हामी प्रतिक्रियावादी नेपालीहरू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हामी प्रतिक्रियावादी नेपालीहरू


१७ जेष्ठ २०७७, शनिबार


शीर्षक सुन्दै वामपन्थी मक्ख नपर्नु होला । दक्षिणपन्थीले निधार नखुम्च्याउनु होला । यदि यस्तो गर्नु भयो भने तपाईँ सुरुमै प्रतिक्रियावादीमा पर्नु हुन्छ । यसमा सबैका कुरा छन् ।

भनिन्छ, मान्छेको जातै यस्तो हो । ‘जसले आफ्नो काम भन्दा अरूको काममा बढी चासो दिन्छ।’ मेरो क्षेत्र राजनीति हैन । तर चासो धेरै राजनीतिमा छ । राजनीतिको मतलब  पार्टीको कार्यकर्ताले तहको चासो जस्तो हैन । यही समाजमा हुर्केको हुनाले होला । राज्यको मूल नीति राजनीतिको प्रभावबाट अछुत रहन सक्ने भइएन । उसो त नेपालमा बिग्रेका कुरा सबै राजनीति भयो भन्ने चलन छ । गलत काम र राजनीति पर्यायवाची शब्द जस्तै भएका छन् । हाम्रो नेपालमा । गलत काम नै राजनीति हो भन्ने छाप कसरी बस्यो त नेपालीहरूमा ? राजनीतिबाट अछुतो छैन भन्दैमा बोल्नै पर्छ भन्ने त छैन । राजनीति गलत कुरासँग कसरी जोडियो त ? यहाँ आफूलाई लागेको कुरा बोल्नु पर्ने देखियो । केही बोलौँ जस्तो लाग्यो । केही लेखौँ जस्तो लाग्यो ।

कम्युनिस्टको भाषा अर्थात् वाम विचारमा आफू इतरकालाई प्रयोग गर्ने एउटा शब्द छ । `प्रतिक्रियावादी´ । कम्युनिस्टिय हिसाबले यसको अर्थ के हो त्यो मलाई थाह छैन । मैले आफैँ बनाएको यसको अर्थ हो `प्याच्च बोलिहाल्ने´ व्यक्ति। उसो त नेपालीमा उखान छ । ‘बोल्न पाए भन्दैमा प्याच्च नबोल्नु , बस्न पाए भन्दैमा थ्याच्च नबस्नु ´ । यो उखानको त्यति प्रयोग भए जस्तो लाग्दैन । यो उखान कतै दक्षिणीपन्थीले वामपन्थीलाई भनेका हुन् कि जस्तो पनि लाग्छ मलाई । खैर जे होस् । तर म आफूलाई त्यहीँ प्रतिक्रियावादी कोटिमा राख्न चाहन्छु । म मात्र हैन म जस्तै धेरै नेपाली युवाहरूलाई प्रतिक्रियावादी भन्न रुचाउँछु । चाहे ती बाले पार्टी चिनाएका स्वघोषित वामपन्थी हुन् या बाजेले पार्टी चिनाएका दक्षिणपन्थी हुन् । सबै नेपाली युवा प्रतिक्रियावादी हुन् । `सबै´ भन्ने शब्द देख्ने बित्तिकै तपाईँलाई पारो तातिएर आयो भने सोच्नुहोस् तपाईँ प्रतिक्रियावादी युवामा पर्नु भएन । त्यसकारण तपाईँ मसँग रिसाउनु पर्ने कारण छैन । यदि रिसाएर तपाईँले मलाई गाली नै गर्न थाल्नु भयो । तपाईँ पक्का प्रतिक्रियावादी हो । सतप्रतिशन ढुक्क हुनुहोस् । तपाईँसँग तर्क क्षमता कम छ । त्यसैले धैर्य गरेर यो पुरा पढ्नुहोस् । तपाईँ कहाँ पर्नु हुन्छ ? त्यसको मूल्याङ्कन आफैँ गर्नुहोस् ।

सुरुवात यहाँबाट गरौँ । पदको अगाडि खरिदार, नायव सुब्बा, शाखा अधिकृत, उपसचिव, शिक्षक, प्राध्यापक अझ डा . आदि इत्यादि । लेख्नेहरूले बोलेका शब्द सुन्नु भएको छ ? लेखेका लेखहरूले पढ्नु भएको छ ? कस्तो लाग्छ तपाईँहरूलाई ? भर्खर माध्यमिक शिक्षा सकेर सरकारी क्याम्पस पढ्न जाँदा बाले भनेको पाटीमा भोट हाल्ने विद्यार्थी सङ्गठनको अठार वर्षीय किशोरले आफ्नो सङ्गठनको बचाउ गर्न खर्चिएको शब्द जस्तै लाग्छ कि लाग्दैन ? राष्ट्रसेवक हुँ भन्नेहरूले अमुक पार्टीको बारेमा गाएको स्तुतिगान र ठमेलमा रातको बाह्रपछि देखिने चर्तिकला खासै फरक पाउनु हुन्छ ? कि उस्तै उस्तै लाग्छ । यो सबैलाई भन्न खोजिएको हैन है । कसैलाई रिस उठ्यो र मुर्मुराउदै भन्नू भयो `मैले त त्यस्तो गरेको छैन नि यार कस्तो पागल कुरा गरेको !´ यो वाक्य तपाईँको मनमा आयो भने सोच्नुहोस्। तपाईँ प्रतिक्रियावादी हैन । तर तपाई पनि लागेको हुनुपर्छ । यस्तै कतै भइरहेको छ तर तपाई बोलेर वा लेखेर प्रतिक्रियावादी हुन चाहनु भएन । यहाँ गलत छ तर तपाईँले प्रतिक्रिया जनाउनु भएको छैन । कुरा यति हो । कोही अगाडी राष्ट्रसेवक जोडिएको सर म्यामहरूलाई मनमनै लाग्दै छ होला । `पापीले कसरी थाहा पायो यार´ । यस्तो सोच मनमा आयो भने सोच्नुहोस् । तपाई कतिको राष्ट्रसेवक हो ? तपाईँहरूले गरेको कुकर्मबारेमा नबोल्नेहरू जानेर नबोलेका हैनन् । तपाईँहरू जस्ताको चर्तिकलाले गर्न नचाहेर नबोलेका हुन । कहिलेकाहीँ सरकारी नुनले स्वाद फेर्छ जस्तो लाग्छ मलाई। आफ्नो आस्थाको पार्टी सरकारमा भए नुन `अलि गुलियो´ हुन्छ । मज्जा मानेर खाना मिल्छ । उस्तै परे जुत्ताको तलुवा चाट्न मिल्छ । आफ्नो आस्थाको विपरीत पार्टीको सरकार भए नुन निम भन्दा तितो हुन्छ । त्यसैले थुकेको थुकेई गर्नु पर्छ। यो सब नुनकै स्वाद फेरिने हुनाले त होला? विद्यार्थी सङ्गठनको सुरुवाती कार्यकर्ता र राष्ट्रसेवक उस्तै उस्तै लाग्ने गर्छन् । नुनले गर्दा त होला ? राष्ट्रसेवकले यस्तो खुला नाँच नाच्ने देश विश्वमा कहीँ छ होला ? भए जानकारी गराउनु होला । यहाँ पनि सबैलाई भन्न खोजिएको हैन जो जो नाच्नु हुन्छ उहाँहरूले ममः भन्नुहोस् । किनकि त्यस्तो नाच प्रायः कालकोठरीमा नाचिने हुनले त्यो नाचको ठुलो दर्शक तपाई भन्दा अरू हुन सक्दैन । नगरेकाहरू रिसाउनु पर्ने कारण छैन ।

अर्का छौँ हामी अगाडी ‘स्वतन्त्र’ भन्ने शब्द जोडिएका । पहिले देखि भएका कलाकार, पत्रकार, वकिल, विद्यार्थी आदि। अहिले नयाँ थपिएका छौ ‘अभियन्ता’ । जो आफ्नो तर्क बोल्दैनौँ । आफ्नो पाटीको नेता के बोल्छ । त्यो नै सही हो ! सही हो ! भन्दै उफ्रिन्छौँ । समाचार बनाउँछौँ । त्यसकै वकालत गर्छौ । तर स्वतन्त्र भन्ने शब्द अगाडि लेख्न कहिल्यै छोड्दैनौँ । स्वतन्त्रताको प्रयोग हामी खुब मज्जाले गर्छौ । फरक आस्था भएकोले राम्रै गरे पनि गाली गर्न । आफ्नोले गलत गरे पनि गज्जब राम्रो भयो भन्न स्वतन्त्र छौँ । कहिले आफ्नै कुरा पनि भित्र भित्रै गलत हो भन्ने लागेको भएपनी सही हो भन्न बाध्य छौँ । आफ्नो गुट, खेमा, पाटी, धर्म र विचारको अगुवालाई देवत्वकरण र विपक्षलाई दानविकरण गर्न हामी स्वतन्त्र छौँ ।स्वतन्त्रहरू बेढङ्गको तर्क देखेर नर्कमा यमराजले खाता थप गर्दै यस्तो भन्छन् होला । “पख तिमीलाई यहाँ आए मैले जानेको छु” भन्दै मुसुमुसु हाँस्छन् होला ।

अर्को थरी छौँ ‘पिछलग्गु’ । यस्ताको कुनै तर्क हुँदैन । बाले तिम्रो पाटी यही हो भनेर पाटीमा लागेका पनि हुन्छन् । उनीहरूलाई चिन्न सजिलो छ । आफ्नो पाटीको विचार, लेख वा अन्तरवार्ता यस्तै केही सामाजिक सञ्जालमा आएको तिस सेकेन्डमा वा वा भन्दै शेयर गर्छन् । जबकि त्यो सुन्न वा पढ्न कम्तीमा तिस मिनेट लाग्छ । उसले के बोल्छ ? के लेखेको छ ? उसलाई त्यो सरोकार हुँदैन । विपक्षको भए हा हा लेख्छ । आफ्नोको भए चिःचि (केटाकेटीलाई तितो औषधी खुआउदा मासु जस्तै मीठो भन्ने देखाउन चिःचि भन्ने चलन छ ) । विपक्षी समूहको बोले ‘छिःछि लाज नभएको’ लेख्छ । लेख, बिचार पढ्दै नपढी सुन्दै नसुनी ‘क्या दामी लेख्नु भयो कमरेड’ ! ‘क्या दामी दिनु भयो दाइ’ ! शेयरको क्याप्सन नै यस्तो हुन्छ । विपक्षको भए ‘पाटनतिर लिनु पर्ने भयो यसलाई’ ! यो सबै हेर्दा लाग्छ । राजनीतिले तथ्यपरक तर्क दिने युवा गुमायो । मात्र प्रतिक्रियावादी बनायो । यो नेपालमा पारिवारिक पार्टी हुने चलनले गर्दा हो । बाको पाटी छोराले छाड्यो भने त्यो कुपुत्र भए जस्तो गर्छन् । नेपाली बाहरु । तपाई हामी पनि भन्न थाल्छौँ । ‘त्यो घरमा त व्यक्ति व्यक्तिका पाटी छन्’ । छोराहरूलाई ठुलो डर छ । बाको भन्दा फरक पाटी भए दाना पानी बन्द हुन्छ । त्यो भन्दा बाकै पाटी जिन्दाबाद। सिद्धान्त भन्ने भाडमा जाओस् । यो लेख पढ्दै गरेको कोही बा र दाइको भन्दा फरक पाटीको हुनुहुन्छ भने तपाईँलाई आँटिलो सम्म भन्न सकिन्छ । बाको पाटी मान्नै पर्ने बाध्यता हुँदा सम्म पिछलग्गु प्रतिक्रियावादिहरु भई रहन्छन् । सानैमा सुनेको एउटा कथा थियो ! एकादेशका राजा नाङ्गै हिँडेका थिए । राजाका चाकडी गर्नेहरू राजाको लगाएको पोसाक कति राम्रो भन्दै गुणगान गाउँथे रे । यो कथा अरू कुनै देशको नभई नेपाल देशको हो कि जस्तो लाग्छ । यहाँ झन् राजाहरू सत्तामा मात्रै हुँदैनन् ! पार्टीमा हुन्छन् । धर्ममा हुन्छन् । गुट उपगुटमा हुन्छन् ! गाउँमा हुन्छन् । टोलमा हुन्छन् । जनताका आँखा र एकादेशका राजाका कपडा उस्तै ! जयजयकार चलेकै छ ! राजाहरू नागैं हिँडेकै छन् । यहाँ पनि माफ गर्नु होला राम्रो गर्नेलाई गलत भन्न खोजिएको हैन । तर गलतलाई गलत भन्न नसक्नेहरू जो आफ्नोले जे गर्दा पनि ठिक भन्दै हिँड्नेलाई अवश्य हो । कुन दिन हाम्रो अगुवाले हगेको बास्न आउँछ भन्ने कुरामा झडप भयो भन्ने समाचार आए अचम्म मान्नु पर्दैन हाम्रो नेपालमा । आदि इत्यादि !

यस्तै यस्तै गतिविधिले नेपालमा राजनीति र गलत काम सँगसँगै आइरहन्छन् । अहिलेको सबै परिस्थिति हेर्दा औषत नेपालीसँग तथ्यमा आधारित भएर तर्क गर्ने क्षमता कमजोर छ । गलत कुरा भाइरल हुन्छन् । सामाजिक सञ्चालनमा आएकै आधारमा मान्छेहरू विचार व्यक्त गर्छन् । निहित व्यक्तिगत स्वार्थको आधारमा गुट उपगुट बन्छन् । एक्कैदिनमा मान्छेहरू चर्चित हुन्छन् । क्षमतावान् छाँयामा पर्छन् । न्याय मर्छ । अन्याय पोषित हुन्छ । मान्छेहरू पशुसरह बिक्री हुन्छन् । परापुर्वकालमा मान्छेहरू भौतिक रूपमा दासी हुन्थ्यो । अहिले मानसिक दासी हुनुपरेको छ । आफू तर्क गर्न नसक्ने तर मालिकको चाकडी गरेर फल प्राप्त गरिरहने । यो सबैको एउटै कारण हो । तर्कहीन प्रतिक्रियावादी सङ्ख्याको बढोत्तरी हुनु । त्यसैले हामी सबै प्रतिक्रियावादी नेपाली ।

Tags :
प्रतिक्रिया दिनुहोस