जनशक्ति व्यवस्थापनको शृङ्खलाबद्ध प्राथमिकताहरू « प्रशासन
prasaLogo
१४ जेष्ठ २०७७, बुधबार

जनशक्ति व्यवस्थापनको शृङ्खलाबद्ध प्राथमिकताहरू


प्रकाशित मिति : 27 May, 2020 7:29 am

सङ्गठनको सफलताको लागि मानव संसाधन वा जनशक्ति व्यवस्थापन सार्वजनिक प्रशासनको महत्त्वपूर्ण व्यवस्थापकीय आयाम हो । जनशक्ति व्यवस्थापनले मानवीय साधनहरूको अद्यावधिक स्थिति र आवश्यकताको योजना, प्राप्ति, उपयोग, विकास, सामयिक सम्भार, एकाकार, अवकाश, अवकाश पश्चातको योजना र अवकाश व्यवस्थापन जस्ता समग्र पक्षलाई समेट्दछ । जनशक्ति व्यवस्थापन यी सबै कार्यहरूको शृङ्खलाबद्ध प्राथमिकतामा आधारित विभिन्न क्रियाकलापको संयुक्त स्वरूप हो । मानव श्रोतको प्रभावकारिता वाट अन्य अन्य साधनश्रोतहरु पूजी, औजार, वस्तु, सूचना को परिचालनमा प्रभावकारिता ल्याउन सकिन्छ । यसैले मानव श्रोत स्वतन्त्र चर हो भने अन्य साधन श्रोतहरू मानव श्रोतको प्रभावकारितामा निर्भर रहने आश्रित चर हुन् ।

साङ्गठनिक उद्देश्य प्राप्तिद्वारा राष्ट्रिय उद्देश्य प्राप्तिका लागि मानव श्रोत सबभन्दा महत्त्वपूर्ण पक्ष हो । मानव श्रोत व्यवस्थापन अन्तरगत विद्यमान जनसङ्ख्यामा उमेर समूह, योग्यता र सीपको क्षेत्र, श्रम सीपको क्षेत्र आदिको विश्लेषण वाट श्रम बजारमा उपयोग गर्न सकिने जनशक्तिको प्रयोग गर्न सकिने पूर्वानुमान सहितको योजना मानव श्रोत व्यवस्थापनको पहिलो चरण हो । जनशक्ति योजनाले सङ्गठनको अल्पकालीन एवं दीर्घकालीन उद्देश्यलाई दृष्टिगत वर्तमान तथा भविष्यको आवश्यकता विश्लेषण गर्ने प्रक्रिया सङ्गठनको लक्ष्य प्राप्तिको सन्दर्भमा जनशक्ति आवश्यकताको विश्लेषण गर्ने कार्य गर्दछ । यसमा विद्यमान जनशक्तिको मौज्दात विवरण तयार गर्ने, काम छोड्ने प्रवृत्तिको गणना र अनुमान गर्ने, थप कार्यक्षेत्रको लागि थप जनशक्ति प्रक्षेपण गर्ने विषयहरू पर्दछन् । समग्रमा सङ्गठनको लागि आवश्यक पर्ने जनशक्तिको पूर्वानुमान र माग अनुरूपको जनशक्ति पूर्ति गर्न अपनाइने रणनीति निर्माण जनशक्ति योजना अन्तरगत पर्दछ ।मानव श्रोत गतिशील, सृजनशील, उत्पादनशील, उद्यमशील भएकाले यसको प्राप्ति र उपयोगलाई प्रभावकारी बनाउनको लागि जनशक्ति योजनाको महत्त्व रहने गर्दछ ।

मानव श्रोत संवेदनशील जटिल र महँगो श्रोत हो तर यसको उचित परिचालन सम्भव भएकाले मानव श्रोतको क्षमताको अत्यधिक उपयोग गर्ने रणनीति तयार गर्न, सङ्गठनको कार्यदक्षता र प्रभावकारितामा वृद्धि गर्न तथा समान पहुँच र अवसर को माध्यम र निष्पक्ष तरिकाबाट योग्य व्यक्तिलाई सङ्गठनमा आकर्षित गर्न जनशक्ति योजनाको महत्त्वपूर्ण भूमिका रहने गर्दछ ।

क्षमतावान् जनशक्तिको प्राप्ति र प्रयोग जनशक्ति व्यवस्थापनको अर्को महत्त्वपूर्ण चरण हो । श्रम बजारमा उपलब्ध जनशक्ति मध्ये सङ्गठनलाई आवश्यक पर्ने क्षमतावान् जनशक्तिको प्राप्ति गर्ने प्रक्रिया यस अन्तरगत पर्दछ । यसमा कुनै निश्चित सङ्गठनका लागि आवश्यक जनशक्ति लाई छनौटको विशिष्ट मापदण्ड तयार गरी विभिन्न प्रतिस्पर्धाको माध्यमद्वारा क्षमतावान् जनशक्तिलाई सङ्गठनमा प्राप्त गर्ने गरिन्छ । सङ्गठनको लागि आवश्यक जनशक्ति प्राप्तको लागि अपनाइने छनौट प्रक्रिया प्रतिस्पर्धाको आधार, निष्पक्षताको आधार, प्रतिस्पर्धामा समान रूपमा सहभागिता जनाउन पाउने अवसरको आधार, सहभागीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई तटस्थ र निष्पक्ष रूपमा परीक्षण गर्ने आधार ,जनशक्तिको सेवा अवधिको आधारमा आधारित हुनु पर्दछ ।

क्षमतावान् जनशक्तिको प्राप्तिले मात्र सङ्गठनको आवश्यकता पूर्ति हुँदैन यस्तो क्षमतावान् जनशक्तिलाई क्षेत्रगत विज्ञताको आधारमा काममा उपयोग गर्ने प्रक्रिया मानव श्रोत व्यवस्थापनको अर्को महत्त्वपूर्ण चरण हो । विभिन्न चरणको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया पार गरेर आएको जनशक्तिलाई प्रयोगका लागि विज्ञता, परिणाम र उत्तरदायित्व, सक्षमता, उपयुक्तता, उत्प्रेरणा, वृत्ति मार्ग जस्ता आधारहरू लिने गरिन्छ ।

विज्ञताको आधारमा जुन कामको लागि लिइएको हो सो काममा लगाउने र योग्यता, सीप, दक्षता, अनुभव आदिको आधारमा कार्य विनियोजन गर्ने कार्य पर्दछ । परिणाम र उत्तरदायित्वको आधारमा कार्य विवरणको आधारमा काममा लगाउने,कुन काम के कसरी कुन प्रक्रियाद्वारा सम्पादन गरिने हो सो को स्पष्ट आधार तोक्ने र कार्य सम्पादन मूल्याङ्कन प्रणाली जस्ता विषयहरू पर्दछन् भने सक्षमताको आधारमा योग्यता, अनुभव र दक्षताको आधारमा काममा लगाउने भएता पनि व्यक्तिको क्षमता, दक्षता र रुचिको आधारमा काममा लगाउने विषय पर्दछ ।

स्थान अनुरूप व्यक्तिको उपयुक्तताको आधारमा सही व्यक्तिलाई सही ठाउँमा पदस्थापन गर्ने,उत्प्रेरणाको आधारमा आकर्षक वृत्ति मार्ग, कार्य परिवर्तन, कार्य विस्तृतीकरण, कार्य पुष्टीकरण आकर्षक तलबमान र उत्प्रेरणा (मौद्रिक तथा गैर मौद्रिक)का माध्यम द्वारा क्षमतावान् जनशक्तिलाई सङ्गठनको लक्ष्य प्राप्तिका उपयोग गर्ने, क्षमतावान् जनशक्तिलाई आकर्षक वृत्ति मार्ग, विशेष सुविधाद्वारा सङ्गठनमा टिकाइराख्ने आधारहरू प्रयोगमा आउन सक्दछन् ।

सङ्गठनमा उपलब्ध जनशक्तिलाई कार्यशैली, प्रविधि, विकसित नवीनतम प्रवृत्ति सँग परिचित गराई कार्य सहजताका साथ सम्पादन गर्न सक्ने कौशलमा वृद्धि ल्याउनमा विकास (तालिम ) को अहम् भूमिका रहेको हुन्छ । जनशक्ति विकास मानव श्रोत व्यवस्थापनका अवयवहरू मध्ये महत्त्वपूर्ण र प्रभावकारी अवयवको रूपमा चिनिने गर्दछ । सङ्गठनमा एक पटक लिइएको जनशक्ति लाई समय, प्रविधि, अवधारणा, कार्यक्षेत्रमा आएको परिवर्तन को परिवेशमा सामयिक रूपमा परिमार्जित र विकास गरिनु पर्ने मान्यता नीति जनशक्ति व्यवस्थापनको सन्दर्भमा महत्त्वपूर्ण विषय हो ।

मानव श्रोत व्यवस्थापनमा विकास को महत्त्वपूर्ण स्थान रहेको छ । जनशक्ति विकासलाई तालिम भनेर पनि चिन्ने गरिन्छ । जनशक्ति विकास वा तालिम एउटा निरन्तर चलिरहने प्रक्रिया हो । यसले समय र प्रविधिमा आएको परिवर्तन सँगै ज्ञान, सीप, र मनोवृत्ति मा सकारात्मक परिवर्तन ल्याई जनशक्ति लाई सङ्गठनको कार्य सम्पादनमा सदा चुस्त दुरुस्त रहन सहयोग पुर्‍याउँछ ।

जनशक्ति व्यवस्थापन अन्तरगतको सम्भार पक्ष सङ्गठनमा उपलब्ध जनशक्तिलाई सङ्गठनमा टिकाई राख्न गरिने परिपूरक उपायहरू सम्भार अन्तरगत पर्ने गर्दछन् जसमा कामदार कर्मचारीलाई संस्थाको कार्य प्रकृति बारे जानकारी दिई कार्य वातावरण सँग परिचित र घुलमिल गराउने ,कामदार कर्मचारीले सम्पादन गर्नु पर्ने काममा सहजता ल्याउन र मानसिक र शारीरिक सुरक्षा हुने किसिमको कार्यालयको भौतिक अवस्थाको प्रत्याभूति गर्नु पर्ने विषयहरू पर्दछन्। विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय श्रम सङ्गठन को संयुक्त समितिले सङ्गठनात्मक स्वास्थ्य र औद्योगिक स्वास्थ्यका दृष्टिले सम्भार पक्ष अन्तरगत सबै पेसाका कामदारहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपले संरक्षण र सम्भार गर्नु, कार्य क्षेत्रको अवस्थाको कारणले उनीहरूको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरबाट संरक्षण गर्नु, स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर र जोखिमबाट कामदारहरूलाई संरक्षण गर्नु,कार्य क्षेत्रको वातावरणलाई शारीरिक र मानसिक पक्षमैत्रीय बनाउनु पर्ने कुरामा जोड दिएको छ ।

सङ्गठन समग्रमा एउटा परिवार हो । परिवारका यी सदस्यहरू बिच बिच भावनात्मक एकता अभिवृद्धि गर्ने अन्तर वैयक्तिक सम्बन्धको विकास द्वारा सङ्गठनको कार्यगत दक्षता र प्रभावकारिता अभिवृद्धि गरिनु आवश्यक हुन्छ । यसमा पेसागत व्यावसायिकताको प्रबध्र्दन (सेवा समूहको व्यवस्थाले पेसागत विज्ञता र व्यावसायिकता), समूहगत आबद्धता, ट्रेड युनियन(पेसागत सङ्घ संस्थाहरू, हित संरक्षण समूह), असल सामाजिक सम्बन्ध निर्माण (कर्मचारी सम्बन्ध समिति, अन्तर वैयक्तिक सम्बन्धको विकास, मानव सम्बन्ध उपागमको अवलम्बन, समूह गतिशीलताको सिध्दान्तको प्रयोग,असल सङ्गठनात्मक संस्कृतिको विकास) , सुरक्षाको प्रत्याभूति (सेवाको सुरक्षा, कानुनी सुरक्षा, सफाइको मौका, प्रतिरक्षा गर्ने मौका दिने), सामाजिक सुरक्षणका उपायहरूको अवलम्बन गर्नु पर्ने विषय समेटिएको हुन्छ ।

सङ्गठनमा उपलब्ध जनशक्ति लाई उसले पुर्‍याएको योगदानको कदर गर्दे निश्चित अवधि पछि गठनको नियमित कार्यबाट अलग गराउने प्रक्रिया नै अवकाश हो । यस प्रक्रियाले नयाँ ऊर्जाशील जनशक्तिलाई सङ्गठनमा प्रवेशको अवसर दिन्छ ।अवकाशको सम्बन्धमा उमेरको हदको आधारमा अनिवार्य अवकाश ,निश्चित पदावधिको आधारमा अवकाश ,सम्झौताको आधारमा अवकाश , असामयिक अवकाश जस्ता प्रारूपहरू प्रयोगमा आउने गर्दछन् ।

व्यवस्थापनको आधुनिक अवधारणले लामो समय को त्याग र समर्पण पछि अवकाश पाएको व्यक्तिको त्यस सङ्गठन सँगको सम्पर्क अवकाश पछि पनि कायम रहनु पर्दछ र यस सम्बन्धले उक्त व्यक्तिको अवकाशको जीवन सरल र सहज बनाउनमा सहयोग गरेको हुन्छ भन्ने मान्यता राखेको छ । अवकाश व्यवस्थापनले निवृत्तिभरण, उपदान, पारिवारिक निवृत्तिभरण, तलब वृद्धिको आधारमा निवृत्तिभरणमा थप, अवकाश पश्चात् विज्ञताको अनुभव लिन सकिने, अवकाश जीवन सार्थक बनाउन विभिन्न कार्यक्रमहरूको सञ्चालन, उत्तराधिकारी योजनालाई समेटेको हुन्छ ।

जनशक्ति व्यवस्थापनको अवधारणाले मानव शक्तिलाई दायित्व भन्दा पनि पूजीको रूपमा लिने गर्दछ र कसरी कर्मचारी विशेषको दक्षतालाई साङ्गठनिक लक्ष्य प्राप्तिमा उपयोग गर्न सकिन्छ भन्ने उद्देश्य वाट अभिप्रेरित गर्ने गर्दछ । जनशक्ति व्यवस्थापन सङ्गठनमा उपलब्ध जनशक्तिको विवेकपूर्ण उपयोग मात्र होइन यो मानव श्रोत व्यवस्थापनको समग्र पक्ष र चक्र सँग सम्बन्ध राख्ने विषय हो । यी सबै चरण र चक्रहरूको शृङ्खलाबद्ध व्यवस्थापन नै असल जनशक्ति व्यवस्थापन हो ।

Tags :
प्रतिक्रिया दिनुहोस