आऊ युवाहरू असार १५ लाई धान दिवससँगै बेसार दिवस मनाऔँ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आऊ युवाहरू असार १५ लाई धान दिवससँगै बेसार दिवस मनाऔँ !


१५ असार २०७७, सोमबार


कोरोनाले विश्व अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारी आदि क्षेत्रमा व्यापक रूपमा प्रभाव पारेको छ । कोरोनाकै कारणले अवसर पनि त्यतिकै छ । तर आज असार १५ गतेलाई धान दिवस मनाइरहेका छौँ । मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ ।

रोपाई गर्ने व्यक्तिहरू रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने यो दिनको परम्परा छ ।

कोरोना महामारीका कारण सिर्जना भएको चुनौती र अवसरलाई सम्बोधन गर्नका लागि यो वर्ष २०७७/७८मा कुल बजेटको २.८१ प्रतिशत अर्थात् ४१ अर्व ४० करोड बजेट विनियोजन गरिएको छ । दूध, तरकारी र मासुमा आत्मनिर्भर हुने गरी बजेट छुट्याएको छ । यो बजेट पनि सरकारका कुरौटे भरौटेहरूको लागि मात्र छुट्याएको जस्तो छ ।

नेपालमा ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो । सरकारलाई पनि राम्रै राजश्व बुझाउँथ्यो । तर नेपालमा कृषि क्षेत्रमा व्यापक हानिकारक विषादी प्रयोग भइरहेको छ । खेतीयोग्य जमिनमा हानिकारक विष दिन प्रतिदिन बढ्दै गइरहेको छ् ।  यसले कति हानि गर्छ र कस्तो असर गर्छ भन्ने कुरा हामीलाई थाहा नै छ ।

नेपालका मौलिक रैथाने चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ, केही हाम्रा मौलिक रैथाने धानहरू मासिँदै गएका छन् । नेपालका ९६ प्रतिशत धानका बिउ समाप्त भए तर ४ प्रतिशत पनि फिलिपिन्सको जिनबैंकमा छ भनेर सरकारी डाटा भन्छ । सरकारले पनि कृषिमा बीउ, मल, प्रोसेसिङ र मार्केटिङलगायतमा ध्यान दिनु आवश्यक छ ।

अनुसन्धानविद् डा. निर्मलमणि अधिकारी भन्नुहुन्छ “नेपालकेन्द्रित अनुसन्धानका आधारमा, परम्परागत र कथित व्यावसायिक सबै खाले प्रणालीको समुचित समन्वयात्मक सदुपयोग गर्नु पर्छ । पुनर्जागरणमा आधारित आधुनिकता र आधुनिकतासहितको पुनर्जागरणको नीति कृषि क्षेत्रमा पनि अवलम्बन गर्नु पर्छ । श्रम शक्तिको कमीले सबैभन्दा ठुलो असर कृषि क्षेत्रलाई परेको छ र नेपालको कृषि प्रणाली यस्तै तरिकाले त केही दशकभित्रमा ध्वस्त हुने दुरावस्था देखिन्छ । कृषिको पुनरुद्धार भएन भने वैदेशिक रोजगारी, पर्यटन, उपभोग्य सामग्री केन्द्रित व्यापार, दलाली आदी क्षेत्रबाट हुने कमाईले देशको अर्थतन्त्रलाई धान्न सक्ने छैन । थोरैतिनै हुने कमाई आयात प्रणालीमार्फत विदेशतिरै बाहिरिनेछ । एक परनिर्भर, परावलम्बी, हीन अर्थतन्त्रका कारणले नेपाल कष्टैकष्टको भड्खालोमा फस्नेछ । यदि नेपाललाई स्वावलम्बी समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ ।’’

पक्कै पनि गुरुले भने अनुसार प्रत्येक गाउँ–गाउँबाट युवाहरू एक जुट भएर कृषिमा आत्मनिर्भर बन्नुको लागि आफैबाट सुरुवात गर्नु आवश्यक छ । हामी सबै युवाहरू मिलेर कृषिमा आत्मनिर्भर बन्नु पर्छ । नेपालमा कृषि क्षेत्रमा ६९ प्रतिशत रोजगारीको अवसर छ । नेपाल सरकारले पनि कृषिमा आत्मनिर्भर बन्नुको लागि यो पटक पनि ठुलै गफ दिएको छ । तरकारी, फलफूल, खाद्यान्न आदीको लागि पनि अन्य देशको भर पर्नु परिरहेको छ । सरकारले गर्ला अनि गरौँला भनेर पर्खौँ भने हाम्रो समय बरवाद हुनेछ । जति सकिन्छ आफ्नो आफ्नो क्षेत्रबाट काम गर्न बाहेक अरू विकल्प छैन । कपुतन्त्रे राजनीति भन्दा माथि रहेर कृषि क्षेत्रमा काम गर्नु सकिन्छ । अब जागौँ युवाहरूको हामी यसरी जागौँ कि बाध्य भएर सरकार हाम्रो पछि लागोस् ।

थोरै जमिनमा, कम पानी र कम विषादी गरेर पनि उत्पादनलाई दोब्बर गर्नु सकिन्छ । घरमा आवश्यक हुने खाद्यान्नमा ध्यान दिएर उत्पादनमा बढी जोड दिनु आवश्यक छ ।

सामाजिक सञ्जालहरूमा अहिले व्यापक बेसारे बहस भएको छ । तर विडम्बना बेसारमै हामी परनिर्भर हुन परेको छ । बजारमा प्रति किलो ३०० देखि ४०० सम्म पनि बिक्री भइरहेको पाएको छ । १० महिनामा म्यानमार र भारतबाट मात्र जम्मा बेसार २७ करोड ९५ लाखको आयात भएको कुरा अन्नपूर्ण पोस्टमा असार ११ गते छापिएको थियो । सकिन्छ भने अब कमसेकम बेसारमै आत्मनिर्भर बन्ने प्रयास गरौँ ।

कोरोना पछि केही युवाहरूमा सकारात्मक सन्देश गएको छ । कोरोना पछि अहिले बाझो रहेका खेतहरू, जग्गाहरू हरियाली भएका छन् । युवाहरू आज गाउँमा पनि रमाइरहेका छन् आत्मनिर्भर हुने प्रयासमा लागिरहेका केही उदाहरण देख्नु सकिन्छ । कृषि क्षेत्रमा आत्मनिर्भर भई आफ्नो सभ्यता र संस्कृति प्रति गर्भ गरौँ । कसैको पनि आलोचना/प्रत्यालोचना नगरी घर–घरमा उत्पादन गरौँ, आत्मनिर्भर बन्ने प्रयास गरौँ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस