प्रकृति र हामी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रकृति र हामी


२४ जेष्ठ २०७७, शनिबार


यहाँ अनगिन्ती आविस्कारले
धर्तीको आविष्कारलाई
क्षत विक्षत बनाउनुपर्छ !!

यहाँ स्वर्गसरि पृथ्वी छाडेर
कुनै आधार नभएको ग्रहमा
बस्ती बसाल्नुपर्छ !!

यहाँ आफू बसेको ग्रहलाई
सुन्दर बनाउन नसक्नेले
अन्य ग्रहलाई दाउपेचमा राख्नुपर्छ !!

यहाँ हराभरा प्रकृतिलाई
छिया छिया वनाउन
धर्तीसँग पैँठेजोरी खेल्नुपर्छ !!

यहाँ प्राकृतिक छटालाई
प्रेम, करुणा गर्ने होइन,
ताण्डव नृत्य देखाउनुपर्छ !!

यहाँ प्रकृतिको अप्सरासँग
स्वर्गमा अंकमाल होइन,
दोहनमा होड अँगाल्नुपर्छ !!

यहाँ छहारीको आँचल अनि
टल्किने हिमाल किन राख्नु,
भूमिलाई खण्डहर वनाउनुपर्छ !!

यहाँ लाफाको रमाइलोमा
पटुकी बाँधेको स्वर्गलाई
क्षणभरमै नासिनुपर्छ !!

यहाँ मानवको लालचालाई
शिरमा राखेर सीमाविहिन
प्रकृतिले नियम बनाउनुपर्छ !!

यहाँ तीन सय चौसट्ठी दिन
धर्तिलाई मासेर एक दिनलाई
बिरुवा रोपेको नाटक मञ्चनुपर्छ !!
रचना: भुवन ज्ञवाली
(सन्दर्भ: विश्व बाताबरण दिवस, २०२० जुन ५ को अवसरमा रचिएको कविता)

Tags :
प्रतिक्रिया दिनुहोस