ । नेपाल आउने पर्यटकहरू प्रमुख देशहरूमा क्रमशः भारत, चीन, अमेरिका, बेलायत, जापान जस्ता देशहरू हुन । यी देशहरू आफै कोरोना भाइरसले आक्रान्त बनेका छन् । अहिले कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बनेको छ भने पर्यटन क्षेत्र त थलानै परेको छ । नेपालले निकै तामझामका साथ उद्घाटन गरेको नेपाल भ्रमण वर्ष २०२० समेत रद्द हुन पुगेको छ । यससँगै जोडिएको होटेल व्यवसाय समेत ठप्प हुन पुगेको छ । यसको प्रभाव कोरोनाको औषधी पत्ता लागेर सामान्य हुँदा समेत यी क्षेत्र सहजै माथि उठ्न सक्ने अवस्थामा देखिँदैन । नेपालमा पर्यटन तथा होटेल व्यवसायको क्षेत्रमा संलग्न ठुलो सङ्ख्यामा रोजगारी गुमाउनु पर्ने अवस्था सिर्जना भएको छ । विदेशमा नेपालीहरूले धेरै मात्रामा रोजगारी गुमाएर लाखौँको सङ्ख्यामा नेपाली युवाहरू स्वदेश फर्कनाले कृषि र ग्रामीण विकासमा सहयोग पुग्ने भए पनि कृषि क्षेत्र बाटै विस्थापित युवाहरूलाई पुनर्स्थापना गर्नुका साथै नयाँ रोजगारी सिर्जना गर्न चुनौती थपिएको छ । वैदेशिक रोजगारीमा परेको समस्या सँगै विप्रेषण आप्रवाहमा आउने सङ्कुचनले नेपालको विप्रेषणसँग जोडिएको क्षेत्रमा पारेको प्रभावलाई वँुदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।

  •  मुलुकको कुल ग्राहस्थ उत्पादनको वृद्धि देखि रोजगारी सिर्जना गर्नमा समस्या देखिएको छ,
  •  अर्थतन्त्रको बाह्य क्षेत्रको सन्तुलनमा समस्या हुनका साथै विदेशी विनिमय सञ्चिती घट्न गएको छ,
  •  विदेशमा रोजगारी गुमाएका युवाहरू नेपाल फर्कने क्रम सुरु भएसँगै आन्तरिक श्रमवजारमा बेरोजगारीको चाप पर्न थालेको,
  •  स्वदेश तथा विदेशमा काम गर्ने श्रमिकको तलब तथा अन्य सुविधा कटौती हुन गई बचतमा कमी आएको छ,
  •  विप्रेषण आयले घरपरिवार चलाउने परिवारमा दैनिक गुजारा चलाउन समेत समस्या देखिएको,
  •  विप्रेषण आयकै कारण गरिबी घट्न गएकोमा आगामी दिनमा स्वदेश तथा विदेशमा रोजगारी र गुमाउनु पर्दा गरिबी झनै बढेर जाने देखिन्छ,
  •  आधारभूत आवश्यकता समेत प्राप्त गर्न नसक्ने हुँदा बालबालिकामा कुपोषण तथा अन्य रोगको सिकार हुनुपर्ने अवस्था सिर्जना भएको छ,
  •  वैदेशिक रोजगारीमा जाँदा युवाहरूले लिएको ऋण तथा पर्यटन र होटेल व्यवसायमा गरेको लगानीको साँवा व्याज भुक्तानी गर्न नसक्दा बैङ्क तथा वित्तीय क्षेत्रमा समेत सङ्कट आउन सक्ने,
  •  नेपालबाट निर्यात हुने अधिकांश वस्तुहरू पर्यटन क्षेत्रसँग सम्बन्धित हुने हुँदा निर्यात व्यापार समेत प्रभावित हुन थालेको छ,
  •  विप्रेषण आप्रवाहमा कमी हुँदा बढ्दो अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा व्यापार घाटा झनै बढेर जाने देखिन्छ ।

३.निष्कर्ष तथा सुझाव
विप्रेषण नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । बाह्य क्षेत्र सन्तुलन कायम गर्नको लागि मात्र नभई, शिक्षा, स्वास्थ्य, गरिबी निवारण, वित्तीय साधन परिचालन र राष्ट्रिय पुँजी निर्माणमा समेत विप्रेषण आयले महत्त्वपूर्ण योगदान पुराएको छ । नेपालमा ठुलो परिमाणमा विप्रेषण आप्रवाह हुने हुँदा त्यसको उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न राष्ट्रिय तथा प्रादेशिक महत्त्वका योजनामा विप्रेषण आप्रवाहको परिचालन गर्ने विश्वासिलो संयन्त्र निर्माण गरिनु पर्दछ । विदेशबाट नेपालमा विप्रेषण पठाउँदा उच्च लागत लाग्ने हुँदा यस तर्फ सरकारले विशेष प्याकेज बनाएर न्यून लागतमा औपचारिक माध्यमबाट विप्रेषण प्राप्त गर्ने व्यवस्था गरिनु पर्दछ ।

सन् २०१९ को डिसेम्बरबाट विश्वभर महामारीको रूपमा फैलिएको कोरोना रोगको कारण नेपालले विगत ४ महिना देखि मानवीय (स्वास्थ्य) र आर्थिक सङ्कट व्यहोर्नु परेको छ । स्वास्थ्य सङ्कटसँगै लामो समयसम्मको लकडाउनले गर्दा उत्पादन व्यापार एवं लगानीसम्मको शृङ्खला प्रभावित भई नेपालको समग्र अर्थतन्त्र प्रभावित हुन पुगेको छ । उक्त सङ्कटलाई सामना गर्न सङ्घीय सरकार र ७ वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत स्वदेश तथा विदेशमा रहेका नागरिकको रोजगारीमा परेको असरलाई मनन गरी स्वदेश भित्रै थप अवसर सिर्जना गर्न विभिन्न कार्यक्रमहरू बजेट वक्तव्य मार्फत घोषणा भई संसदवाट पारित समेत भएको छ । यसै गरी ७५३ वटै स्थानीय तहहरूले आर्थिक पुर्नउत्थान, कृषिको आधुनिकीकरण तथा रोजगारी सिर्जना गर्ने उद्देश्य र प्राथमिकता क्षेत्र किटान गरी बजेट तर्जुमा गरिरहेका छन् । यी कार्यक्रम कति कार्यान्वयन हुन्छन् त्यसबाटै हाम्रो अर्थतन्त्रले गति निर्धारण हुनेछ । त्यसैले हामीसँग रहेको तीन तहको राजनीतिक तथा प्रशासनिक संयन्त्रको उच्चतम समन्वय मार्फत देशको कृषि उद्योग, पर्यटन र व्यापारलाई पुर्नउत्थान गरी गुमेको रोजगारी सिर्जना गर्नुको साथै सिपयुक्त जनशक्ति मात्रै विदेश जाने अवस्थाको सिर्जना गरी विप्रेषण आप्रवाहमा आएको कमीलाई पूर्ति गर्न सकिने देखिन्छ ।

लेखापरीक्षण अधिकारी, महालेखा परीक्षकको कार्यालय

सन्दर्भ सामग्री
नेपाल सरकार ,राष्ट्रिय योजना आयोग, पन्ध्रौँ योजना ( आर्थिक वर्ष २०७६/७७–२०८०/८१ ),
.नेपाल सरकार ,अर्थ मन्त्रालय २०७७ , आर्थिक सर्वेक्षण (२०७६/७७),
नेपाल सरकार ,अर्थ मन्त्रालय २०७७ , बजेट भाषण (२०७७/७८),
नेपाल राष्ट्र बैङ्क ( २०७६ ), नेपालमा विप्रेषण आप्रवाहको स्थिति,
.श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय (२०७५ ) औपचारिक माध्यम वाट विप्रेषण भित्राउने र उत्पादनमूलक क्षेत्रमा उपयोग गराउने सम्बन्धी अध्ययन प्रतिवेदन ,

Central Bureau of Statistics (2011, November), NEPAL LIVING STANDARDS SURVEY 2010/11

Central Bureau of Statistics (2004, November), NEPAL LIVING STANDARDS SURVEY 2003/04

World Bank. (2019, November). World Development Indicators. Retrieved from https://data.worldbank. Org/indicator.

 

प्रतिक्रिया दिनुहोस