अस्पतालको आत्मकथा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अस्पतालको आत्मकथा


२४ जेष्ठ २०७७, शनिबार


दुर्गम गाउँहरूबाट बिरामी, हिमालका बेसक्याम्प तिरबाट विदेशी पर्यटक बोकेर बेजोड हुइँकिएका हेलिकप्टरहरूबाट बिरामीहरूले आकस्मिक कक्ष भरिभराउ छ । साइरन बजाउँदैएक पछि अर्को गर्दै छिरेका एम्बुलेन्समा सडक दुर्घटनामा परी अङ्गभङ्ग भएका बिरामीहरूको भिडभाड । डाक्टर, नर्सहरूलाई भ्याई नभ्याई छ । अस्पताल हो चिकित्सक त व्यस्त हुने नै भए । वितरण त्यो क्यास काउण्टरको कर्मचारीले आफ्नै नियमित औषधि समेत समयमा सेवन गर्न पाएको छैन । टेबुलका धर्राहरु पैसाले भरिई सके । लेखा शाखाको प्रमुखलाई पनि बैङ्क भौचर भर्दैमा ठिक्क छ । सुरक्षा गार्ड आफ्नो जिम्मेवारी रुवावासी गरिरहेका बिरामीका आफन्तलाई सम्झाउन मै व्यस्त छ । वार्ड हेडहरू कार्यकारीको चेम्बरमा उपचारको तानावाना बुन्दैमा व्यस्त छन् । एम्बुलेन्स चालकहरू बिरामी ल्याइदिए बापतको खर्च वेलैमा नपाएको गुनासो गर्दे कम्पाउण्डमा झुण्ड बनाएर बसिरहेका छन् । प्रेस संयोजक अस्पतालका सफलताका कथा बनाउन र छर्न व्यस्त छ । चमेना गृहको म्यानेजर भिडभाडले आफै बिरामी हुँला जस्तो गर्दै छ । हिसाब गरेर अस्पताललाई छुट्टाउने कमिशनको अंश निकाल्ने फुर्सदै कहाँ छ र उसलाई । फार्मेसीकी बहिनीका क्यालकुलेटरका अङ्क मेटिएर तनावमा छिन । नहुन पनि कसरी । मोबाइलमा सयौँ घण्टी बजिसक्यो हेर्नेसम्म फूर्सछ छैन । कतिखेरकाही त झुक्किएर क्यालकुलेटर कानमा पुराउदछिन । इमर्जेन्सी, अपरेसन वार्ड, क्यास काउण्टर, लेखा शाखा, फार्मेसी, चमेनागृह सबै तीर धाउँदा दाउँदै लखतरान भैसकेको अवस्था ।

त्यत्तिकैमा साइरनको चर्को आवाज दुवै कानको दुलोबाट भित्र छिर्छ । हत्तपत्त उठेर झ्यालको पर्दा खोल्छ र बाहिर चिहाउछ । उसको आँगन अगाडीको सडकमा मन्त्री सवार गाडीको लस्कर देख्छ । अस्पतालको आँगन, पार्किङ सवैतिर चिहाउछ सन्नाटा बाहेक केही देख्दैन । सोफामा पल्टिन्छ । आहा कति मिठो सपना थियो । हिजोसम्मको मेरो वास्तविकता आज सपनामा परिणत भयो । बिरामी जन्माउने खाल्डाखुल्डीयुक्त सडक हुन वा होसै गुमाएर सवारी चलाउने चालक हुन वा टोल टोलका डन नै किन नहुन सबैलाई हृदयदेखि नमन गर्ने उसको चीनको उहानको नाम सुन्दै कन्सिरी तातेर आउन थाल्छ । सङ्क्रमण फैलियो, दुर्घटना बढे, वातावरण प्रदूषणले सीमा नाघ्यो भने उसको दैनिकी अनुकूल हुन पर्ने धिक्कार छ । मनमनै कोरोना भाइरसलाई सराप्न थाल्छ ।

जस्तो सुकै बिरामी भर्ना गर्ने उ आज आफै बिरामी बन्न थालिसकेको छ । भेन्टिलेटरमा राखेर पुनर्जीवन दिन उद्धत उ आफै भेन्टिलेटरमा पुग्ने अवस्थामा छ । अप्रेसन पछि बिरामीका आफन्तलाई होसमा आएको सूचना सुनाउँदा सुनाउँदा थकित हुने उ वेला वेला आफै होस गुमाउँछ । बिचरा उसको पीडा कसले सुन्छ देख्छ ? छापा तथा विद्युतीय माध्यमहरूमा जब लकडाउन खुकुलो पार्ने वा हटाउने समाचार हेर्छ, सुन्छ उसमा कता कता काउकुती लागेर आउँछ । सोच्छ फेरी मेरा ती दिन फर्किनै लागे । खुलोस् न मात्र यतिका दिनको मेरो कन्तविजोग म कसरी बिर्सिन सक्छु र यसको हिसाब किताब त गर्नै पर्छ । देउताका गाई समानका मेरा बिरामीहरूलाई मिटर कसरी घुमाउने कसैले सिकाई राख्नु पर्दैन ।

एकै छिनमा उ भावुक पनि हुन्छ । अनि सम्झिन्छ सडकका ठेकेदार, अनुशासन कुन चरोको नाम हो थाहा नभएका सवारी चालकहरू, ग्याङ फाइटका फाइटर ब्रोहरु, एम्बुलेन्स चालक, आफूकहाँ बिफर गर्ने डाक्टर, क्लिीनकि तथा नर्सिङ होम आदीलाई । बिचरा त्यो एम्बुलेन्स चालक के गर्दै होला साइरन बजाउँदै बिरामी ल्याइदिन्थ्यो । बिरामी न आफन्त कसैलाई म कहाँ ल्याउन लागेको नभनी सिधै मेरो आँगनमा छिराइदिए बापत मैले दिने उपहारले बच्चा पढाएको छु भन्थ्यो । वर्षौँ देखि सडक खाल्डाखुल्डी पारेर छोडिदिँदा सवारी साधनमा कुकुर सहित फोटो राखिसक्दा पनि ढुक्क बस्ने ती प्रिय ठेकेदारहरू के गर्दै होलान् । म्याद थपको पोको जम्मा पार्नु छ भन्थ्यो सफल भएहोला की नहोला कठै । सम्झिदां उसको मनमा गाँठो परेर आउँछ ।

ठिकै छ यसमा त चित्त बुझाउला तर बिरामीलाई औषधि भिडाइदिए बापत मलाई निरन्तर कमिसन दिने ती कम्पनी एजेन्टहरू, भुईँ तलाको चिसोमा बसेर पनि औषधि विक्रीको हिस्सा छुट्ट्याइदिने बिचरा फार्मेसीहरू र सामान्य अवस्थामा पनि शल्यक्रिया जरुरी देख्ने मेरा डाक्टरहरूको घर कसरी चलेको होला त्यसमा म कसरी चित्त बुझाउन सकुँला मनमनै गुनिन थाल्छ । गलत औषधि र असावधानीका कारण बिरामीको ज्यान जाँदा आफन्तहरूको रुवावासी देख्दा सुन्दा दिक्क भएको उसलाई लकडाउन खुलेसँगै ती सहयात्री भेट हुँदा अँगालो मारेर त्यसै गरी रुन मन लागेर आउँछ ।

खै सरकार पनि छ कि छैन । सरकारसँगको गुनासोले पनि भतभती पोल्छ उसलाई । राहतका प्याकेजका कुराहरू नीति तथा कार्यक्रममा बाक्लै आए भन्छन् खै पाइने हो कि हैन । उपचार नगरे पनि नचाहे पनि राहतसम्म त पाए हुन्थ्यो । उसको मनको भाँडो लोभले भरिन थाल्छ । खै के खै के कार्यविधि बनायो र स्वास्थ्य मन्त्रालयले, अनि आर्थिक सुविधाका कुरा नि छिराएको छ रे । उता र्‍याल काढ्न थाल्छ । हैन सञ्चालकहरूको युनियनको बैठक डाकेर पहुँच पो पुराउने कि लोभ लोभका बिच उ अलमलिन्छ ।

ओहो ! पशुपति आर्यघाटमा लास कम आए भनेर हामीलाई पो दोषी देखाउदैछन रे । अस्पताललाई लास जन्माउने स्थल पो भन्न थालेछन् । खै पश्चिम नेपालको खै कुन घाटमा हो लास नआएर प्रतिमा बनाएर लास जलाउदैं परम्परा थामिराखेका छन् रे त्यसको दोष पनि हामीलाई नै । यो त हदै भयो नि पत्रिकासँग रिसाउँदै कच्याककुचुक पारेर फालिदिन्छ । सामान्य ज्वरो आएका बिरामी आउँदा पनि म आफै झसङ्ग हुन्छ अनि किन जाँच्ने बिरामी । सेवा बन्द छ भनेर फिर्ता पठाउँदछ । सञ्चार माध्यामहरुले भंगेरे टाउके अक्षरमा विरोधमा समाचार छापेको देख्दा अमेरिकी राष्ट्रपतिलाई भेटेर एक अँगालो मार्न मन लागेर आउँछ ।

एकाध बिरामी थिए तै पनि हाम्रै चिकित्सक नर्सको रिपोर्ट पोजेटिभ आइदियो अनि सरकारले सिल गरिदिन्छ उसको वर्वराहट अव ल्याबको विश्वसनीयता तिर तेर्सिन्छ । के विश्वास सरकारी अस्पतालको ? आफ्नो ल्याबसँग तुलना गर्न थाल्छ । हैन भनौँ फेरि आफू नै अनुसन्धानमा परिन्छ कि भन्ने कुराले पिरोलेर आउँछ । पशुपतिमा लास आएनन् भनेको होइन यस्तै हो भने चितामा जाने पालो हाम्रै हो सरकार ? उसले सरकारसँग जवाफ मागिरहेको छ ।

……….थाहा छैन जवाफ पायो पाएन । तर बिचराको दैनिकी देखेर कोमल भएको नियमित बिरामी मेरो मन पग्लिएर आउँछ । आखिर नेपाली न हुँ, जति परे पनि चेत कहाँ खुल्छ र ?

 

Tags :
प्रतिक्रिया दिनुहोस