डोटीमा किट अभाव हुँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोटीमा किट अभाव हुँदा कोरोना सङ्क्रमणको जोखिम बढ्दो


१६ जेष्ठ २०७७, शुक्रबार


डोटी । डोटीमा कोरोना भाइरस सङ्क्रमण परीक्षणको लागि आवश्यक पर्ने पीसिआर भिटीएम र आरडीटी कीट अभावका कारण सङ्क्रमणको जोखिम बढेको छ ।

कामको सिलसिलामा भारत गएका नेपाली नागरिकहरू नेपाल फर्किने क्रम जारी रहेको छ । सोही अनुरूप डोटी जिल्लामा पनि जेठ ६ गते देखी डोटी भित्रिनेको सङ्ख्या दिनानु दिन बढिरहेको छ । शुक्रवार सम्म डोटी जिल्लामा ५ हजार सात सय २ जना जिल्ला प्रवेश गरी जिल्लाका विभिन्न स्थानीय तहले तयार गरेका क्वारेन्टाईनमा राखिएका छन् ।

सीमा नाकाबाट बिना परीक्षण जिल्ला प्रवेश गरी क्वारेन्टाईनमा राखिएको र हाल सम्म कुनै पनि व्यक्तिहरूको परीक्षण हुन नसक्दा कोरोना सङ्क्रमणको जोखिम बढ्दो अवस्थामा रहेको डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने डोटी जिल्लामा भारत बाट आउनेको सङ्ख्या दिनानु दिन बढिरहेको छ जिल्लामा कोरोना सङ्क्रमणको परीक्षण गर्ने आवश्यक किट अभाव छ अहिले सम्म जसो, त्यसो गरेर स्थानीय तहले तयार गरेका कोेरान्टाईनमा व्यवस्थापन गरेर राखिरहेका छन् यदि कोरान्टाईनमा बसेकाहरूलाई तत्काल परीक्षण गर्न नसके लामो समयसम्म राख्न नसकिने र बिना परीक्षण घर पठाउनु पर्ने बाध्यता सृजना भएको बताए ।

बिना परीक्षण क्वारेनटाइनमा बसेकाहरूलाई घरमा पठाउँदा सङ्क्रमण समुदाय स्तरसम्म फैलिन सक्ने यसबाट सृजित परिस्थिति भयावह हुन गई नियन्त्रण भन्दा बाहिर जान सक्ने समस्या आउने समेत प्रजिअ पौडेलले बताए । सोही समस्यालाई मध्यनजर गर्दै शुक्रवार मात्र जिल्ला प्रशासन कार्यालय डोटीले गृह मन्त्रालयलाई आर टी पीसिआर भिटीएम दश हजार थान, आरडीटी कीट दश हजार थान अत्यावश्यक भन्दै माग गरी सकेको समेत प्रजिअ पौडेलले बताए ।

केही व्यक्तिहरू क्वारेन्टाईनमा बसेको समयावधि पुग्न लागे पनि कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि आवश्यक कीट अभावका कारण समयमै चेक गर्न नसकिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने भारत बाट डोटी जिल्लामा शुक्रवार सम्म करिब ६ हजार जना भित्रिएका छन् आउने क्रम दिनानु दिन बढी रहेको छ हामी सँग जम्मा आर टी पीसिआर भिटीएम २ सय ९७ थान, आरडीटी कीट २ सय छयालिस थान मात्र मौज्दात रहेको छ त्यसैले हामी सँग भएको स्रोत साधनले सबैको परीक्षण गर्न नसकिने बताए । डोटी जिल्लाको लागि आवश्यक कीटका लागि प्रदेश सरकार सँग माग गरिसकेको तर हाल सम्म उपलब्ध हुन नसकेको समेत प्रमुख मलासीले बताए ।

डोटी जिल्लामा स्थानीय तहले तयार गरेको कोराइन्टानको क्षमता भन्दा बढी मानिसहरू जिल्ला भित्र प्रवेश गर्दा सुरक्षा व्यवस्थापन समेत चुनौती देखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दिलीप सिंह देउवाले बताए । उनले भने हामी सँग जनशक्ति त्यसै पनि अभाव छ पूर्ण अवस्थामा छैन त्यसमा भारतबाट आउनेको सङ्ख्यामा दिनानु दिन बृद्धी भइरहेको छ क्वारेन्टाईनको सङ्ख्या बढी रहेको छ सुरक्षा व्यवस्थामा पनि चुनौती थपियो । जिल्लाका सबै स्थानमा तयार गरेका सबै क्वारेनटाइन सुरक्षा व्यवस्था पुर्‍याउन जनशक्ति पुग्दैन भएको जनशक्तिलाई जे जति हुन्छ व्यवस्थापन गर्ने बताए ।

डोटी जिल्लामा हाल भारतबाट दिपायल सिलगढी नगरपालिकामा १ हजार २ सय एक जना, शिखर नगरपालिकामा १ हजार २ सय पचास जना, बोगटान फुड्सिल गाउँपालिकामा ४ सय तिरासी जना पुर्विचौकी गाउँपालिकामा ३ सय अठार जना, आदर्श गाउँपालिकामा ५सय चौध जना, के आई सिंह गाउँपालिकामा ९ सय उना सत्तरी जना जोरायल गाउँपालिकामा २ सय १० जना सायल गाउँपालिकामा ४ सय आठ जना र बडी केदार गाउँपालिकामा ३ सय उनपचास जना गरी ५ हजार ७ सय दुई जना डोटीमा प्रवेश गरिसकेका छन् भने आउने क्रम बढी रहेको छ ।

डोटी जिल्लामा हाल सम्म ३ सय ९१ जनाको पीसिआर भिटीएम परीक्षण गरिएको छ जसमा ३ सय ६७ जनाको रिपोट नेगेटिभ आएको २४ जनाको रिपोट आउन बाकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल सम्म २ हजार ८८ जनाको आरडीटी परीक्षण गरिएकोमा २ हजार ८४ जनाको रिपोट नेगेटिभ आएको छ भने ४ जनाको रिपोट पोजेटिभ आएको छ । हाल सम्म डोटी जिल्लामा ४ सय ६० जनालाई जिल्लाका विभिन्न क्वारेन्टाईनबाट कोरोना भाइरस परीक्षण पश्चात् घर फिर्ता गरिएको छ ।

हाल सम्म जिल्लामा प्रवेश गरेको सङ्ख्या र आउने क्रमलाई पूर्वानुमान गर्दा भारत लगायत तेस्रो मुलुकबाट डोटी जिल्लामा प्रवेश गर्नेको सङ्ख्यालाई स्थानीय तहले तयार गरेका क्वारेन्टाईनमा ब्यस्थापन गर्न नसकिने सबै स्थानीय तहका जनप्रतिनिधि बताउँदै आई रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस