वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर


१४ असार २०७७, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाटो भएको जग्गामा नभएको भनी सिफारिश गरी राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिवसहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २० फुटे कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले नेपाल सरकारलाई प्राप्त हुने रु दुई लाख ७१ हजार ४२६ बराबरको भ्रष्टाचार गरेको जनाएको छ ।

आयोगले वडा सचिव शिवनारायण मुखियाविरुद्ध रु दुई लाख ७१ हजार ४२६, जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव रु एक लाख ५४ हजार १८८, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध रु एक लाख १७ हजार २२८ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

उनीहरुलाई बिगोअनुसारको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले आजै कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने सेवाग्राहीको काम सहज गरिदिने प्रयोगका लागि नायब सुब्बा पन्थीले रु पाँच हजार घुस मागेको अभियोग लागेको छ ।

यस्तै जिल्ला मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले धादिङ जीवनपुरको एक सेवाग्राहीको जग्गा रजिस्ट्रसन पास गर्ने क्रममा रु पाँच हजार घुस लिएको अभियोग लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस