विधेयक नसच्याएसम्म नासुहरूको आन्दोलन जारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विधेयक नसच्याएसम्म नासुहरूको आन्दोलन जारी


१८ असार २०७७, बिहिबार


काठमाडौं । संघीय निजामती सेवा ऐनको विधेयक नसच्याएसम्म नायब सुब्बाहरुले आन्दोलन जारी राख्ने भएका छन् । बिहीबार नासु बचाउ अभियानले एक विज्ञप्ति जारी गर्दै राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयकको आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘राजपत्र अनंकित कर्मचारीहरुको मनोबल कमजोर हुने, वृत्ति विकासमा बाधा पुग्ने, हाम्रो योगदानको अवमूल्यन हुने तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत हामीमाथि अन्याय एवं भेदभाव हुने भएकोले प्रस्तावित सङ्घीय निजामती सेवा ऐनप्रति तीब्र असहमति जनाउँदै यस निजामती सेवामा नासु बचाऊ अभियान (राजपत्र अनंकित कर्मचारी संरक्षण आन्दोलन) ले छ बुँदे माग राखी आन्दोलनको कार्यक्रम सुरु गरेको व्यहोरा अवगत नै छ ।’

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन र राष्ट्रियस्तरका ट्रेड युनियनहरूसँग पटक पटक भएको छलफलपछि आधिकारिक ट्रेड युनियनले प्रधानमन्त्रीसमक्ष बुझाएको माग पत्रमा धेरैजसो विषयहरूलाई समावेश गरेकोमा धन्यवाद दिँदै बहस पैरवी गर्न अपिल गरेका छन् ।

‘हाम्रा बाँकी मागहरुसहित निजामती सेवाको सुधारको लागि पेश भएका अन्य विषयहरू समेत प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गराउन सम्बन्धित निकायसँगको वार्ता, छलफल, बहस पैरवी तथा आन्दोलन लगायतका सबै प्रयत्न जारी राख्न अपिल गर्दै त्यस्ता कार्यक्रम एवं गतिविधिमा हाम्रो समर्थन र सक्रिय सहभगितामा हुने प्रतिबद्धता व्यक्त गर्दछौं ’ विज्ञप्तिमा भनिएको छ।

प्रस्तावित ऐनमा सबै माग समावेश नहुँदासम्म आन्दोलन जारी रहने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो आन्दोलन कसैप्रति लक्षित एवं कसैका विरूद्ध नभई सबै तहमा रहेका राजपत्र अनंकित कर्मचारीहरुको पेशागत हकहित स्थापित गर्नको लागि भएकोले विकसित परिस्थितिको मूल्याङ्कन गरी थप कार्यक्रमहरू क्रमश घोषणा एवं सञ्चालन हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस