सेवा जोगाउन सिँहदरवारमा हस्ताक्षर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सेवा जोगाउन सिँहदरवारमा हस्ताक्षर


१ असार २०७७, सोमबार


काठमाडौँ । प्रशासन सेवा जोगाउन भन्दै सिंहदरवारमा हस्ताक्षर अभियान सुरु भएको छ ।

शिक्षा, विविध र आर्थिक योजना तथा तथ्याङ्क सेवालाई प्रशासन सेवामा समाहित गर्न उपयुक्त हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको प्रस्तावले प्रशासन सेवा ध्वस्त हुने भन्दै सो सेवाका कर्मचारीले हस्ताक्षर सङ्कलन अभियान चलाएका हुन् ।

सिंहदरवार परिसरभित्र रहेका विभिन्न मन्त्रालयस्थित प्रशासन सेवाका कर्मचारीहरूले सामान्य प्रशासन मन्त्री, सुशासन समिति तथा प्रधानमन्त्रीलगायत सरोकारित निकायहरूमा बुझाउने भन्दै हस्ताक्षर सुरु गरिएको एक अधिकृतले बताए ।

‘यो अभियान कसैको विरोधका लागि होइन, प्रशासन सेवाको रक्षाका लागि हो’, ती अधिकृतले भने, ‘जहाँ भाग्य र भविष्य देखेर आइयो त्यही अन्धकार हुन लागेपछि निजामतीको मियो प्रशासनको रक्षा गर्नु हाम्रो कर्तव्य पनि हो ।’

गत साता मन्त्री त्रिपाठीले निजामती सेवामा हाल कायम रहेका १० वटा सेवामध्ये आर्थिक योजना तथा तथ्याङ्क, विविध र शिक्षा सेवालाई प्रशासन सेवामा समाहित गर्न उपयुक्त हुने भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिलाई लिखित सुझाव पेस गरेका थिए । सो प्रस्तावसँगै वृत्ति विकासका ठुलो असर पर्ने भन्दै प्रशासन सेवाका कर्मचारीहरूले विरोध जनाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस