विद्यालयद्वारा आठ कर्मचारीलाई बेतलबी बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विद्यालयद्वारा आठ कर्मचारीलाई बेतलबी बिदा


१ असार २०७७, सोमबार


तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो ।

विद्यालयको आयस्रोत नभएकाले विद्यालय व्यवस्थापन समितिको निर्णयले निजी र अर्धनिजी शिक्षक एवं कर्मचारीलाई बेतलबी बिदामा राखिएको विद्यालयले जनाएको छ ।

निजी शिक्षिका मैयाँ दरैले देशमा बन्दाबन्दीका समयमा घरको खर्च बढिरहेका अवस्थामा विद्यालयको बेतलबी बिदामा राख्ने कार्यप्रति चित्त दुखेको बताए। केही वर्षअघि नगरपालिकाले विद्यालय भवन निर्माणका लागि रु ५५ लाख विनियोजन गरे पनि काम गर्न नसक्दा फ्रिज भई घाटा ब्यहोर्दै आउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद दरैले बताए । उनका अनुसार उनीहरुलाई चैतसम्मको तलब खुवाई त्यसपछि सहज परिस्थिति भएपछि पुन जागीरमा समावेश गराउने निर्णयानुरुप हाललाई बेतलबी बिदामा राखिएको हो । उक्त विद्यालयमा हाल करीब चार सय विद्यार्थी र ३२ शिक्षकशिक्षिका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक एवं कर्मचारीका लागि नगरपालिकाको कुनै सहयोग नरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस