आगो ओकल्छ मान्छे « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आगो ओकल्छ मान्छे


१३ असार २०७७, शनिबार


युगौँ युग देखि
दासताको जाँतो मुनि पिसिरह्यौ
शताब्दियौं देखि
साङ्लोले बाँधेर पशु जस्तै बेचिरह्यौ
उसको रगत चुस्यौ
उसको पसिना पियौ
उसको अस्मितामा होली खेल्यौ
उसको लास माथि परेड खेल्यौ
तथापि तिमीलाई तृप्ति मिलेन
र, अहङ्कारले गर्जिरह्यौ गर्जिरह्यौ ।

रङकै आधारमा करोडौँ
मान्छेको व्यापार गर्‍यौ
निश्चित भूगोलमा जन्मनु
फरक छाला लिएर जन्मनु
उसको के दोष थियो ?
अशक्त, रोगी र वृद्ध
छानी छानी तिमी
आन्ध्र महासागरमा धकेल्यौ
जो बोल्न खोज्यो
उसको जिब्रो थुत्यौ ।

धार्नीका धार्नी
नाक काट्यौ, कान काट्यौ
कहिले मौलोमा बाँधेर
मासु ताछ्यौ
जब क्रूरताले पराकाष्ठा नाघ्छ
शोषण, दमन र विभेदले
टुट्नै लाग्दा मान्छेको धुकधुकी
अनि फुट्छ ज्वालामुखी ।

आन्ध्र महासागरमा डुबाइएका
लाखौँ लाख पीडितहरूको
त्यो चीत्कार , त्यो क्रन्दन
आज युरोप, अमेरिकाका
सडकहरूमा छताछुल्ल भएको छ
भुसको आगो सरि त्यो फैलिँदो छ
सारा संसार रनभुल्ल छ ।

सेतो छाला नै भगवानको
उत्कृष्ट सृष्टि मान्ने
अरू सबै नीच भुसुना ठान्ने
सामन्तवादी त्यो बर्बरताको
प्रतिबिम्ब
क्रिस्टोफर, कोल्स्टन, पावेल र चर्चिल
चोक, चौबाटोहरूमा
ठिङ्ग उभिएको देख्दा
तोड्दै र फोड्दै मूर्ति
थुक्दै र लात हान्दै
एभोन नदिमा फालिएको छ
शरीरमा रगत उम्लिएको छ
त्यसैले निर्जीव मूर्ति माथि
विप्लव खन्निएको छ ।

बेचेर पशुसरि मान्छे
सम्पत्ति अकुत कमाई
समाज सेवामा लगाएको
ढोङ रचेर
प्रशंसा बटुल्न लालायित
कस्तो निर्लज्ज तिमी
काला मान्छे मासेर
सेता उमार्‍यौ
मानवताको दुहाइ दिई नथाक्ने,
तिम्रा आततायी बुटहरूले
जब मानवताको गला थिचिरहन्छन्
तब पीडितहरूले
विद्रोहको आगो ओकल्छन् ।

त्यसैले त मुगावे भन्छ
सेता कारहरूले
काला टायर लगाउन्जेल सम्म
सेतो रङले शान्ति
कालोले कुसाइत जनाउन्जेल सम्म
यहाँ रङ्गभेद समाप्त हुँदैन
तसर्थ,
मुगावशे मर्म मनन गर्दै
आऊ मिलीजुली हात समाऔँ
सँगै बसौँ, सँगै रमाऔँ
कालो, सेतो, उच, नीच छोडी
एकापसमा गला जोडी
सृष्टिको सुन्दरतामा हाँस्न सिकौँ
विविधतामा एकजुट भई बाँच्न सिकौँ
दलित, अछुत लेखिएको वेद कहाँ छ ?
रातो सबको रगत छ
प्रकृतिमा भेद कहाँ छ ??
…….अस्तु…..

Tags :
प्रतिक्रिया दिनुहोस