बिहान पूजा गरेर
दिनभर भ्रष्टाचार गर्ने
साँझ धूप बालेर
रातभर
निमुखा मार्ने योजना बनाउने
जनतालाई मन्दिरहरू दिएर
म नेपाली हुँ
समाजहरूमा छुवाछुत फैलाइरहने
बस्तीहरूमा गरिबी बाँडिरहने
देशभरि भ्रष्टाचार हुर्काइरहने ।
आफ्ना सात पुस्तासम्म पुग्ने गरी धन कमाउनु
मेरो, दिगो विकासको अवधारणा हो
मेरो, आर्थिक विकासको परिभाषा हो
मैले बुझेको राजनीति हो
शासन हो
मैले जानेको प्रशासन हो
राष्ट्रसेवक हो
मेरो सुशासन भनेकै
स्रेस्तागत सुशासन हो ।
डोनाल्ड ट्रम्पलाई ट्विटरमा फलो गरेर
‘द न्यूयोर्क टाइम्स’ को फेसबुक पेज लाइक गरेर
आफैलाई गौरवशाली महसुस गर्दै
चोक, भट्टी र सडक छेउको झाडीमा
सूर्य चुरोटको मिसाइल पड्काउँदै
विल गेट्सको सक्सेस स्टोरी
र क्रिस गेलको जादुमय छक्काको तारिफमा
लेक्चर दिँदै
फेसबुक र ट्विटरका भित्ताहरूमा
देश निर्माणका कथनहरू पोतेर
टेबुलमुनी कम्बल ओढेर घिउ खाने
म नेपाली
आमाले भान्सामा सघाउ भन्दा
आँखामा धुवाँको पिर्पिराहट लाग्छ भन्दै पन्छिन्छु
बुवा खेतबारीमा एक्लै जोतिई रहँदा
म केटी फकाउन
खाइलाग्दा पाखुरा र छाती बनाई रहेको हुन्छु ।
पुर्खाहरूले छोडेको खुकुरी
खिया लागेर भुत्ते भएको पत्तै छैन
त्यही खुकुरीको कथामा मक्ख हुँदै
चिनियाँ फिफ्थ जेनेरेसन फाइटर एयरक्राफ्ट
चेंगदु जे २० को प्रशंसा गरेर
म नेपाली
अमेरिकन डी भि पर्छ कि पर्दैन भनेर
सडक ज्योतिषलाई हात हेराउँदै
फेसबुके एपहरूले तेरै हो भनी देखाई दिने
सुन्दर घर बङ्गला
महँगो मोटर गाडी
र अमेरिकन युरोपियन जवानी
अनि बुढ्यौलीको भर्चुअल संसारमा रम्दै
चटनीमा नुन बढी भयो भनेर
भान्सामा स्वास्नीलाई टोकिरहेको हुन्छु ।