एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज


१२ जेष्ठ २०७७, सोमबार


वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालबाट आइतबार राति एकै परिवारका १८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् ।

उनीहरु सबै जनाको पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका डा. उदयनारायण सिंहले बताए । उनले वीरगञ्ज महानगरपालिका–३ छपकैयाका एकै परिवारका ४ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध डिस्चार्ज भएको जानकारी दिए ।

गत वैशाख २१ गते एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनका परिवारका सदस्यहरुको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनको परिवारका १७ जना सदस्यमा वैशाख २४ गते संक्रमण पुष्टि भएको थियो ।

आइतबार राति १८ जना निको भएर घर फर्किएसँगै नारायणी अस्पतालमा ४४ जना र गण्डक कोभिड अस्पतालमा २७ गरी ७१ जना संक्रमित उपचाररत छन् । पर्साका एक जना संक्रमित भने बाराको कलैया अस्पतालमा उपचाररत छन् ।

आइतबार तीन जना संक्रमित थपिएसँगै पर्सामा कोरोना संक्रमितको संख्या ९४ पुगेको छ ।

यसअघि शनिबार पनि नाराणी अस्पतालबाट ९ जना डिस्चार्ज भएका थिए । जसमध्ये तीन जना पर्साका, तीन जना रौतहटका, २ जना बाराका र एक जना भारतीय नागरिक थिए ।

वीरगञ्जमा आइतबार रातिसम्म कोरोना निको भएर फर्कने कुल २९ जना रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस